देवानगञ्ज घटनाको प्रभाव मधेशभरि : जनकपुर, गोलबजार र देवानगञ्जमा कर्फ्यु, सिरहामा सेना परिचालन, प्रहरीको गोलीबाट एकको मृत्यु
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेशका विभिन्न जिल्लामा फैलिएको छ। बढ्दो तनावलाई नियन्त्रणमा लिन धनुषाको जनकपुर, सिराहाको गोलबजार र लहान तथा सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
सिरहामा कर्फ्युका बाबजुद प्रदर्शन जारी रहेपछि र प्रदर्शनकारी तथा सुरक्षा निकायबीच झडप चर्किएपछि नेपाली सेना परिचालन गरिएको छ। लहान र गोलबजार क्षेत्रमा नेपाली सेना ब्यारेकबाट निस्केर सुरक्षा व्यवस्थामा खटिएको छ।
दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप हुँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। भीड नियन्त्रणका लागि चेतावनीस्वरूप हवाई फायरसमेत गरिएको सुरक्षा स्रोतले जनाएको छ।
यसक्रममा सिरहाको गोलबजारमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार गोली लागेर अर्का एक जना घाइते भएका छन्, जसको घाँटीमा गोली लागेको बताइएको छ। मृतक र घाइते दुवैको परिचय खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।
स्थिति थप जटिल बनेपछि जिल्ला प्रशासन कार्यालय, सिरहाले लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू रहनेछ।
यसअघि गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिम चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ सम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। त्यसपछि प्रशासनले लहान नगरपालिकाको पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम क्षेत्र) र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ ५०० मिटर क्षेत्रसम्म कर्फ्यु विस्तार गरेको जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि धार्मिक तथा साम्प्रदायिक संवेदनशीलता बढ्न सक्ने आकलन गर्दै मधेश प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
