‘हेमजा साहित्य राष्ट्रिय पुरस्कार’ श्रेष्ठलाई
गण्डकी, ४ साउनः पोखराका कवि एवं कलाकार रमेश श्रेष्ठलाई ‘हेमजा साहित्य राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । हेमजा साहित्य प्रतिष्ठानमा स्थापित उक्त पुरस्कार यही साउन ८ गते आयोजना हुने समारोहमा श्रेष्ठलाई प्रदान गरिनेछ ।
कृष्णप्रसाद पौडेल संयोजक रहेको प्रतिभा चयन समितिले पुरस्कारका लागि उहाँलाई सिफारिस गरेको हो । श्रेष्ठ कला र साहित्य साधनासँगै संस्कृति संरक्षणमा सक्रिय हुनुहुन्छ ।
लोकनृत्य, गाईजात्रा, बाघजात्रा, भैरवनृत्य संरक्षणमा सक्रिय उहाँका दर्जन बढी कविता कृति प्रकाशित छन् । प्रतिष्ठानले प्रदान गर्ने ‘शुभप्रभात काव्यमाला पुरस्कार’ गन्धर्व सारङ्गी पाठशाला, हेमजालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कार पहिलोपटक प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष सुनील गायकले जानकारी दिनुभयो ।
