कभर स्टोरी ‘हेभिवेट’ का हार
काठमाडौं, २५ माघ । भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो ।
तर, केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो ।
त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए ।
उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् । २०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो ।
त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे ।
२०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए ।
२०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुप¥यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ?
झलनाथलाई संसद्को ढोका बन्द गराएका महेश
तीन वर्षअघिको आमनिर्वाचन जितेका हुन्थे त पूर्वप्रधानमन्त्री झलनाथ खनालको परिचय संसदीय राजनीतिका अपराजित नेतामा दरिने थियो । २०६४ को माओवादी लहरमा समेत इलाम–१ बाट विजयी खनाल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुँदा पनि २०७९ को चुनावमा पराजित हुन पुगे ।
त्यो पनि आफ्नै पूर्वस्वकीय सचिव महेश बस्नेतबाट । राष्ट्रिय राजनीतिमा नदेखिएका बस्नेतले खनाललाई २ हजारभन्दा धेरै मतान्तरले हराएका थिए । खनालको २५ वर्षे विरासत पल्टाएका बस्नेत राष्ट्रिय राजनीतिमा अहिले पनि खासै परिचित छैनन् ।
तर स्थानीय राजनीतिमा भने लोकप्रिय, चतुर र चुनावी रणनीतिमा माहिर मानिन्छन् । त्यही लोकप्रियताले उनी इलाम नगरपालिकाको दुईपटक मेयर निर्वाचित भएका थिए । बस्नेत विद्यार्थी छँदै २०३०÷३१ सालदेखि कम्युनिस्ट पार्टीको सम्पर्कमा थिए ।
२०३६ सालमा अनेरास्ववियुबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित बस्नेतले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसैबेला प्ररायुसंघको इलाम नगर सचिव हुँदै उनी पार्टीको नगर सचिव भए ।
उनी २०५४ को चुनावमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै २०६३ देखि जिल्ला सचिवालय सदस्यका रूपमा क्रियाशील थिए । २०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत एमालेको जिल्ला कमिटी अध्यक्ष बने ।
इलाम नगरपालिकाको २०५४–२०५९ मा मेयर हुँदा तत्कालीन उपमेयर कृष्णप्रसाद श्रेष्ठ र वडाध्यक्ष गणेश राईसमेतको तलब भत्ताबाट तिल्केनीमा १६ रोपनी जमिन खरिद गरी ३२ परिवार सुकम्बासीलाई लालपुर्जासहित बसोबास गराएर समुदायमा सकारात्मक छाप छाडेका थिए ।
इलामको सबै भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाका बारेमा गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावित खाकाका आधारमा इलामको पुनर्संरचना भएको स्थानीय बताउँछन् ।
त्यसैको जगमा अडिएर बस्नेतले गत निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा पाँचवटा चुनाव निरन्तर जित्दै आएका खनाललाई पराजित गरेको स्थानीय तोयानाथ भट्टराई बताउँछन् ।
बस्नेतले २५ हजार ७ सय ५० र खनालले २३ हजार ८८ मत प्राप्त गरेका थिए । अर्थशास्त्रमा बिए र इतिहास विषयमामा स्नातकोत्तर गरेका बस्नेतले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन पेसामा थिए । उनी कुनैबेला कुशल फुटबलरका रूपमा समेत चिनिएका पात्र हुन् ।
२०३५÷३६ तिर मेची अञ्चलबाट राष्ट्रिय फुटबल प्रतियोगिता खेले । त्यसबेलाको चर्चित राष्ट्रिय प्रतियोगिता अन्तरनगर फुटबल प्रतियोगिता, इन्टर युनिभर्सिटी कम्पिटिसन प्रतिस्पर्धामा सहभागी भएका उनको खेल जीवनको सुखद अनुभव छ ।
माईभ्याली स्पोर्टिङ क्लबका संस्थापक अध्यक्षसमेत रहेका बस्नेतको नेतृत्वमा इलाममा भूकम्पपीडित स्मृति कप फुटबल हुने गरेको थियो । सबै क्षेत्रमा सक्रिय नेता बस्नेतलाई एमालेले यसपटक टिकट नदिएपछि खासै चर्चामा छैनन् । उनी भने पार्टीका उम्मेदवार जिताउन घरदैलोमा सक्रिय छन् ।
माधवलाई हराएर गुमनाम झक्कु र बवन सिंह
राजनीतिको इतिहास कहिलेकाहीँ अनौठो मोडमा घुम्ने गर्छ । यस्तै, एउटा दुर्लभ उदाहरण हो– एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको हारेर प्रधानमन्त्री बन्ने अवसर । प्रसंग २०६४ सालको संविधान सभा चुनावको हो । २०६२÷६३ सालको संयुक्त जनआन्दोलनले मुलुकको राजनीतिक व्यवस्था बदलेको थियो ।
तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध अन्त्य भएर मुलुक नयाँ परिवेशमा अगाडि बढ्दै थियो । उक्त रापतापमा भएको २०६४ सालको संविधान सभाको चुनावमा माधव नेपाल दुई ठाउँबाट चुनाव लडे । मधेश र काठमाडौं जोड्ने भन्दै रौतहट १ र काठमाडौं २ मा उम्मेदवारी दिए तर जनताले पत्याएनन् ।
रौतहट १ बाट स्वतन्त्र उम्मेदवार बबन सिंह र काठमाडौं २ बाट झक्कु सुवेदीले चुनाव जिते । त्यसपछि बवन सिंह र झक्कुप्रसाद सुवेदी ७० को दशकमा चर्चित भइरहे । यता माधव नेपालका निम्ति २०६४ सालको हार सामान्य थिएन ।
किनभने उनी दुई क्षेत्रबाट चुनाव जितेर राजनीतिक प्रभाव देखाउन चाहन्थे तर जनताले पत्याएनन् । २०६४ सालको चुनावबाट सबैभन्दा ठुलो दलका रूपमा तत्कालीन नेकपा माओवादी उदायो । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतको चाहनामा उनै माधव नेपाल मनोनीत हुँदै संविधान सभामा प्रवेश गरे ।
तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवाललाई हटाउन खोजेपछि राजनीतिक परिस्थिति बदलियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि २०६५ साउनमा प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाखमा राजीनामा दिए । त्यसपछि उनै मनोनीत संविधान सभा सदस्य माधव नेपाल प्रधानमन्त्री बने ।
अर्थात् फेरि अर्को अनौठो घटना भयो–दुई÷दुई ठाउँमा चुनाव हारेका व्यक्ति मनोनीत हुँदै प्रधानमन्त्री बन्न सफल भए । तर उनै नेपाललाई चुनावमा हराउने बवन सिंह र झक्कु सुवेदी केवल चर्चामा रहे । २०६४ सालको संविधान सभा नेपाली राजनीतिमा इतिहासको निर्णायक मोड थियो ।
उक्त चुनावको उद्देश्य नयाँ संविधान बनाउने थियो । पहिलो संविधान सभा संविधान बनाउन नसकेर विघटन भयो । २०७० सालमा फेरि संविधान सभाको निर्वाचन भयो । त्यसपछि माधव नेपालले हार बेहोर्नुपरेको छैन । २०७० को चुनाव माधव नेपालले रौतहटबाटै चुनाव जिते ।
२०७४ र २०७९ मा विजयी यात्रा कायम राखे । फेरि पनि नेपाल रौतहटबाट उम्मेदवार छन् । तर बवन सिंह र झक्कु सुवेदी खासै सुनिँदैनन् । बवन सिंह दोस्रो संविधान सभा वरिपरि मधेश केन्द्रित दलमा जोडिए, जनता समाजवादी पार्टी नेपाल हुँदै एमालेमा पुगेका थिए ।
पछिल्लो समयमा एमाले पनि त्यागेर उनी निष्क्रिय प्रायः छन् । झक्कु सुवेदी भने राजनीतिमा निरन्तर छन् । २०७४ सालको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार भए, चुनाव जितेनन् । हाल राष्ट्रिय सभा सदस्य छन् । तर माधव नेपाललाई हराएको बेलाझैं उनी फेरि देखिन र सुनिन सकेका छैनन् ।
राजनीतिको यो अनौठो संयोगले दुई कुरा झल्काउँछ । पहिलो : राजनीति केवल चुनावी हार र जितमा मात्रै रहँदैन । दोस्रो : एजेन्डा, पार्टीभित्रको शक्ति र अन्तरपार्टी सम्बन्धले व्यक्तिको उचाइ नाप्छ । माधव नेपालले एउटा चुनाव हारे ।
तर संगठन र गठबन्धन रणनीति, नेटवर्क र नेतृत्व क्षमताका कारण प्रधानमन्त्री बने र लामो समयसम्म पार्टी नेतृत्वमा रहन सफल भए । अहिले पनि नेतृत्व तहमै छन् । बवन सिंह र झक्कु सुवेदीले माधव नेपाललाई चुनावमा हराए । तर उनीहरू पार्टी र संगठनमा प्रभावी थिएनन् ।
बबन सिंहले स्वतन्त्र रूपमा चुनाव जिते तर संगठन र दीर्घकालीन रणनीति थिएन जसले राजनीतिमा दीर्घकालीन प्रभाव जमाउन सकेनन् । पछि अन्य पार्टीमा जोडिए तर ती संगठनमा पनि पकड जमाउन सकेनन् ।
झक्कु सुवेदी पार्टीमै थिए तर अर्को व्यक्तिको नेतृत्वको निरन्तरमा थिए र छन् । जसले उनलाई राजनीतिमा सक्रिय रहने वातावरण दिए तापनि राष्ट्रिय नेतृत्वको उचाइसम्म पु¥याउन सकेन ।
रामचन्द्रलाई ब्रेक लगाएका किसान
राष्ट्रपति रामचन्द्र पौडेल संसदीय राजनीतिका सफल नेता मानिन्छन् । २०४६ सालको परिवर्तनपछिका ६ चुनाव जित्दा २०७४ मा भने नमिठो पराजय बेहोर्नुप¥यो । उनलाई हराउने अरू कुनै चर्चित नेता थिएनन्, एमाले राजनीतिमा सक्रिय व्यवसायी किसान श्रेष्ठ थिए ।
राष्ट्रिय राजनीतिमा नदेखिएका र नसुनिएका श्रेष्ठ २०७४ मा तत्कालीन कांग्रेस उम्मेदवार पौडेललाई तनहुँ १ बाट पराजित गर्दै एकाएक चर्चामा आए । उनी एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
पौडेलले निरन्तर जित्दै आएको सो क्षेत्र कांग्रेसको गढ मानिन्थ्यो । तर श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएर चुनाव जित्दा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । पौडेललाई पराजित गरेका श्रेष्ठलाई सोही कार्यकालमा कांग्रेसकै शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बनाइयो ।
२०२४ पुस ७ गते म्याग्दे गाउँपालिका १ को दबुङमा बुवा स्व. केवलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको सन्तानका रूपमा जन्मिएका श्रेष्ठ पञ्चायत कालमा नै विद्यार्थी राजनीतिमा होमिएका थिए । २०३८ सालमा अनेरास्ववियुको सदस्यता लिएका उनी २०५१ सालबाट पार्टी राजनीतिमा सक्रिय रहे ।
श्रेष्ठ तनहुँमा समेत नाम चलेका व्यापारी हुन् । दमौलीमा उनको किसान हार्डवेयर चर्चित छ । त्योबाहेक हाउजिङ, रियलस्टेट, ग्यास उद्योग र होटल क्षेत्रमा पनि उनको लगानी छ । उनको आफ्नै लगानीमा क्लासिक म्याट्रेस उद्योगसमेत छ ।
पछिले समय आपूm राजनीतिमा व्यस्त रहेकाले धर्मपत्नी अन्जु गोशेली श्रेष्ठले व्यापार व्यवसाय धानेको उनी बताउँछन् । बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट कांग्रेस–माओवादी–नेकपा एससमेतको गठबन्धनका तर्फबाट २०७९ प्रतिनिधि सभामा निर्वाचित भएका श्रेष्ठ फेरि एमालेमा फर्किएर तेस्रोपटक चुनाव लड्दै छन् । नेकपा एकीकृत समाजवादीका पार्टी माओवादीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि उनी एमालेतिर लागेका हुन् ।
प्रचण्डलाई पराजय चखाएका राजेन्द
दशक लामो सशस्त्र विद्रोहको शान्तिपूर्ण अवतरणपछि संसदीय राजनीतिमा फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड २०६४ यता निरन्तर संसद्मा छन् । तर उनी अपराजित नेता भने होइनन् । २०७० सालको संविधान सभा निर्वाचनमा उनी कांग्रेसका राजन केसीसँग चुनाव हारे ।
दुई तिहाइ बहुमत जित्ने महत्वाकांक्षा बोकेका प्रचण्डका लागि काठमाडौं–१० को चुनाव अप्रत्यासित मात्र थिएन, देशभर पराजयको सन्देशसमेत थियो । एकपछि अर्को हारको खबर आउन थालेपछि माओवादी केन्द्रले मतपेटिका साटिएको आरोप लगाउँदै मतगणना बहिष्कार नै गरेको थियो ।
हेबिवेट प्रचण्डलाई हराएर कांग्रेसका खासै नचिनिएका नेता केसी राजनीतिक चर्चाको केन्द्रमा पुगे । केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मत पाएका थिए । ‘म्यान अफ दि इलेक्सन’को चर्चा कमाएका उनी त्यसयताका हरेक निर्वाचन जित्दै आएका छन् ।
कांग्रेसले कीर्तिपुर क्षेत्रलाई वामपन्थीको ‘लालकिल्ला’का रूपमा लिने गरेको थियो । २०१५ सालदेखिका कांग्रेसले चुनाव नजितेको यो क्षेत्रमा केसीले ‘लालकिल्ला’ भत्काइदिए ।
२०७४ सालको निर्वाचनमा उनले २४ हजार १ सय ९० भोट पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा गठबन्धनका उम्मेदवार माओवादीका नेता हितमान शाक्यले २१ हजार ९ सय ७ मत लिए । पछिल्लो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी एमालेका हिमेश केसीलाई हराउँदै तेस्रोपटक विजयी भएका थिए ।
केसीले हिमेशलाई २ हजार ६ सय ६२ मतको अन्तरले हराएका हुन् । केसीले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका थिए । काठमाडौं–१० मा लगातार तीनवटा चुनाव जितेका केसी यसपटक चुनावी मैदानमा छैनन् ।
प्रतिनिधि सभामा निरन्तर तीन कार्यकाल जितेको भन्दै आफंै चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने भनेर मैले कही सिफारिस नै नगर्नु भनेको थिएँ,’ उनले मध्यान्हसँग भने, ‘पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकाले आफूबाटै यो कामको अगुवाइ गरेको हुँ ।’
कीर्तिपुर ६, चोभारका स्थायी बासिन्दा केसीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । चार पटकसम्म कांग्रेस महासमिति सदस्य भएका केसी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएर काम गरेका गरे । तीनपटक सांसद भए पनि मन्त्री बन्न नपाएका उनी पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर परिवर्तनको पक्षमा उभिएका छन् ।
सुशीललाई तेस्रो बनाएका सर्वदेव
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो, बाँके–२ । २०४८ देखि २०७० सम्मका सबै निर्वाचन उनले यही क्षेत्रबाट उठे । कोइरालाले लडेका पाँच चुनावमध्ये तीनपटक जिते भने दुईपटक हार बेहोरे ।
२०६४ को चुनावी नतिजाको चर्चा भने नेपालगन्जमा अहिले पनि हुने गर्छ । जुन चुनावमा उनी कांग्रेसकै शुभेच्छुक पूर्वकर्मचारीबाट नमिठो हार बेहोरेका थिए । नेपालगन्जलाई मधेस आन्दोलनको उद्गम थलो मानिन्छ । सोही आन्दोलनबाट राजनीतिमा उदाएका पूर्वकर्मचारी हुन्, सर्वदेव ओझा ।
मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले झन्डै ४२ प्रतिशत मत ल्याएर पहिलो संविधान सभा सदस्य निर्वाचित हुँदा कांग्रेस नेता कोइराला तेस्रो बन्न पुगे । मतान्तर झन्डै ९ हजार थियो । ओझा १४ हजार ९ सय मतसहित निर्वाचित हुँदा कोइरालाले ५ हजार ९ सय ६९ मत मात्र प्राप्त गरेका थिए ।
चुनाव जितेर ओझा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत बने । तर उनको राजनीति लामो समय टिकेन । पहिलो संविधान सभाकै बीच फोरम विभाजन भयो । उनी विजय गच्छेदारको फोरम (लोकतान्त्रिक)तर्फ लागे । त्यहाँ पनि धेरै दिन टिकेनन् ।
जयप्रकाश गुप्ताको तराई–मधेस राष्ट्रिय अभियानमा पुगे । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी उम्मेदवार बने । कांग्रेसले तत्कालीन सभापति कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिसकेको थियो । तर, बाँकेबाट चुनाव जित्नेमा उनी आफैं ढुक्क थिएनन् ।
त्यसैले चितवनबाट पनि चुनाव लडे । त्यो चुनाव कोइरालाले दुवै ठाउँबाट सजिलै जिते । बरु पूर्वमन्त्री ओझाको जनमत भने नराम्ररी खस्किएको थियो । कोइरालालाई ९ हजारको मतान्तरले जितेका ओझा ६ वर्षपछिको चुनावमा भने मात्र ७७ भोटमा खुम्चिए ।
त्यसपछि राजनीतिबाट रिङ आउट हुन पुगे । राजनीतिले आफ्नो व्यवसाय भताभुंग भएको ओझा बताउँछन् । त्यसैले चुनावपछि बिग्रिएको आर्थिक कारोबार सुधार्न लागे । भारतीय बिउविक्रेता कम्पनीको नेपाली एजेन्सी ‘मनीषा एग्री कन्सर्न’ ऋणले डुबेको र त्यसको विवाद निरुपणका लागि सर्वोच्च अदालत धाइरहेको उनी बताउँछन् ।
‘नेपाली राजनीतिलाई मैले नजिकबाट देखें,’ उनी भन्छन्, ‘देशलाई माया गर्नेभन्दा लेन्डुप दोर्जेहरू धेरै छन् । अहिलेको चुनावमा पनि त्यस्ता पात्र आइरहेको मैले देखेको छु ।’ दुई दशक लामो सरकारी सेवापछि मधेस आन्दोलनसँगै नेता बनेका ओझाको राजनीतिक यात्रा रोचक छ ।
शाही शासनकालमा कांग्रेस समर्थक कर्मचारी भएकै कारण अनेक दबाब र मुद्दा मामिला सामना गर्नुपरेको उनी बताउँछन् । लोकतन्त्रपछि मधेस आन्दोलनमा सक्रिय भए र फोरमबाट चुनाव जितेर मन्त्री भए । फोरम विभाजनमा पनि उनको हात रहेको बताइन्छ ।
उनी आफंै पनि स्वीकार्छन्, ‘उपेन्द्र यादवले पार्टीलाई माओवादीको पछि लगाउन खोजे । त्यसको विरोध गरेर लोकतान्त्रिक बनाउन मेरो भूमिका छ ।’ कपिलवस्तुको परसोइया गाविसस्थित हथिहवाका ओझा २०३६ सालमा बर्दियामा शिक्षक थिए ।
भारतको कानपुरबाट २०३८ सालमा स्नातकोत्तर गरेपछि कृषि मन्त्रालयमा नायब सुब्बाबाट सरकारी सेवा सुरु गरेका उनी योजना आयोग, गृह मन्त्रालय हुँदै स्थानीय विकास अधिकारीसम्म भए । ओझा फुर्सदको समय कसरी बिताउँदै छन् त ? ‘मलाई फुर्सद छैन । पढाइ पूरा गरेको ४५ वर्षपछि भर्खरै एलएलबी सकें । अधिवक्ताको परीक्षा दिएर आएको छु,’ मध्यान्हसँग उनले भने, ‘अब वकालत गर्ने हो ।’
वामदेवलाई हराएकी सरला
पहिलो संविधान सभा निर्वाचनमा नेकपा (एमाले)को गढ मानिएको बर्दिया–१ बाट चुनाव हारेपछि वामदेव गौतम काठमाडौं उडे । विमानस्थलबाट घरसमेत नपसी उनी सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजार पुगेर सोधे, ‘मलाई किन हराउनुभयो ?’
तर चुनाव प्रचण्डले होइन, माओवादी ‘जनयुद्ध’बाट आएकी जिल्ला तहकी नेता सरला रेग्मीले जितेकी थिइन्, त्यो पनि झन्डै ४४ प्रतिशत मत ल्याएर । ४ हजार १ सय ८२ को फराकिलो मतान्तरसहित रेग्मीले १७ हजार ९ सय ५५ मत ल्याएर चुनाव जितेकी थिइन् ।
एमाले नेता गौतमले १३ हजार ७ सय ७३ मत मात्र प्राप्त गरेका थिए । रोचक त के छ भने चुनावमा पराजित उनै गौतम चार महिनापछि प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान तथा गृहमन्त्री बने ।
२०७० को दोस्रो संविधान सभा चुनावमा बर्दिया १ र प्युठान दुई क्षेत्रबाट जितेर सुशील कोइराला नेतृत्वको सरकारमा पनि उनै उपप्रधान तथा गृहमन्त्री भए । माओवादी सशस्त्र द्वन्द्वमा रेग्मीले श्रीमान गुमाइन् ।
तत्कालीन बाँके–बर्दिया इन्चार्ज यामप्रसाद चालिसे आयाम सुरक्षाकर्मीबाट मारिएका थिए । तर उनले हरेस खाइनन् । युद्धमा होमिएरै उनले धेरै कमान्ड हाँकिन् । २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्मा मनोनीत माओवादीका ८३ सांसद्मध्ये रेग्मी पनि एक थिइन् ।
लगत्तैको संविधान सभा निर्वाचनमा एमालेका तत्कालीन चर्चित नेता गौतमलाई पराजित गरेपछि उनी एकाएक चर्चित बनेकी थिइन् । संसदीय राजनीतिमा भने रेग्मी कम ब्याक हुन सकिनन् । युद्ध लडेकी रेग्मी नेकपा माओवादीको विभाजनमा ‘हार्डलाइन’ धारतर्फ लागिन् । जसका कारण पनि संसदीय राजनीतिबाट टाढा पुगेकी हुन् । अहिले उनी सक्रिय राजनीतिमा देखिँदैनिन् ।
ओली हराएर आफैं हराएका विश्वदीप
जब चुनाव आउँछ तब कुनै न कुनै रूपमा देशभर चर्चामा पुग्ने एक जिल्ला हो–झापा । जहाँबाट ओली बहुदलयता निरन्तर उम्मेदवार छन् । पछिल्ला चुनावमा ओलीसँगै सम्झिने नाम हो– विश्वदीप लिङ्देन । जसले २०६४ सालमा एकपटक मात्रै चुनाव जित ।
त्यसपछि फेरि कहिल्यै उम्मेदवार भएनन् । गुमनाम भएर पनि सम्झिरहनुको कारण हो– लिङ्देनले ओलीलाई दुर्लभ हार चखाइदिए । २०४६ सालमा बहुदल आएपछि २०४८ मा आमचुनाव भयो । जहाँबाट केपी शर्मा ओली विजयी भए ।
२०५१ मा ओली गृहमन्त्री भएसँगै झापाको चर्चा देशभर हुन थाल्यो । २०५१ र २०५६ को पनि चुनाव ओलीले नै जिते । संसद् पुनस्र्थापना भएपछि २०६३ मा ओली उपप्रधान तथा परराष्ट्रमन्त्री भए । जसले झापालाई अझ उचाइका साथ चर्चामा पु¥यायो ।
त्यही उचाइका बेला लिङ्देनले ओलीलाई चुनावमा हराइदिएका हुन् । १० वर्षे सशस्त्र युद्धबाट आएको माओवादीप्रतिको आश र त्रासको माहोलमा लिङ्देनले चुनाव जिते । जनमत परिवर्तन र परिवर्तनको लहरले विश्वदीपलाई चुनाव जित्न सहयोग ग¥यो ।
त्यसपछि विश्वदीपको चर्चा चुलियो । धेरैले सोचे कि अब विश्वदीपले राजनीतिक क्षेत्रमा लामो समयसम्म छाप राख्नेछन् । संविधान सभामा पनि प्रभावशाली भूमिका निभाउनेछन् । तर विश्वदीपको राजनीतिक यात्रा केवल एउटा जितमा सीमित भयो ।
संसदमा उनले न निर्णायक भूमिका निभाउन सके न मन्त्री बने, न पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाए । विश्वदीप पार्टीको केन्द्रीय शक्ति संरचनामा समेत उक्लन सकेनन् । परिणाममा विश्वदीपको चुनावी जितको क्षण चर्चाको विषय भयो ।
तर उनी दीर्घकालीन राजनीतिक उचाइमा पुग्न असफल भए । अर्थात् विश्वदीपले चुनावी जितलाई दीर्घकालीन प्रभावमा रूपान्तरण गर्न सकेनन् ।
ओली हराउने विश्वदीप आफैं राजनीतिबाट हराउन पुगेको उदाहरणले धेरैलाई महत्वपूर्ण पाठ सिकाएको छ– कि निर्वाचन जितेर मात्रै हुँदैन, राजनीतिमा स्थायी शक्ति प्राप्त गर्ने आधार निर्माण गर्नुपर्छ ।
अन्यथा शीर्ष नेतालाई हराउन सके पनि विश्वदीपझैं इतिहासमा हराइन्छ । ओलीले हारका विरुद्ध दीर्घकालीन रणनीति बनाए । दीर्घकालीन योजना बनाए, संगठनमा पकड बढाए र जनसम्पर्क बढाए जसले उनलाई सत्ताको शिखरमा पु¥यायो ।
ओलीले २०६४ को हारलाई दुर्लभ घटनामा पु¥याए । त्यसयताका तीनवटै संसदीय चुनाव २०७० साल, २०७४ र २०७९ मा जिते । चुनाव जितेका मात्र होइनन्, उनी राजनीतिको शीर्ष स्थानमा छन् । २०७२, २०७४ र २०८१ मा गरी चारपटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व सम्हाले ।
आगामी २१ फागुनको चुनावमा फेरि झापा ५ बाटै उम्मेदवार छन् । यता ओझेलमा परेका भए पनि प्रत्येक चुनावमा धेरैले विश्वदीप सम्झन्छन् । यसपटक पनि सम्झिरहेका छन् । भेट्नेहरूलाई उनी भन्छन्– राजनीतिमा असम्भव शब्दको अस्तित्व हुँदैन । उनका नजरमा झापा ५ बाट ओलीलाई हराउन स्थानीयको मनोविज्ञान बुझे पुग्छ । मध्यान्ह दैनिकबाट साभार ।
