Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'बर्ड फ्लू' को कहर : ५० करोडभन्दा बढी क्षति, हजारौं किसानको भविष्य संकटमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २ मंगलबार |
newsabhiyan

देशभर फैलँदो संक्रमणले पोल्ट्री उद्योगमा आपत्कालीन अवस्था, उत्पादनदेखि बजारसम्म असर
काठमाडौं, २ असार । नेपालमा पोल्ट्री व्यवसाय ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गइरहेका बेला ‘बर्ड फ्लू’ (एभियन इन्फ्लुएन्जा) को संक्रमणले किसान र व्यवसायीलाई गम्भीर संकटमा धकेलेको छ।

काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा संक्रमण पुष्टि भएसँगै कुखुरा तथा अण्डा उत्पादन क्षेत्रमा त्रास बढेको छ।

केही साताअघि कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाबाट सुरु भएको संक्रमण अहिले राजधानीसहित एक दर्जनभन्दा बढी जिल्लामा फैलिएको छ।

संक्रमण नियन्त्रणका लागि हजारौं कुखुरा नष्ट गरिनुका साथै अण्डा, दाना र अन्य सामग्रीसमेत नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रारम्भिक अनुमानअनुसार प्रत्यक्ष आर्थिक क्षति मात्रै ५० करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ भने अप्रत्यक्ष क्षति अझै ठूलो हुने सरोकारवालाको भनाइ छ।

पोल्ट्री व्यवसायमा आश्रित हजारौं किसान, श्रमिक तथा उद्यमीको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका किसानहरू विशेष चिन्तामा छन्। उत्पादन बन्द हुँदा आम्दानीको स्रोत रोकिएको छ भने ऋण तिर्ने क्षमता कमजोर बन्दै गएको छ।

मौसम परिवर्तनसँगै दोहोरिने समस्या
नेपालमा हरेक वर्ष मौसम परिवर्तनको समयमा ‘बर्ड फ्लू’ संक्रमण देखिने गरेको भए पनि यस वर्ष संक्रमणको दायरा र प्रभाव तुलनात्मक रूपमा बढी देखिएको छ। विशेषगरी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा संक्रमण तीव्र गतिमा फैलिएको पशु स्वास्थ्य विज्ञहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) को कमजोर व्यवस्था, अण्डा बोक्ने क्रेटको अव्यवस्थित पुनः प्रयोग, जीवित र मृत पन्छी व्यवस्थापनमा लापरबाही तथा बजार अनुगमनको कमजोरी संक्रमण फैलिनुका मुख्य कारण बनेका छन्।

नियन्त्रण प्रयास प्रभावकारी हुन नसकेको गुनासो
सरकारले संक्रमित क्षेत्रहरूमा निगरानी बढाउने, कुखुरा तथा अण्डा नष्ट गर्ने, ओसारपसारमा नियन्त्रण गर्ने तथा जैविक सुरक्षाका उपाय लागू गर्ने काम गरिरहेको जनाएको छ। तर व्यवसायीहरू भने सरकारी प्रयास पर्याप्त र प्रभावकारी हुन नसकेको गुनासो गर्छन्।

‘बर्ड फ्लू’ पुष्टि भएका फार्महरूमा कम्तीमा ४५ दिनसम्म नयाँ चल्ला नराख्न सुझाव दिइएको छ। यसले उत्पादन चक्र नै रोकिँदा किसानहरू थप आर्थिक मारमा परेका छन्। उत्पादन बन्द हुँदा बजार आपूर्ति शृंखलासमेत प्रभावित बन्न थालेको छ।

संक्रमण फैलिनुका मुख्य कारण
पशु सेवा विभागका अनुसार संक्रमण फैलनुका प्रमुख कारणहरू यस्ता छन् : फार्म नजिक वन क्षेत्र वा अग्ला रुख हुनु, जलाशय आसपास पोल्ट्री फार्म सञ्चालन हुनु, जैविक सुरक्षा मापदण्डको कमजोर पालना, सवारीसाधन तथा आगन्तुकको अनियन्त्रित प्रवेश, अण्डा बोक्ने क्रेटमा उचित कीटाणुनाशक प्रयोग नहुनु, एउटै व्यक्तिबाट जीवित र मृत पन्छी व्यवस्थापन गरिनु,  संक्रमित सामग्रीको उचित व्यवस्थापन नहुनु ।

विशेषज्ञहरूका अनुसार सुरुवाती चरणमै संक्रमण पहिचान गरी कडा निगरानी गर्न नसकिए महामारीको रूप लिन सक्ने जोखिम अझै कायम छ।

उद्योग, रोजगार र उपभोक्तामाथि दोहोरो असर
नेपालको पोल्ट्री उद्योगले लाखौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। संक्रमणका कारण उत्पादन घट्दा बजारमा अण्डा र मासुको आपूर्ति प्रभावित हुने, मूल्य अस्थिर हुने तथा उपभोक्तामा त्रास बढ्ने सम्भावना रहेको विज्ञहरू बताउँछन्।

पोल्ट्री क्षेत्र नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण केवल किसानको मात्र नभई राष्ट्रिय अर्थतन्त्रको विषय पनि भएको सरोकारवालाको धारणा छ।

समन्वित प्रयासको आवश्यकता
बर्ड फ्लू नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको विज्ञहरूको सुझाव छ। त्यससँगै किसान, व्यवसायी, पशु स्वास्थ्यकर्मी र उपभोक्ताबीच सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

संक्रमण फैलिन नदिन जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना, नियमित स्वास्थ्य परीक्षण, बजार अनुगमन, प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति र समयमै प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्रै पोल्ट्री क्षेत्रलाई थप संकटबाट जोगाउन सकिने देखिन्छ।

नेपालले पोल्ट्री उत्पादनमा आत्मनिर्भरतातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको अवस्थामा ‘बर्ड फ्लू’ को बढ्दो संक्रमणले उद्योग, किसान र राष्ट्रिय अर्थतन्त्रलाई चुनौती दिएको छ। समयमै प्रभावकारी नियन्त्रण गर्न नसके यसले कृषि क्षेत्रमै दीर्घकालीन असर पार्न सक्ने चेतावनी सरोकारवालाले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan