सुरक्षा परिषद्को बैठक आज : विकसित सुरक्षा अवस्था र समसामयिक विषयमा उच्चस्तरीय छलफल हुने
काठमाडौँ, १४ साउनः राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले पछिल्लो सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
बैठक आज बिहान ११:३० बजे बस्ने तय भएको छ। बैठकमा पछिल्लो समय देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्था, शान्ति–सुरक्षा व्यवस्थापन तथा अन्य समसामयिक राष्ट्रिय विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद् नेपालको सुरक्षा नीतिसम्बन्धी उच्चस्तरीय निकाय हो। परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।
देशका केही क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलता र सामाजिक तनावका बीच बस्न लागेको परिषद्को बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकबाट शान्ति–सुरक्षा सुदृढीकरण तथा आवश्यक नीतिगत निर्णयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
