कांग्रेस ८४ स्थानमा उपविजेता, यी कांग्रेसबाट समानुपातिक सांसद बन्दै !
काठमाडौं, १ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले नेपालको परम्परागत राजनीतिक समीकरणलाई पूर्ण रूपमा उल्ट्याइदिए पनि चार वर्षअघि मात्र स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक गरी झन्डै दुई तिहाइ अर्थात् १८२ सिट जितेर अभूतपूर्व सफलता हासिल गर्दा देशकै पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस भने ३८ सिटमा सीमित हुन पुगेको छ ।
लामो इतिहास, संगठनात्मक संरचना र देशव्यापी प्रभाव भएको पार्टी, अपेक्षाभन्दा निकै कमजोर अवस्थामा पुग्नुले मतदाताको मनोविज्ञानमा गहिरो परिवर्तन आएको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
यद्यपि नतिजा सतहमा देखिएजस्तो एकतर्फी भने छैन । कांग्रेस ८४ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा रहनु स्वयंमा महत्वपूर्ण तथ्य हो ।
यसले कांग्रेसको जनाधार पूर्ण रूपमा समाप्त नभएको, बरु धेरै स्थानमा कडा प्रतिस्पर्धामा पराजित भएको संकेत गरेको एक विश्लेषकले बताए ।
१६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले प्रत्यक्षतर्फ मात्र १८ सिट जिते पनि ठूलो संख्यामा दोस्रो स्थानमा रहनुले आगामी राजनीतिक प्रतिस्पर्धामा पुनरुत्थानको सम्भावना बांकी रहेको र मतदाताले कांग्रेसलाई पूर्ण रूपमा अस्वीकार गरेको भन्दा पनि विकल्प खोज्ने मनोवृत्ति बलियो बनेको संकेत यस परिणामले दिएको विश्लेषको भनाइ छ ।
निर्वाचनपछि कांग्रेयमित्रको आन्तरिक राजनीति पनि तीव्र रूपमा सतहमा आएको छ । निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले चुनावी पराजयलाई आधार बनाएर पार्टीभित्र आफ्नो प्रभाव पुनः स्थापित गर्ने प्रयास गरिरहेका छन् भने केही नेताहरूले शीर्ष नेतृत्वकै निष्क्रियता पराजयको मुख्य कारण भएको बताउदै आएका छन् ।
विशेषगरी देउवा चुनावअघि नै सिंगापुर गएको र मतदानका दिन पनि फर्केर नआएको विषयले पार्टीभित्र असन्तोषलाई थप चर्काएको छ । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रकाशमान सिंहजस्ता नेताहरू चुनावी अभियानमा अपेक्षाअनुसार सक्रिय नदेखिएको आरोपले पनि नेतृत्वप्रति प्रश्न उठाएको छ ।
प्रदेशगत परिणाम हेर्दा पनि कांग्रेसको अवस्था मिश्रित नै छ । कोशी प्रदेशमा चार सिट जितेर केही राहत पाएको कांग्रेस मधेस र बागमतीजस्ता महत्वपूर्ण प्रदेशमा भने निकै कमजोर बन्न पुगेको छ भने मधेसका ३२ क्षेत्र मध्य मात्र एक सिटमा जित निकालेको छ ।
यसैगरी बागमतीमा पनि एक सिटमै सीमित हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने कांग्रेसले सीमित भए पनि उपस्थिति कायम राख्न सकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तीव्र उभारले पुराना दलहरूलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ भने कांग्रेसका लागि यो परिणाम चेतावनी र अवसर दुवै बन्न सक्ने नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले बताइन् ।
उनले ८४ क्षेत्रमा दोस्रो स्थान हासिल गरेको तथ्यलाई संगठन सुदृढीकरण र नेतृत्व पुनर्संरचनाको आधार बनाउन सके कांग्रेस पुनः सशक्त बन्न बताइन् ।
यी कांग्रेसबाट समानुपातिक सांसद बन्दै !
नेपाली कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोट आज आइतबार हुने भएको छ । निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएका दलले पाउने सांसदको सिट संख्या तोकेपछि कांग्रेसले सांसद छनोट गर्न आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार २० जनामा निर्वाचन आयोगले क्लस्टर छुट्याएर पठाएको छ । कांग्रेसले समानुपातिकबाट पाएको २० सिटमा बन्द सूचीबाट १५ जना महिला पठाउनपर्नेछ ।
आयोगले कांग्रेसलाई खस-आर्य र आदिवासी जनजातिबाट ६-६ जना पठाउने भनेको छ भने मधेसी र दलितबाट ३-३ जना समेट्न भनेको छ । थारू र मुस्लिममा एक-एकजना उम्मेदवारको नाम बन्दसूचीबाट छान्न आयोगले कांग्रेसलाई पठाएको पत्रमा उल्लेख छ ।
जसमा एकजना पिछडिएको क्षेत्रमा समेट्नुपर्नेछ । दुलालका अनुसार कांग्रेसको बन्दसूचीमा पिछडिएको क्षेत्रका दुईजना महिला र दुईजना पुरुषको नाम छ । उनीहरू ४ जनामध्ये एकजनाको नाम छानिने छ ।
विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन् ।
खस आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया (उर्मिला) र गंगा शाही सांसद बन्ने सम्भावना बलियो देखिएको छ।
यस्तै, खसआर्य पुरुषतर्फ एक नम्बरमा रहेका अर्जुननरसिंह केसी सांसद हुनेछन् । केसी नेपाली कांग्रेसका पाका नेता पनि भएकाले उनलाई संसदीय दलको नेता बनाउने गरी सदनमा लैजानुपर्ने आवाज पनि कांग्रेसवृत्तमा उठेको छ ।
आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको सम्भावना बलियो छ भने मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव आउन सक्नेछन् ।
दलितबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली निर्वाचित हुने सम्भावना छ । थारूबाट निर्वाचित हुनेमा एकजना प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट निर्वाचित हुनेमा एकजना शाहजान खातुन छन् ।
आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिन समय दिएर पत्राचार गरिसकेको छ ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ ।
सरासर प्रक्रिया अघि बढेमा मंगलबारसम्ममा आयोगले समानुपातिकबाट निर्वाचित भएकाहरूको पनि घोषणा गर्दै अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि सांसदहरूको शपथग्रहण गराएर नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने छ । देशान्तर साप्ताहिकबाट ।
