सामाजिक सद्भाव र शान्ति सुरक्षाका लागि डा. धवलशम्सेर राणाको अपिल, ‘संवादबाटै तनावको समाधान खोजौँ’
काठमाडौं । देशमा पछिल्ला दिन विकसित भइरहेका सामाजिक तनावका बीच सामाजिक सद्भाव कायम राख्न, शान्ति सुरक्षा सुनिश्चित गर्न र संवादमार्फत विवाद समाधान गर्न डा. धवलशम्सेर राणाले सबै पक्षसँग हार्दिक अपिल गर्नुभएको छ।
उहाँले सार्वजनिक अपिल जारी गर्दै अनेकतामा एकता नेपाली समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभएको छ। विभिन्न धर्म, संस्कृति, भाषा, जातजाति, भेषभूषा र परम्पराबीचको सहिष्णुता, सम्मान र सहअस्तित्व नै नेपालको मौलिक पहिचान भएको भन्दै यही मूल्य र परम्पराले नेपाललाई सदियौँदेखि एकताबद्ध बनाइराखेको बताउनुभएको छ।
राणाले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जबाट सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत फैलिँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पछिल्ला घटनाक्रमले तराई–मधेशको सुरक्षा अवस्था संवेदनशील बनेको छ भने झडप, विरोध प्रदर्शन, आगजनी तथा हिंसात्मक गतिविधिका कारण जनधनको क्षति हुनु दुःखद् भएको उल्लेख गर्नुभएको छ।
उहाँले यस्तो संवेदनशील परिस्थितिमा नेपाल सरकारलाई पूर्ण जिम्मेवारीका साथ तत्काल शान्ति सुव्यवस्था कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभएको छ।
राणाले सबै राजनीतिक दल, स्थानीय समुदाय, धार्मिक अगुवा, नागरिक समाज तथा सरोकारवाला पक्षलाई संयम अपनाउन आग्रह गर्दै तनावको समाधान वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने बताउनुभएको छ।
उहाँले धैर्य, सहिष्णुता र पारस्परिक सम्मान कायम राखेर सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई एकजुट हुन अपिल गर्नुभएको छ।
उहाँले अन्त्यमा शान्ति, सद्भाव र राष्ट्रिय एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारका उक्साहट, हिंसा वा वैमनस्यताले कसैको हित नगर्ने भएकाले सबैलाई जिम्मेवार र संयमित बन्न आग्रह गर्नुभएको छ।
