Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेवा ठप्प तर कर्मचारीलाई जोखिम भत्ता पोखरिया प्रादेशिक अस्पतालको आर्थिक सङ्कटले बिरामी मारमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ३० मंगलबार |
newsabhiyan

काठमाडौं, ३० असार । आर्थिक सङ्कटका कारण पोखरिया प्रादेशिक अस्पतालमा विगत एक वर्षदेखि औषधि सेवा ठप्प हुँदा सेवाग्राहीहरू गम्भीर समस्यामा परेका छन् ।

अस्पतालमा निश्शुल्क तथा स्वास्थ्य बीमा अन्तर्गत वितरण गरिने औषधि लामो समयदेखि अभाव भएपछि बिरामीहरू बाहिरबाट महँगो मूल्यमा औषधि खरीद गर्न बाध्य भएका छन् ।
    
औषधि सेवा मात्र होइन, गत चैत महीनादेखि आवश्यक केमिकलको अभावमा प्रयोगशाला सेवा पनि पूर्णरूपमा बन्द रहेको छ । प्रयोगशाला बन्द हुँदा रगत, पिसाब, दिसालगायतका आधारभूत परीक्षण हुन सकेका छैनन् ।

यसैगरी, भुक्तानी नपाएको भन्दै सम्बन्धित ठेकेदारले एक्सरे तथा भिडियो एक्सरे सेवासमेत बन्द गराएका छन् । जसका कारण अस्पतालमा उपचारका लागि आउने बिरामीहरू सामान्य परीक्षणका लागि पनि निजी स्वास्थ्य संस्थामा जान बाध्य भइरहेका छन् ।
    
यता अस्पतालका अधिकांश सेवा बन्द रहे पनि त्यहाँ कार्यरत केही कर्मचारीले चालू आर्थिक वर्षमा जनही ८० हजार रुपैयाँका दरले जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएको छ ।

स्रोतका अनुसार सेवा बन्द रहेको एक्सरे तथा प्रयोगशाला शाखाका प्रमुख राज कुशवाहा, सोही शाखाका राज मण्डल, दीपक चौरसिया र सेराजुल अन्सारीले उक्त जोखिम भत्ता प्राप्त गरेका छन् ।
    
प्रदेश सरकारबाट प्राप्त १८ लाख रुपैयाँमध्ये अस्पतालले दुई थान वातानुकूलित (एसी) यन्त्र खरीद गरेको, केही शøया थप गरेको तथा बाँकी रकम कर्मचारीहरूलाई जोखिम भत्ता वितरणमा खर्च गरेको स्रोतले जनाएको छ ।

तर अत्यावश्यक औषधि खरीद, प्रयोगशालाका लागि आवश्यक केमिकल व्यवस्थापन तथा बन्द रहेका सेवा सञ्चालनतर्फ भने प्रभावकारी पहल नभएको आरोप लागेको छ ।
    
अस्पतालको दयनीय अवस्थाले दैनिक उपचारका लागि आउने सर्वसाधारण सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य बीमा गरेका बिरामीले समेत अस्पतालबाट औषधि र आवश्यक परीक्षण सेवा नपाएपछि अतिरिक्त आर्थिक भार बेहोर्नुपरेको गुनासो गरेका छन् ।

स्थानीयवासीले अस्पतालमा अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न, औषधिको आपूर्ति नियमित बनाउन तथा सार्वजनिक रकमको खर्चबारे पारदर्शी छानबीन गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
    
यस विषयमा अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । आर्थिक अभावका कारणअस्पतालका आधारभूत सेवासमेत प्रभावित भइरहेका बेला सेवा बन्द भएका शाखाका कर्मचारीलाई जोखिम भत्ता वितरण गरिएको विषयले अस्पतालको वित्तीय व्यवस्थापनमाथि प्रश्न उठाएको छ । प्रतीक दैनिकबाट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan