Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १० आइतबार | प्रकाश सिलवाल/रासस
newsabhiyan

काठमाडौँ, १० साउनः

“एक फरक मुसाफिर हुँ म
मेरो दुनियाँ अरूको जस्तो छैन
मेरो दुनियाँ जस्तो अरू छैन
म राउटेनी अर्थात् वनफूल ।
तिम्रो दुनियाँका सभ्य र सुकिला मान्छेहरू जस्तै
नाकमुख, हातगोडा, मन मस्तिष्क सबै सबै छन्
यो राउटे दुनियाँका
ख्याउटे र फुस्रा मान्छेहरूमा पनि
के तिमीलाई थाहा छ ?
जङ्गलका स्वघोषित श्री हुन् राउटे
ठुला ठुला डरलाग्दा जीव र अजिङ्गरहरूसँग
युगौँदेखि कूटनीतिक सम्बन्ध गाँसेर बसेका
जङ्गलका राजवंश हुन् राउटे ।’’
       
कर्णालीकी चेली कवि निरञ्जना चन्द ‘निरू’ ‘आँखामा रारा, नसामा भेरी र कर्णाली राखेर बाँचेको’ अनुभूतसहित साहित्य सिर्जनामा होमिनुभएको छ । 

सुर्खेतको सिम्ता गाउँपालिका–४ मा विसं २०४५ असार १८ जन्मिनुभएका निरुले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी हाल शिक्षण पेसा अँगाल्नुभएको छ । गिट्टी कुट्ने दुखियाले विना कुनै गुनासो आफ्नो कर्म गरिरहेका छन् तर सहरियाहरू भने देशसँग गुनासो गरिरहेको व्यङ्ग्यात्मकता कविले अभिव्यक्त गर्दै आउनुभएको छ ।
        
हाल बर्दियाको बाँसगढी नगरपालिका–८ मा बस्ने चन्दका ‘निरुले साइनो’ छोटा कवितासङ्ग्रह २०७६, ‘निरुपण’ मुक्तकसङ्ग्रह २०७७ र ‘वनपूmलको विद्रोह’ कवितासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित छन् । 

उहाँका राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर रचना प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०७८ मा तृतीय, लुम्बिनी प्रदेशस्तरीय कविता प्रतियोगिता, २०७७ मा प्रथम, साहित्य सदन नेपालले आयोजना गरेको कविता महोत्सव, २०८० मा द्वितीय स्थान हासिल गरेर चन्दले कविताका क्षेत्रमा आफूलाई स्थापित गर्नुभएको छ ।
    
“मेरो सानैदेखिको स्वभाव स्वतन्त्रता र उन्मुक्तिको पक्षमा लाग्नु रह्यो । जातीय उत्पीडन समाजमा देखेर मेरो मन दुख्छ”, कवि निरू भन्नुहुन्छ, “द्वन्द्वमा जीवन गुजारेका तर अयोग्य साबित गरिएका महिलाका पीडा देखेपछि; वादी, राउटे र छाउपडी ब्यहोर्र्नु बाध्य पारिएका, युवापलायनका, दहेजका लागि मारिने नारीसमेतका उत्पीडन देखेपछि मैले आफ्ना कवितामा ती विषयलाई उतार्न थालेको हुँ ।’’ 

निरु चन्दका एक दर्जन कविता शनिबार राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा बागबजारमा आयोजित ‘अविरल जनसाहित्य यात्रा–१११’ मा गुञ्जिएका थिए । कवि निरुले आफ्ना ‘युगीन प्रतिध्वनि’, ‘अयोग्य योद्धा र पदचापहरू’, ‘वनपूmल’, ‘मेरो बस्तीमा घाम किन आएन !’,

‘छाउगोठका शरणार्थी सपनाहरू’ र ‘मधेसको आँगनमा दहेज’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू जयन्ता पोखरेलले ‘निश्चिन्त भएर उठ’, यशोदा अधिकारीले ‘दिलमाया’, रामचन्द्र दाहालले ‘फर्केर आऊ आफ्नै घर’, माधव चौलागाईँले ‘गुराँसहरू युद्ध गर्दैनन्’, गीता सापकोटाले ‘सत्तासीन गुनासो’ र प्राडा जीवेन्द्रदेव गिरीले ‘जीर्णकवच’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इञ्चार्ज जीवन घिमिरेले प्रविधिले मिच्दै मिच्दै संस्कृति धरापमा परिरहेको बेला हाम्रा लोकगीतका स्रोत कमजोर बनिरहेको बताउनुभयो । ‘जेनजी’ आन्दोलनले पाँच पुस्तासम्म मिलेर बसेको हाम्रो समाज र संस्कृतिमा चुनौती ल्याइदिएको उहाँको भनाइ छ ।

समालोचक डा अमृता शर्माले कर्णालीको विकट भूगोलमा सङ्घर्ष गर्दै समाजमा विद्यमान विभेद, शोषण र महिलाले भोगेको उत्पीडनलाई विद्रोही चेतका साथ निरुले सामाजिक रूपान्तरणको स्पष्ट वैचारिकता कवितामा सम्प्रेषण गरेको टिप्पणी गर्नुभयो । 

“निरुका कविताका विषयवस्तु यथार्थपरक छ । महिलाको श्रम र सङ्घर्षलाई कवितामा उजागर गरिएको छ, युद्धको सन्त्रासबाट मुक्त समाजको परिकल्पना गरिएको छ ।

श्रमको सौन्दर्यगान गाइएको छ, जनयुद्ध लडेका महिलाका पीडा कवितामा आएका छन्”, डा शर्माले भन्नुभयो, “संसारभर पुगेका युवालाई स्वदेश फर्कन आग्रह गरिएको छ ।

परिवर्तनका लागि विद्रोही चेतना कवितामा सशक्त बनेर आएको छ । मधेसमा अहिले पनि दाइजोका नाममा महिला उत्पीडनमा परिरहेका मात्र होइन मारिनेसम्मको मर्मान्त पीडा कवितामा आएको छ ।’’

सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालले आशावादी जीवनदृष्टि राख्ने र सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने’ कविका रूपमा चन्दलाई चिनिएको बताउनुभयो भने महासचिव डा कृष्ण सुवेदीले ‘नेपाली समकालीन युगजीवनलाई नजिकबाट नियाल्दै विकृति, विसङ्गतिलाई यथार्थपरक ढङ्गले उजागर गर्ने र स्पष्ट रूपमा रूपान्तरणको आग्रह गर्ने कविका रुपमा निरुलाई चित्रित गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan