कांग्रेस विभाजनको सम्भावना र वर्तमान यथार्थ
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन यो लोकतन्त्र, संविधानवाद र जनअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको एक ऐतिहासिक संस्था पनि हो ।
सात दशकभन्दा लामो राजनीतिक यात्रामा कांग्रेसले अनेकौँ उतारचढाव, मतभेद, नेतृत्व प्रतिस्पर्धा र आन्तरिक विवादहरूको सामना गरेको छ । हरेक कठिन मोडमा अन्ततः पार्टी एकताकै पक्षमा उभिएको इतिहास छ ।
त्यसैले बेला–बेलामा कांग्रेस विभाजनको चर्चा हुने गरे पनि वर्तमान संवैधानिक व्यवस्था, संसदीय अंकगणित, विगतका अनुभव र कार्यकर्ताको मनोविज्ञानलाई हेर्दा नेपाली कांग्रेस विधिवत् रूपमा विभाजन हुने सम्भावना अत्यन्त न्यून देखिन्छ ।
आज कांग्रेसभित्र फरक–फरक धार र विचार अवश्य छन् । नेतृत्वलाई लिएर असन्तुष्टि पनि छ तर लोकतान्त्रिक दलभित्र मतभेद हुनु स्वाभाविक विषय हो । विचार फरक हुनु र पार्टी नै विभाजन हुनु भने दुई फरक कुरा हुन् ।
अहिलेको अवस्थामा कांग्रेसभित्र देखिने असन्तुष्टिले दल विभाजनको रूप लिन सक्ने आधार भने कमजोर देखिन्छ । यसको पहिलो कारण नेपालको वर्तमान संवैधानिक व्यवस्था हो । संविधान तथा राजनीतिक दलसम्बन्धी कानूनले अहिले दल विभाजनलाई निकै कठिन बनाएको छ ।
कुनै पनि दल विभाजन गर्न सम्बन्धित दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत समर्थन आवश्यक पर्छ । अर्थात् संसदीय दलमा मात्र संख्या पुगेर हुँदैन, केन्द्रीय समितिमा पनि त्यत्तिकै बलियो समर्थन हुनुपर्छ ।
यी दुवै सर्त एकैसाथ पूरा नगरी दल विभाजनले कानूनी मान्यता पाउँदैन । यही व्यवस्थाका कारण नेपाली कांग्रेसजस्तो ठूलो र पुरानो संगठनलाई विभाजनको बाटोमा लैजान सहज छैन । कांग्रेसको संघीय संसदीय दलमा ठूलो संख्यामा सांसद छन् ।
तीमध्ये ४० प्रतिशत सांसद एउटै पक्षमा उभ्याउनु आफैंमा कठिन चुनौती हो । त्यसमाथि केन्द्रीय समितिमा पनि समान अनुपातको समर्थन जुटाउनुपर्ने भएकाले केवल गुटीय असन्तुष्टि वा नेतृत्वप्रतिको असहमतिको भरमा पार्टी विभाजन सम्भव देखिँदैन ।
संविधानले सिर्जना गरेको यही कठिन कानूनी संरचनाले दलहरूलाई विभाजनभन्दा संवाद, सहमति र आन्तरिक प्रतिस्पर्धाबाट समाधान खोज्न प्रेरित गरेको छ । कांग्रेस विभाजनको सम्भावना कमजोर देखिनुको अर्को महत्वपूर्ण आधार यसको आफ्नै इतिहास हो ।
कांग्रेसले विगतमा विभाजनको पीडा भोगिसकेको छ । तात्कालीन राजनीतिक परिस्थितिमा शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस -प्रजातान्त्रिक) गठन गरिएको थियो ।
त्यसबेला विभाजनले तात्कालीन विवादको समाधान जस्तो देखिए पनि त्यसले लोकतान्त्रिक शक्ति कमजोर बनायो, संगठनलाई विभाजित ग¥यो र कार्यकर्तामा अन्योल सिर्जना ग¥यो ।
अन्ततः केही वर्षपछि दुवै पक्षले पुनः एउटै छानामुनि फर्किनु प¥यो । त्यो पुनर्मिलन केवल दुई दलको एकता थिएन, विभाजनले कसैलाई पनि दीर्घकालीन लाभ नदिने राजनीतिक निष्कर्ष पनि थियो ।
आज कांग्रेसका अधिकांश वरिष्ठ नेताहरू त्यही घटनाका प्रत्यक्ष साक्षी हुन् । त्यसैले उनीहरूले विभाजनको मूल्य, त्यसबाट उत्पन्न हुने संगठनात्मक क्षति र राजनीतिक कमजोरीलाई नजिकबाट बुझेका छन् ।
यही कारण अहिले फेरि कांग्रेसलाई औपचारिक रूपमा विभाजनमा लैजाने साहस र वातावरण दुवै कमजोर देखिन्छ । अहिले कांग्रेसभित्र इतर समूहका रूपमा चिनिने विभिन्न नेताहरू सक्रिय छन् ।
पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेत, प्रकाशशरण महतलगायत नेताहरूले समय–समयमा नेतृत्वप्रति फरक धारणा राख्दै आएका छन् ।
फरक विचार राख्नु र पार्टी विभाजन गर्नु एउटै कुरा होइन । यदि भविष्यमा कुनै समूहले नयाँ राजनीतिक प्रयोग गर्ने निर्णय ग¥यो भने नेपालको कानूनअनुसार नयाँ दल दर्ता गर्ने विकल्प सधैँ खुला रहन्छ । कांग्रेसलाई नै विभाजन गरेर नयाँ दल बनाउने प्रयास भने अहिलेको कानूनी व्यवस्थामा अत्यन्त कठिन देखिन्छ ।
अझ महत्वपूर्ण कुरा, इतर समूहभित्र रहेका सबै नेताहरू पनि विभाजनको पक्षमा उभिने अवस्था देखिँदैन । नेतृत्वप्रति असन्तुष्टि भए पनि कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक आन्दोलनमा यसको भूमिका र संगठनात्मक शक्तिलाई छोडेर नयाँ बाटो रोज्न धेरै नेता तथा कार्यकर्ता सहज हुने सम्भावना कम छ ।
त्यसैले यदि कहिल्यै विभाजनको प्रयास भयो भने पनि इतर समूहका धेरै नेता र कार्यकर्ता 'जे जस्तो भए पनि मूल कांग्रेसमै रहने' निर्णयमा पुग्न सक्ने सम्भावना बलियो देखिन्छ । यही मनोविज्ञानलाई हालै कांग्रेसका पूर्व सहमहामन्त्री किशोर सिंह राठौरको अभिव्यक्तिले पनि थप बल दिएको देखिन्छ ।
इतर समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उनले आफू कुनै पनि अवस्थामा पार्टी विभाजनको पक्षमा नरहेको, पार्टीको सदस्यता नवीकरण गरेर कांग्रेसमै रहने तथा अहिलेको कानूनी व्यवस्थामा नयाँ दल सञ्चालन सहज नहुने धारणा व्यक्त गरेका समाचार सार्वजनिक भएका छन् ।
राठौरको यो धारणा केवल एउटा नेताको व्यक्तिगत विचार मात्र होइन, लामो समयदेखि कांग्रेससँग जोडिएका धेरै कार्यकर्ताको भावनासँग पनि मेल खाने देखिन्छ ।
कांग्रेसका धेरै पुराना नेता–कार्यकर्ताले पार्टी कमजोर बनाउनेभन्दा पार्टीभित्रै लोकतान्त्रिक प्रतिस्पर्धा, महाधिवेशन, छलफल र संगठनात्मक सुधारमार्फत समाधान खोज्नुपर्ने विश्वास राख्दै आएका छन् ।
यही भावना आज पनि कांग्रेसको आधारशक्तिका रूपमा देखिन्छ । साँचो अर्थमा भन्ने हो भने कांग्रेसभित्र मतभेद छ, नेतृत्व प्रतिस्पर्धा छ, गुटगत गतिविधि पनि छन् ।
ती सबै लोकतान्त्रिक राजनीतिक दलभित्र स्वाभाविक रूपमा देखिने प्रक्रिया हुन् । मतभेद हुनु भनेको विभाजनको पूर्वसंकेत होइन बरु कांग्रेसको इतिहासले देखाएको कुरा के हो भने अन्तिम अवस्थामा कांग्रेसले एकतालाई नै प्राथमिकता दिने गरेको छ ।
त्यसैले वर्तमान संवैधानिक व्यवस्था, संसदीय दलको अंकगणित, केन्द्रीय समितिको संरचना, विगतमा नेपाली कांग्रेस -प्रजातान्त्रिक) गठन र पुनः एकीकरणबाट प्राप्त अनुभव, वरिष्ठ नेताहरूको राजनीतिक परिपक्वता तथा आम कार्यकर्ताको मनोविज्ञानलाई समग्र रूपमा विश्लेषण गर्दा एउटा निष्कर्ष स्पष्ट देखिन्छ कि कांग्रेसभित्र विचारका धारहरू रहन सक्छन्, नेतृत्व परिवर्तनको बहस चलिरहन सक्छ तर कांग्रेसलाई विधिवत् रूपमा विभाजन गर्ने अवस्था अहिले देखिँदैन ।
बरु आगामी दिनमा पनि कांग्रेसभित्र प्रतिस्पर्धा महाधिवेशनमा हुनेछ, विचारको बहस पार्टीभित्रै हुनेछ र नेतृत्व परिवर्तनको लडाइँ पनि संगठनभित्रै लडिनेछ ।
यही कांग्रेसको परम्परा हो, यही यसको शक्ति हो र यही कारणले कांग्रेस विभाजनभन्दा एकताकै बाटोमा अघि बढ्ने सम्भावना आज पनि सबैभन्दा बलियो देखिन्छ ।
