‘हिंसा होइन, विकास रोजौं’ : सांसद डा. अमरेश सिंहको मधेशवासीलाई शान्ति, सद्भाव र समुन्नतिको आह्वान
काठमाडौं। प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले समग्र मधेशलाई पछाडि धकेलेको भन्दै अब हिंसा त्यागेर विकासको साझा एजेन्डामा एकजुट हुन मधेशवासीलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै सांसद सिंहले आन्दोलन र हिंसात्मक घटनाले मधेशलाई अशान्त बनाउनुका साथै कम्तीमा एक दशक पछाडि धकेलेको टिप्पणी गरेका छन्।
उनले यस्ता गतिविधिबाट भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक सत्र अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुने र समग्र आर्थिक तथा सामाजिक गतिविधिमा गम्भीर असर पर्ने बताएका छन्।
उनले अब सम्पूर्ण वर्ग, समुदाय र नागरिक एकताबद्ध भएर मधेशको समुन्नत विकासलाई केन्द्रमा राख्नुपर्ने समय आएको उल्लेख गरेका छन्। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीजस्ता दीर्घकालीन विकासका क्षेत्रमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्।
डा. सिंहले मधेशले अब कुनै पनि प्रकारको हिंसात्मक गतिविधिलाई अस्वीकार गर्दै शान्ति, सद्भाव र सहअस्तित्वको बाटो रोज्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सबै समुदायबीचको एकता नै समृद्ध मधेश निर्माणको आधार हुने बताएका छन्।
साथै उनले मधेशवासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई कुनै पनि असामाजिक तत्व वा समाजमा विभाजन, द्वेष र अशान्ति फैलाउने व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेका छन्। समाजको शान्ति र सद्भाव भंग गर्ने गतिविधिमा संलग्न व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेशको विकासका विरोधी भएको बुझ्नुपर्ने उनको भनाइ छ।
सांसद सिंहले समाजमा सद्भाव विथोल्ने र हिंसा भड्काउने प्रवृत्तिलाई सामूहिक रूपमा अस्वीकार गर्न तथा सामाजिक रूपमा बहिष्कार गर्नसमेत अपिल गरेका छन्। उनका अनुसार विकास, शिक्षा, रोजगारी र सामाजिक एकताको मार्गबाट मात्र मधेशको स्थायी समृद्धि सम्भव हुने भएकाले सबै नागरिक त्यसतर्फ अग्रसर हुन आवश्यक छ।
