ललितपुरको ब्वाइज होस्टेललाई जरिवाना
काठमाडौँ, १३ साउनः स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको ग्रान्ड ब्वाइज होस्टेललाई रु एक लाख जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ ।
ललितपुर सातदोबाटोको सिद्धि विनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिञ्चोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरणसम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन निर्देशन दिइएको छ ।
विभागले विभिन्न आठ व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो । अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न, बिल बिजक अनिवार्य लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले उद्योग, फर्महरुको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक कारबाही गरिएको स्पष्ट पारिएको छ ।
