सुनसरी हिंसापछि गृहको ठूलो निर्णय: सीडीओदेखि डीआईजी, एसपी र एपीएफ डीएसपीसम्म फेरबदल
काठमाडौं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक फेरबदल गरेको छ। घटनाको जिम्मेवारी र सुरक्षा व्यवस्थाको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरीका डीआईजी, एसपी तथा सशस्त्र प्रहरी बलका डीएसपीलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई पठाएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बलको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार मन्दिर क्षेत्रमा ठूलो स्वरमा डिजे बजाइएको तथा त्यसअघि सार्वजनिक स्थानमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयलाई लिएर विवाद चर्किएको थियो। त्यसपछि उत्पन्न तनाव हिंसात्मक झडपमा परिणत भएको थियो।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। साथै, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा बनाएको छ।
