Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधुवन बचत तथा ऋण सहकारीको अवलोकन भ्रमण उत्साहजनक

विगतका उपलब्धिको समीक्षा गर्दै भावी रणनीतितर्फ अघि बढ्दै संस्था

न्यूजअभियान | प्रकाशित मिति : २०८३ बैशाख २८ सोमबार | सागर श्रेष्ठ
newsabhiyan

जिरी । सदस्यहरुको आर्थिक, सामाजिक तथा व्यवसायिक हितलाई केन्द्रमा राखेर निरन्तर सक्रिय रहँदै आएको मधुवन बचत तथा ऋण सहकारी संस्थाले संस्थालाई अझ प्रभावकारी, नमूना र सदस्यमैत्री बनाउने उद्देश्यसहित सफल सहकारीहरुको अध्ययन तथा अवलोकन भ्रमणलाई तीव्रता दिएको छ । यसै क्रममा संस्थाको प्रतिनिधिमण्डलले दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५, काब्रेमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. को अवलोकन भ्रमण गरेको छ ।

संस्थाका अध्यक्ष डा. तारा प्रसाद गौतमको संयोजकत्वमा सञ्चालक समितिका पदाधिकारी, सदस्य, व्यवस्थापक कर्मचारी तथा प्रमुख सल्लाहकार सम्मिलित टोलीले सहकारीको व्यवस्थापन, सदस्य सेवा, वित्तीय अनुशासन तथा दीर्घकालीन रणनीतिका विषयमा अध्ययन गरेको हो ।

अवलोकन कार्यक्रमका क्रममा मधुवन सहकारीका प्रमुख सल्लाहकार मुकुन्द प्रसाद दाहालले संस्था स्थापना कालदेखि हालसम्मको यात्राबारे समीक्षा गर्दै सीमित स्रोतसाधनका बाबजुद संस्था निरन्तर सदस्यको भरोसाको केन्द्र बन्न सफल भएको बताए । उनले सहकारीले स्थानीय स्तरमा बचत संस्कृतिको विकास, साना व्यवसाय प्रवर्द्धन तथा सदस्यहरुको आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको धारणा राखे ।

अध्यक्ष डा. तारा प्रसाद गौतमले संस्थाले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौती, आर्थिक मन्दी तथा सदस्यको विश्वास कायम राख्ने विषयलाई गम्भीरतापूर्वक लिँदै पारदर्शी र उत्तरदायी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले “अबको आवश्यकता भनेको पुराना अनुभवको समीक्षा गर्दै प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित सहकारी निर्माण गर्नु हो” भन्ने धारणा व्यक्त गरे ।

उपाध्यक्ष सुनिता सिग्देलले सहकारी ऐन र बचत तथा ऋण सहकारीको मर्मभित्र रहेर संस्था सञ्चालन भइरहेको स्पष्ट पार्दै थप ज्ञान, अनुभव र सफल अभ्यास सिक्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको बताइन् । सचिव फनिन्द्र ओझाले सफल सहकारीहरुको व्यवस्थापन शैली, अनुशासन र दीर्घकालीन सोचबाट प्रेरणा लिएर मधुवनलाई पनि उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले आर्थिक रुपमा सानो भए पनि संस्थाले नियमित कारोबार गर्दै सदस्यहरुलाई १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सफल भएको जानकारी दिए । कर्मचारी मञ्जु तिमिल्सिनाले ऋण लगानी तथा असुली व्यवस्थापन सन्तोषजनक रहेको र हालसम्म संस्थाले कुनै जटिल वित्तीय समस्या सामना गर्नु नपरेको स्पष्ट पारिन् ।

कार्यक्रममा जनसचेतन सहकारीका कर्मचारीहरुले संस्थाको कार्यप्रणाली, वित्तीय व्यवस्थापन, सदस्य सेवा तथा दीर्घकालीन योजनाबारे प्रस्तुतीकरण गरेका थिए भने संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठले सहकारीको सफल यात्राबारे अनुभव साझा गरेका थिए ।

अवलोकन भ्रमणपछि मधुवन सहकारीका सञ्चालक तथा कर्मचारीहरुले यस भ्रमणबाट नयाँ ऊर्जा, अनुभव र सकारात्मक सोच प्राप्त भएको बताएका छन् । उनीहरुले सिकेका सकारात्मक अभ्यासहरुलाई व्यवहारमा उतार्दै संस्थालाई अझ व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र सदस्यविश्वासिलो सहकारीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीका बीच मधुवन बचत तथा ऋण सहकारी संस्थाले विगतका उपलब्धि र कमजोरीहरुको समीक्षा गर्दै आगामी दिनमा वित्तीय सुशासन, सदस्य सुरक्षा, उत्पादनमूलक लगानी, युवा सहभागिता तथा डिजिटल सेवामा केन्द्रित दीर्घकालीन रणनीति तयार पार्ने संकेत दिएको छ । संस्थाले “सदस्यको विश्वास नै सहकारीको शक्ति हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै भविष्यमा नमूना सहकारीको पहिचान स्थापित गर्ने लक्ष्य अघि सारेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan