सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन शाहको राष्ट्रलाई सम्बोधन :
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई संयम अपनाउन, उत्तेजनामा नआउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले सुनसरीमा भएको घटनाले समाजमा आक्रोश, डर र अविश्वासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै यस्तो अवस्था कुनै पनि मानवताप्रेमीले नचाहने बताए। उनले घटनामा पीडित भएका परिवारको दुःख सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै न्याय, क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले सरकार घटनाको सुरुवातदेखि नै सक्रिय रहेको बताए पनि प्रारम्भिक प्रयास पर्याप्त हुन नसकेको स्वीकार गरे। सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु र घाइते भएको घटनालाई अत्यन्त गम्भीर विषय भन्दै उनले यसबारे अनुसन्धान सुरु भइसकेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सरकारले सम्पूर्ण घटनाको समीक्षा गरिरहेको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू तत्काल अघि बढाइने बताए। पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने उनको भनाइ छ।
सम्बोधनका क्रममा उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गर्दै सामाजिक सद्भाव, आपसी प्रेम र सम्मान कायम राख्न अपिल गरे। “मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, र सरकारको पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्नु तथा पीडितलाई न्याय दिलाउनु हो,” उनले भने।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित, संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै अफवाह वा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन्। उनले शान्ति, सद्भाव र कानुनी शासन कायम राख्न सरकार दृढ रहेको समेत दोहोर्याएका छन्।
