Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महागङ्गा आरतीः साँझलाई बनाउँदै आध्यात्मिक उत्सव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | राजु विश्वकर्मा/रासस
newsabhiyan

जनकपुरधाम, १४ साउनः साँझको ७ः३० बजेको समय । जनकपुरधामस्थित गङ्गासागर पोखरीको किनारमा घाम अस्ताउन लागेपछि वातावरण विस्तारै भक्तिमय बन्दै जान्छ ।

शङ्खध्वनि गुञ्जिन थाल्छ, घण्टनादले परिसर जुञ्जायमान हुन्छ र वैदिक मन्त्रको उच्चारणसँगै दीपको उज्यालो पानीको सतहमा छचल्किन थाल्छ । 

आरती हेर्न गङ्गासागर पुगेका सयौँ श्रद्धालु हात जोडेर भक्तिभावमा मग्न हुन्छन् । कतिपयले दीप प्रज्वलन गरी आरतीमा सहभागी हुन्छन् भने कतिपयले शान्त भावले सम्पूर्ण दृश्यावलोकन गर्दै आध्यात्मिक आनन्द लिन्छन् । 

पछिल्लो समय जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक गङ्गासागर पोखरीको सन्ध्याकालीन महागङ्गा आरती आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षको केन्द्र बन्दै गएको छ ।

प्रत्येक दिन साँझको समयमा हुँदै आएको महागङ्गा आरती हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

विगत १२ वर्षदेखि सञ्चालित महागङ्गा आरतीमा आन्तरिकसँगै छिमेकी मुलुक भारत तथा अन्य मुलुकहरुबाट समेत पर्यटकहरु आउने गरेको ‘सेभ हिस्टोरिकल जनकपुरधाम’का संस्थापक संयोजक तथा मधेस प्रदेशसभाका सभामुख रामाशिष यादवले जानकारी दिनुभयो । 

भारतको बनारस, हरिद्वार, बनारसलगायतका स्थानमा हुने आरतीझैँ महागङ्गा आरती हुने गरेकाले पनि दैनिक महागङ्गा आरती दर्शनका लागि पर्यटकहरुको आगमन बढेको उहाँको भनाइ छ ।

“सुरुसुरुमा थोरै सङ्ख्यामा मात्र पर्यटकहरु आउने गर्नुहुन्थ्यो”, महागङ्गा आरती समितिका अध्यक्ष राजकुमार महासेठले भन्नुहुन्छ, “अहिले महागङ्गा आरती दर्शनका लागि दैनिक ४०० देखि ५०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । विशेष चाडपर्वका बेला त त्योभन्दा बढी नै श्रद्धालुहरु आउँछन् ।”

हरेक साँझ सञ्चालन हुने गङ्गा आरतीमा स्थानीयवासी, आन्तरिक पर्यटक तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरुको सहभागिता बढ्दै गएको छ ।

जानकी मन्दिरको दर्शनपछि गङ्गासागरमा पुगेर आरतीमा सहभागी हुने वा त्यसको अवलोकन गर्ने क्रम बढ्दै जाँदा जनकपुरधामको धार्मिक पर्यटनले पनि नयाँ गति पाएको देखिन्छ ।

गङ्गासागर जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीमध्ये एक हो । जनविश्वासअनुसार यसको धार्मिक महत्व प्राचीनकालदेखि रहिआएको छ ।

यही ऐतिहासिक महत्वलाई थप जीवन्त बनाउने उद्देश्यले नियमित गङ्गा आरती सञ्चालन हुन थालेपछि गङ्गासागर साँझको समयमा श्रद्धा, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकसित भएको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व उपाध्यक्ष अम्बोकुमार साह बताउनुहुन्छ ।

“साँझमा आरती सुरु हुनुभन्दा केही समयअघि नै श्रद्धालुहरू गङ्गासागर परिसरमा जम्मा हुन थाल्छन्”, पूर्वउपाध्यक्ष साह भन्नुहुन्छ, “कोही परिवारसहित आउँछन् भने कोही साथीभाइसँग ।

कतिपय श्रद्धालु भारतको सीतामढी, मधुबनी, दरभङ्गा, सुपौल, मुजफ्फरपुरलगायत क्षेत्रबाट जनकपुरधाम भ्रमणका क्रममा आरती हेर्न आउने गरेका छन् ।” दर्शन गर्न आउनेहरु जानकी मन्दिरको दर्शनपछि साँझ गङ्गासागरमा पुगेर दीप प्रज्ज्वलन गर्नुलाई आफ्नो धार्मिक यात्राको महत्वपूर्ण हिस्सा मान्ने गरेको उहाँको भनाइ छ ।

आरतीका क्रममा शङ्ख, घण्टी, डमरु र वैदिक मन्त्रको सम्मिश्रणले सम्पूर्ण वातावरण आध्यात्मिक बनाउने गर्दछ । दीपको उज्यालोले पोखरीको पानीमा देखिने प्रतिविम्बले उपस्थित सबैलाई आकर्षित गर्छ ।

यही दृश्य कैद गर्न धेरै श्रद्धालु मोबाइल र क्यामेरा बोकेर पुग्ने गरेका छन् । सामाजिक सञ्जालमा गङ्गा आरतीका तस्बिर र भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यसको लोकप्रियता अझ बढेको स्थानीयवासी बताउँछन् ।

धार्मिक अभियन्ता जङ्गबहादुर सिंहका अनुसार गङ्गा आरती कुनै धार्मिक अनुष्ठान मात्र नभई सनातन संस्कृति, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने अभियान पनि हो ।

आरतीमा जात, भाषा, क्षेत्र वा वर्गको विभेद नहुने भएकाले सबै समुदायका मानिस सहजरूपमा सहभागी हुने गरेको उहाँको कथन छ । यसले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई समेत मजबुत बनाएको छ ।

पछिल्लो समय युवापुस्ताको सहभागिता पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ । आधुनिक जीवनशैली र डिजिटल प्रविधिको प्रभावबीच धार्मिक तथा सांस्कृतिक गतिविधिमा युवाको आकर्षण घट्दै गएको चर्चा भइरहेका बेला गङ्गा आरतीले उहाँहरुलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न सफल भएको स्थानीयको अनुभव छ ।

धेरै युवा स्वयंसेवक व्यवस्थापन, सरसफाइ, श्रद्धालुलाई सहयोग तथा सामाजिक सञ्जालमार्फत कार्यक्रमको प्रचारप्रसारमा सक्रिय देखिन्छन् । पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको महागङ्गा आरती जनकपुरधामको आर्थिक सम्बृद्धि र व्यापारिक विकासको माध्यम समेत बनेको स्थानीय व्यापारीहरु बताउँछन् । 

    महागङ्गा आरती जनकपुरधामको समृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा बनेको जनकपुरधामका व्यापारी शम्भु साह बताउनुहुन्छ ।

कुनै बेला फोहरको डङ्गुरका कारण दुर्गन्धित बनेको पवित्र गङ्गा सागर पोखरीको सरसफाइसँगै २०७१ जेठ २५ गतेदेखि सुरु भएको महागङ्गा आरतीले नयाँ रौनकता थपेको उहाँको भनाइ छ ।

पहिलो आरती नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रे तथा ब्रह्माकुमारी राजयोग केन्द्रका सञ्चालिका गङ्गा माताले गर्नुभएको थियो ।

त्यसयता पूर्वराष्ट्रपति डा.रामवरण यादव, भारत विहारका उपमुख्यमन्त्री सुशील मोदी, भारत, अमेरिका, श्रीलङ्का, थाइल्यान्डलगायतका देशका राजदूत, सभामुख, राष्ट्रियसभा अध्यक्ष, न्यायाधीश, प्रहरी र सेनाका उच्च पदाधिकारीहरु पनि गङ्गा आरतीमा सहभागी भइसक्नुभएको छ ।

धार्मिक र सांस्कृतिक इतिहास बोकेको जनकपुरधाममा ‘ग्रिन जनकपुर क्लिन जनकपुर’ अभियानअन्तर्गत गङ्गासागर पोखरीको सरसफाईसँगै महागङ्गा आरती सुरु गरिएको ‘सेभ हिस्टोरिकल जनकपुरधाम’का संस्थापक संयोजक तथा प्रदेशसभाका सभामुख यादव बताउनुहुन्छ ।

“अभियानकै क्रममा जनकपुरका युवा तथा अभियानीहरुको साथ लिएर गङ्गासागर पोखरीको सरसफाई र सौन्दर्यीकरण ग¥यौँ”, सभामुख यादव भन्नुहुन्छ, “पोखरीको सरसफाई गर्न करिब एक वर्ष लाग्यो, त्यसपछि महागङ्गा आरती सुरु गरिएको र अहिले त्यो निरन्तर जारी छ ।”

यस अभियानअन्तर्गत जनकपुरधाम तथा चुरे क्षेत्रमा गरी हालसम्म करिब एक लाखभन्दा बढी बोट बिरुवा रोपिएको उहाँको भनाइ छ । 

सुरुमा बनारसको पुजारीबाट मिथिलाका पुजारीलाई आरतीसम्बन्धी प्रशिक्षण दिई गङ्गासागर पोखरीमा महागङ्गा आरती सुरु गरिएको थियो । सुरुमा एक जना पुजारीबाट मात्र महागङ्गा आरतीमा अहिले तीन जना पुजारीबाट आरती हुँदै आएको छ ।

महागङ्गा आरतीको क्रममा हुने मन्त्रजापले श्रद्धालुहरुलाई थप आकर्षित बनाउने गरेको छ । साहित्यकार डा राजेन्द्र विमलद्वारा लिखित तथा सुनिल मल्लिकद्वारा गायन गरिएको महागङ्गा आरती भजन सुनेर श्रद्धालुहरु थप उत्साहित हुने गरेका छन् । 

जनकपुरधामको गङ्गा आरतीमा गङ्गाको स्तुति मात्र नभई सबै देवीदेवताको मन्त्र जाप हुने गरेकोले यसको विशेष महत्व रहेको महागङ्गा आरती समितिका अध्यक्ष महासेठ बताउनुहुन्छ ।

“पर्यटन व्यवसायीका अनुसार जनकपुरधाम आउने धेरै पर्यटक पहिले दिनमै दर्शन गरेर फर्किने गर्थे”, अध्यक्ष महासेठ भन्नुहुन्छ, “अहिले साँझको गङ्गा आरती हेर्नका लागि धेरैले आफ्नो बसाई लम्ब्याउन थालेका छन्, यसले होटलको ‘अकुपेन्सी’ बढेको छ ।”

धार्मिक पर्यटनका जानकार सरोज कर्णका अनुसार गङ्गा आरतीलाई जनकपुरधामको ‘साँझको सांस्कृतिक पहिचान’ का रूपमा विकास गर्न सकिने सम्भावना छ ।

भारतका वाराणसी, हरिद्वार र उज्जैनजस्ता धार्मिक सहरमा नियमित आरतीले अन्तरराष्ट्रियस्तरको पर्यटन आकर्षित गरेझैँ जनकपुरधाममा पनि योजनाबद्ध प्रवर्द्धन गर्नसके धार्मिक पर्यटनले थप उचाई लिन सक्ने उहाँहरूको धारणा छ ।

त्यसका लागि पूर्वाधार विस्तार, व्यवस्थित व्यवस्थापन, नियमित प्रचारप्रसार र पर्यटकमैत्री सेवा आवश्यक रहेको स्थानीय बुद्धिजीवी कर्ण बताउनुहुन्छ ।

गङ्गासागर परिसरको सौन्दर्यीकरण, सरसफाइ, प्रकाश व्यवस्था, बस्ने स्थान, शौचालय, पार्किङ, सुरक्षा तथा सूचना केन्द्रको व्यवस्थापनमा थप सुधार गर्नसके श्रद्धालु र पर्यटकको अनुभव अझ प्रभावकारी बन्ने स्थानीयवासीको सुझाव छ । विशेषगरी ठूलो भीड हुने दिनमा स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन र स्वास्थ्य सहायता केन्द्र सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

जनकपुरधाम वर्षभरि विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वले जीवन्त रहने सहर हो । रामनवमी, विवाहपञ्चमी, छठ, होली, झिझिया, सामाचकेवालगायतका पर्वले यहाँको सांस्कृतिक विविधतालाई झल्काउँछन् ।

गङ्गा आरतीले ती परम्परागत पर्वबाहेक दैनिक रूपमा धार्मिक गतिविधिको निरन्तरता दिएको छ । यसले जनकपुरधामलाई पर्वका बेला मात्र होइन, हरेक दिन पुग्न सकिने धार्मिक गन्तव्यका रूपमा परिचित गराउन सहयोग पु¥याएको छ ।

गङ्गा आरतीमा सहभागी हुँदा मनमा शान्ति, सकारात्मक ऊर्जा र आध्यात्मिक सन्तुष्टि प्राप्त हुने अनुभूति हुने गरेको नियमित गङ्गा आरतीमा सहभागी हुँदै आउनुभएका पङ्कज महतो बताउनुहुन्छ । दैनिक जीवनको व्यस्तता र तनावबाट केही समय अलग भएर धार्मिक वातावरणमा बिताउने अवसरका रूपमा पनि धेरैले यसलाई लिने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan