Friday 31st of July | २०८३ श्रावण १५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘राष्ट्रिय गौरवका आयोजना सन्तोषजनक गतिमा’ : प्रधानसेनापति सिग्देलको जोड– रणनीतिक सडकमा बजेट बढाएर सेनाको क्षमता पूर्ण उपयोग गरौँ (रक्षा मन्त्रालयको विज्ञप्ति सहित )

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौं । गत आर्थिक वर्षमा नेपाली सेनामार्फत सञ्चालित अधिकांश विकास आयोजना तथा कार्यक्रमले सन्तोषजनक प्रगति हासिल गरेको निष्कर्ष निकाल्दै प्रधानसेनापति अशोकराज सिग्देलले रणनीतिक महत्वका सडक तथा राष्ट्रिय पूर्वाधार आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। 

उहाँले नेपाली सेनासँग रहेको जनशक्ति, प्राविधिक दक्षता र उपकरणको पूर्ण उपयोग गर्न सके राष्ट्रिय महत्वका आयोजना अझ प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने धारणा राख्नुभयो।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार आयोजित चौथो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानसेनापति सिग्देलले नेपाली सेनाले हाल चार वटा राष्ट्रिय गौरवका आयोजना, दुई वटा प्राथमिकता प्राप्त आयोजना तथा अन्य विभिन्न विकास आयोजना र कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। ती आयोजनाहरूको प्रगति समग्रमा सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा आवश्यक स्रोत–साधन र बजेट सुनिश्चित गरिए अझ प्रभावकारी परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले गत आर्थिक वर्षमा मन्त्रालय तथा नेपाली सेना अन्तर्गत सञ्चालन भएका अधिकांश आयोजना र कार्यक्रमको प्रगति उल्लेखनीय रहेको बताउनुभयो। उहाँले विकास आयोजनाको कार्यान्वयनलाई अझ नतिजामुखी बनाउन सबै निकायबीच समन्वय र उत्तरदायित्व आवश्यक रहेकोमा जोड दिनुभयो।

सचिव शर्माले विशेषगरी राष्ट्रिय प्राथमिकतामा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण आयोजनाको प्रगति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै लक्ष्यअनुसार उपलब्धि हासिल हुने गरी निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिनुभयो। उहाँले आयोजना व्यवस्थापन, स्रोत परिचालन र कार्यसम्पादनमा देखिएका चुनौतीलाई समयमै समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार गत आर्थिक वर्षमा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनामध्ये सात वटा आयोजनाले शतप्रतिशत प्रगति हासिल गरेका छन्। यसलाई मन्त्रालयले विकास व्यवस्थापनको सकारात्मक उपलब्धिका रूपमा लिएको जनाएको छ।

बैठकमा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलले विस्तृत प्रस्तुतीकरणमार्फत रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय तथा नेपाली सेना अन्तर्गत सञ्चालित विकास आयोजना र कार्यक्रमहरूको चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्या, बजेट व्यवस्थापन, कार्यसम्पादनका चुनौती तथा ती समस्या समाधानका लागि अपनाउनुपर्ने रणनीतिबारे पनि जानकारी गराउनुभयो।

बैठकमा विकास आयोजनाको प्रभावकारिता, समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता, राष्ट्रिय सुरक्षा र पूर्वाधार विकासबीचको सम्बन्ध तथा आगामी आर्थिक वर्षका प्राथमिकताबारे समेत विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। सहभागीहरूले राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न अन्तरनिकाय समन्वय, पर्याप्त बजेट, आधुनिक उपकरण र प्रभावकारी अनुगमन अपरिहार्य रहेको निष्कर्ष निकाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan