(कविता) जेन्जी सरकार
-उदय निरौला
भविष्यको गर्भमा के छ? के छैन?
मल पाएपनि नपाए पनि किसानहरूले मकै समयमा रोप्छन्
जेटिएले तलव खाएर नआए पनि धान समयमा रोप्छन्
अलिकति बारीमा सागपात
खुर्सानी र अदुवा बेसार लगाउँछन्
फलफूल लगाँउछन्
सरकार नपुगेपनि
बाँदरहरू फललागेपछि पुग्छन्
किसानहरूका नानीहरूको पेट रित्याएर
बाँदर पेट भर्छ
उता सुदुर पाखाका कथा।
बाढीले सबै बाली
बगाए पनि किसानहरूले सधैं रुटिन निर्वाहगर्छन्
खान नपुगेपनि थोपरेको सरकारी कर भोको बसेर तिर्छन्
तर कुर्सीमा पुगेकाहरूले अरु बढी कर थोपर्छन्
फेरि निर्वाचन आउनु अघिसम्मको दुख यस्तै छ
हिजो पनि र वर्तमानमा अरु बढेको भन्छन् किसानहरू
विद्यार्थी त्यसै भन्छन्
मजदुर त सदैव मजदुर
सुकुम्बासी सबै मजदुर
तिनका सन्तान पढ्ने स्कुल खै?
तिर्ने फिस खै?
संभ्रान्तहरूका लागि हुन् कलेज
र अस्पताल सबै
अलिकति स्वास्थ्य बिमा थियो त्यो पनि खोसियो
गाँउतिर त्यसै भन्छन्
शहरमा त्यसै भन्छन्
जेन्जीभाइहरू कसरी पढुन्
कसैको हात छैन
कसैको खुट्टा छैन
कसैको किड्नी छैन
कसैको आँखा छैन
ती मरेका सहीदहरू त मरे मरे
बाँचेकाको हालत अरु खराब छ
घोडा यिनको ढाड भयो
सत्तामा राज भयो
ए बा!लौन के गर्ने ?
भन्ने बिलाउना छ्यापछ्याप्ति छ
कहाँ गएछ कुन्नि सरकार?
भनेर आँखाको माइनस चश्मा हातमा बोकेर
जेब्राक्रसमा बाहरू खोजी रहेका थिए जेन्जी सरकार
जेब्राक्रसमा निहुरिएर।
