नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
काठमाडौं । केही समयअघि मात्रै सम्पन्न विश्वकै एक विशिष्ट अन्तर्राष्ट्रिय फिल्म महोत्सव 'कान्स' को ७९औँ संस्करणका अवसरमा विश्वभरिका राजनीतिज्ञ, व्यापारी, पत्रकार, फिल्म वितरक तथा समीक्षकहरू पेरिसमा भेला भएका थिए ।
विश्वभरका चलचित्रकर्मीहरू यस महोत्सवमा आफ्ना सिनेमा छनोट हुनुलाई मात्र पनि जीवनभरको सपना ठान्ने गर्छन् । नेपाली सिनेमाको इतिहासमै पहिलो पटक अविनाशविक्रम शाहले निर्देशन गरेको 'एलिफ्यान्ट इन द फग' यस महोत्सवको 'अनसर्टेन रिगाड्र्स' र 'बेस्ट साउन्ड' क्याटगोरीमा छनोट भयो ।
यसले 'अन सर्टेन रिगाड्र्स' तर्फ जुरी अवार्ड र साउन्डतर्फ उत्कृष्ट अवार्ड जित्यो । नेपाली सिनेमाकर्मीहरूका लागि यो एउटा सपना साकार भएको पल थियो । यसअघि अविनाशले नै निर्देशन गरेको 'लोरी' नामक सर्ट फिल्मले कान्समा छोटो चलचित्रतर्फको अवार्ड जितेको थियो ।
नेपाली फिल्मकर्मीहरूले बनाएका धेरै 'सर्ट फिल्म' हरू सन् १९९० को दशकको अन्त्यदेखि नै अन्तर्राष्ट्रियस्तरका सिनेमा महोत्सवहरूमा छनोट हुन थालेका थिए । यो क्रम बढ्दै गएर आज एउटा फिचर फिल्मले कान्सजस्तो प्रतिष्ठित महोत्सवमा अवार्ड जित्न सफल भएको छ ।
एउटा सिनेकर्मीले आफ्नो नितान्त व्यक्तिगत र निरन्तर को मिहिनेत तथा प्रयासबाट यो सफलता प्राप्त भएको हो । यो सफलतापछाडि थुप्रै कथाहरू होलान्, धेरै व्यक्तिहरू जोडिएका होलान्, तर यसको नेतृत्व अविनाशले नै गरेका हुन् ।
यस सफलतामा राज्यले खेलेको भूमिका नगन्य देखिन्छ । अझ, अवार्ड जितिसकेपछि त्यसको अपनत्व लिने अवसरबाट समेत राज्य चुकेको छ । नेपालमा वर्षमा कम्तीमा पनि एक सयको हाराहारीमा सिनेमाहरू निर्माण भइरहेका छन् ।
केवल यही संख्यालाई नै राज्यले एउटा ठुलो उपलब्धि मानिरहेको छ । तर, सिनेमा वा साहित्यको मापन संख्याले नभई त्यसको गुणस्तरले गर्छ । गुणस्तरीय सिर्जनाले समाजलाई जसरी प्रेरित गर्न सक्छ, त्योभन्दा बढी नकारात्मक असर गुणस्तरहीन सिर्जनाले पु¥याइरहेको हुन्छ ।
तसर्थ, राज्यको काम सड्ड्या गन्ने मात्र होइन, गुणस्तरीय सिनेमा निर्माण गरिरहेका सर्जकहरूलाई निरन्तर लागिरहने अनुकूल वातावरण सिर्जना गरिदिने हो ।
नेपाली कथा, कला, इतिहास, पहिचान, सामाजिक चेतना, संस्कृति, सम्पदा र पुरातत्त्वलाई कलात्मक तरिकाले प्रस्तुत गर्दा अन्तर्राष्ट्रिय बजारमा पुग्न सकिने रहेछ भन्ने कुरा पछिल्लो दुई दशकमा नेपाली सिनेमाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा पाएको सफलताले प्रस्ट्याउँछ ।
आज अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेका अधिकांश नेपाली सिनेमा कुनै सरकारी रणनीति, विशेष अनुदान वा अन्तर्राष्ट्रिय प्रवद्र्धनका परिणाम होइनन् : यी त नेपाली सिनेमाका निर्देशक, निर्माता, लेखक, प्राविधिक तथा कलाकारहरूको अथक् परिश्रम, व्यक्तिगत आर्थिक जोखिम, अन्तर्राष्ट्रिय सहकार्य र सीमित स्रोतसाधनको अधिकतम उपयोगका प्रतिफल हुन् ।
तर, सधैँ सिनेकर्मीको एकल प्रयासले मात्रै यो सम्भव हुँदैन । राज्यले सिनेमा क्षेत्रका लागि दीर्घकालीन रणनीति बनाएर सो हीअनुसारका नीति तथा कार्यक्रम निर्माण गर्ने अठोट लिनु जरुरी छ ।
यसो गर्न सके सिनेमा क्षेत्र केवल मनोरञ्जनको साधन वा देश चिनाउने माध्यममा मात्र सीमित रहनेछैन, यसबाट मनग्य आर्थिक लाभसमेत लिन सकिनेछ ।
स्पष्ट रूपमा भन्नुपर्दा, सिनेमा क्षेत्रमा लगानी बढाउनु भनेको राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु हो । यसका केही सफल उदाहरणहरू विश्व समुदायले देखिसकेको छ, जुन देशहरू यस प्रकार छन्ः
१. दक्षिण कोरिया : सिनेमा र संस्कृतिको माध्यमबाट देशको अर्थतन्त्र कसरी कायापलट हुन्छ भन्ने सबैभन्दा उत्कृष्ट उदाहरण दक्षिण कोरिया हो । सन् १९९० को दशकमा कोरियामा आर्थिक मन्दी उच्च थियो ।
तर, त्यही बेला उसले सिनेमा र सड्डीतलाई सफ्ट पावरका रूपमा प्रयोग गर्दै आर्थिक आर्जन गर्ने उद्देश्यले यस क्षेत्रमा ठुलो लगानी ग¥यो । जसको परिणामस्वरूप, २०२५/२०२६ को एक प्रतिवेदनअनुसार यस क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक करिब १७.१ बिलियन अमेरिकी डलरको योगदान पु¥याएको छ ।
यसले समाजमा पु¥याएको अप्रत्यक्ष योगदान र कोरियाको प्रतिष्ठा फैलाउन खेलेको भूमिकाले विदेशी मुद्रा भित्र्याउन ठुलो मद्दत गरेको छ ।
कोरियाली सरकारको 'इन्टरनेसनल भिजिटर सर्भे' अनुसार कोरिया घुम्न आउने कुल विदेशी पर्यटकहरूमध्ये ३८.३ प्रतिशत पर्यटकहरू कोरियाली सिनेमा, ड्रामा वा त्यहाँको संस्कृतिबाट प्रभावित भएर पुग्ने गर्छन् । सिनेमाकै कारण त्यहाँको फेसन, कस्मेटिक्स र परिकारको निर्यात विश्वभर बढेको छ ।
२. न्युजिल्यान्ड : न्युजिल्यान्डले आफ्नो प्राकृतिक सम्पदा र भूमिपुत्र -माओरी) हरूका कथाहरूलाई सिनेमाका माध्यमबाट विश्वभरका दर्शकसम्म पु¥याउने लामो रणनीतिक योजना बनाएर यस क्षेत्रमा लगानी बढायो ।
यसले देशको पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका खेलेको छ । सन् २००० को सुरुवाततिर चर्चित सिनेमा श्रृड्डला 'द लर्ड अफ द रिङ्स' र 'हबिट' रिलिज भएपछि न्युजिल्यान्ड पुग्ने पर्यटकको सड्ड्या ह्वात्तै बढ्यो । ती चलचित्र छायाङ्कन गरिएका 'हबिटन' जस्ता ठाउँ हेर्नकै लागि यहाँ ठुलो सड्ड्यामा पर्यटक आउने गर्छन् ।
यसले त्यहाँको राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष रूपमा अर्बौँ डलर र हजारौँ रोजगारी थपेको छ, जसलाई त्यहाँ 'द रिङ इफेक्ट'भनिन्छ ।
३. फ्रान्स : फ्रान्सले हलिउडको सांस्कृतिक थिचोमिचोबाट आफ्नो कला र पहिचान जोगाउन कान्सजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा ठुलो लगानी गरेको छ । फ्रान्स सरकार सिनेमालाई व्यापार मात्र मान्दैन, यसलाई राष्ट्रको गौरव र सम्पदा मान्छ ।
फ्रान्सले प्रत्येक सिनेमाको टिकट बिक्रीबाट निश्चित प्रतिशत रकम करका रूपमा काट्छ र सो रकम पुनः फ्रान्सेली मौलिक सिनेमा बनाउन अनुदानका रूपमा सिनेमाकर्मीहरूलाई बाँडिदिन्छ । यसले फ्रान्समा ठुलो सड्ड्यामा मौलिक फिल्महरू निर्माणका लागि बाटो खोलेको छ ।
फ्रान्सलगायत युरोपेली देशहरूमा 'क्रिएटिभ इकोनोमी' (सिनेमा, कला, साहित्य) ले कुल रोजगारीमा बृहत् योगदान पु¥याउँछ । फ्रान्सको विश्वव्यापी छवि र पर्यटन विकासमा सिनेमाको ठुलो योगदान छ ।
४. फिलिपिन्स : फिलिपिन्सले पछिल्लो समय आफ्नो कला, संस्कृति र कथाहरूलाई सिनेमा तथा नाटकमार्फत विश्वभर फैलाएर ठुलो आर्थिक र सांस्कृतिक लाभ लिइरहेको छ ।
फिलिपिन्स सरकारले सिनेमा, सड्डीत र डिजिटल मिडियालाई देशको अर्थतन्त्रको एउटा मुख्य खम्बा नै मानेको छ । यसका लागि उनीहरूले सन् २०२२ मा एउटा ऐतिहासिक कानुन पारित गरे, जसको नाम थियो– 'फिलिपिन्स क्रिएटिभ इन्डस्ट्रिज डेभलपमेन्ट एक्ट' ।
यस कानुनको मुख्य उद्देश्य सिनेमा र कलाका माध्यमबाट देशको आर्थिक विकास गर्नु तथा रोजगारी सिर्जना गर्नु हो । पछिल्लो एक प्रतिवेदनअनुसार फिलिपिन्समा कला क्षेत्रले करिब ७० लाख नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिएको छ ।
यस देशले आफ्नो रैथाने कथा र पहिचानलाई विश्वव्यापीकरण गरेको छ । उनीहरूले आफ्ना ऐतिहासिक घटनाहरू, पारिवारिक मूल्यमान्यता र फिलिपिनो आदिवासी संस्कृतिहरूलाई सिनेमामा प्राथमिकता दिने गरेका छन् । 'फिल्म डेभलपमेन्ट काउन्सिल अफ द फिलिपिन्स'ले विदेशी फिल्ममेकरहरूलाई फिलिपिन्समा छायाङ्कन (सुटिङ) गर्न आकर्षित गर्नका लागि 'फिल्म लोकेसन इन्सेन्टिभ' दिने गर्छ ।
विदेशी फिल्म सुटिङ हुँदा स्थानीय प्राविधिक, कलाकार र त्यहाँको पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुगिरहेको छ । अब हाम्रै छिमेकी तथा दक्षिण एसियाली केही देशहरूको बारे मा चर्चा गरौँः
१. भारत : बलिउड र पछिल्लो समय दक्षिण भारतीय सिनेमाले भारतको आन्तरिक संस्कृति र लोककथाहरूलाई विश्वव्यापी बनाएका छन् । विश्वकै ठुलो जनसंख्या भएको भारतमा मिडिया र मनोरञ्जन क्षेत्रले ५० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।
भारत सरकारको पर्यटन मन्त्रालयले 'फिल्म टुरिजम'लाई प्रोत्साहन गर्न एउटा विशेष नीति नै बनाएको छ । भारतले सिनेमालाई केवल मनोरञ्जनको माध्यम मात्र नभई विश्वभर देशको पहिचान फैलाउने सबैभन्दा ठुलो सफ्ट पावरका रूपमा प्रयोग गर्दै आइरहेको छ ।
२. बंगलादेश : बंगलादेशले पछिल्लो समय आफ्नो फिल्म उद्योग 'ढालीउड'को पुनरुत्थान गर्न र ओटीटी प्लेटफर्महरूमार्फत आफ्ना मौलिक कथाहरू विश्वभर पु¥याउन ठुलो लगानी गरिरहेको छ ।
बंगलादेश सरकारले सिनेमा उद्योगलाई प्रवद्र्धन गर्न फिल्म सेन्सर बोर्डलाई आधुनिकीकरण गर्ने र हलहरूको स्तरोन्नतिका लागि करोडौँ टाकाको विशेष सहुलियतपूर्ण ऋण कोष स्थापना गरेको छ ।
सरकारले राष्ट्रिय पहिचान बोकेका सिनेमा निर्माणका लागि प्रत्येक वर्ष ठुलो मात्रामा सरकारी अनुदानसमे त वितरण गर्दै आएको छ ।
३. श्रीलंका : श्रीलंकाले आफ्नो गृहयुद्धपछिको इतिहास, बुद्ध धर्मसँग जोडिएका सम्पदा र प्राकृतिक सुन्दरतालाई सिनेमामार्फत विश्वमाझ प्रस्तुत गरेर पर्यटन उद्योगलाई ठुलो टेवा पु¥याएको छ । श्रीलङ्काको कुल जीडीपीमा पर्यटन क्षेत्रको योगदान करिब ४ देखि ५ प्रतिशत छ, जसमा सिनेमा पर्यटनको ठुलो भूमिका छ ।
हलिउड र बलिउडका धेरै चर्चित चलचित्रहरू यहाँ छायाङ्कन गरिएका छन् । यहाँको राष्ट्रिय चलचित्र निगमले विदेशी सिनेमाहरूलाई आफ्नो देशमा खिच्न आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्ने नीति लिएको छ । साथै, स्थानीय चलचित्रहरूलाई अन्तर्राष्ट्रिय महोत्सवहरूमा पु¥याउन सरकारले आर्थिक सहयो गसमेत गर्ने गरेको छ ।
यसरी हेर्दा हाम्रै छिमेकी देशहरूले सिनेमाका माध्यमबाट देशको अर्थतन्त्रमा पु¥याएको योगदानको चर्चा भइरहँदा, हामीकहाँ भने सिनेमा क्षेत्रले अर्थतन्त्रमा कति योगदान पु¥याउँछ भन्ने एकीकृत तथ्याङ्क वा 'डाटा' समेत राज्यसँग छैन ।
नेपालसँग संसारकै उत्कृष्ट लोकेसन र मौलिक कथाहरू छन् । राज्यले सिनेमा क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्न छाडेर छिमेकी देशहरूले जस्तै नीतिगत रूपमै प्राथमिकता दिने हो भने नेपाली सिनेमाले नेपालको सुस्त रहेको पर्यटन र रचनात्मक अर्थतन्त्रलाई नयाँ ऊर्जा दिन सक्छ ।
किनभने, पछिल्ला वर्षहरूमा विश्व अर्थतन्त्रमै सिर्जनशील क्षेत्रको भूमिका र महत्त्व बढेर गएको छ ।
'बिजनेस कन्सल्टिङ फर्म एन्ड ग्लोबल म्यानेजमेन्ट'को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा रचनात्मक उद्योगको उत्पादन २ दशमलव २५ ट्रिलियन डलरबराबर थियो, जुन विश्वको कुल जीडीपीको करिब ३ दशमलव १ प्रतिशत हो । स्याङ्जा बुलेटिनका साथमा ।
