Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुद्ध जन्मेको देशमा विवेकको खडेरी !

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार | बाबुराम श्रेष्ठ
newsabhiyan

समय नदीजस्तै हो—बगिरहन्छ, बदलिरहन्छ। हुलाकको चिठी र आकाशवाणीको आवाजबाट आज हामी क्षणभरमै संसारको एक कुनाको खबर अर्को कुनामा पुर्‍याउने युगमा आइपुगेका छौं। तर प्रश्न यहीँनेर उभिएको छ—हाम्रो प्रविधि जति आधुनिक भयो, हाम्रो विवेक त्यति नै आधुनिक भयो त ?

जेनजी युवाको बलिदानदेखि सरकारी अस्पतालको गेटबाहिर सुत्केरी हुन बाध्य गरिब महिलासम्मका घटनाले हाम्रो सामाजिक संवेदनाको ऐना देखाएका छन्। विपद्मा आफन्त खोज्ने पीडितलाई गाली गर्ने सामाजिक सञ्जाल, दुर्घटनामा घाइतेको उद्धार गर्नुभन्दा मोबाइलको क्यामेरा तेर्स्याउने हात, ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहार र अपुष्ट सूचनाबाट हुने चरित्रहत्या—यी केवल घटना होइनन्, हाम्रो सामूहिक चेतनाका चिरा हुन्।

संसद्मा संवाद कमजोर हुँदैछ, समाजमा सहिष्णुता हराउँदैछ र स्वार्थले विवेकलाई ढाक्दैछ। एआईले सूचना छिटो बनाइदिएको छ, तर सत्य र असत्य छुट्याउने जिम्मेवारी अझै मानिसकै हो।

समस्या राज्यको मात्र होइन; हाम्रो मौनता पनि यसको साझेदार हो। परिवार संस्कारको पहिलो पाठशाला हो। बालबालिकालाई अनुशासन, करुणा, कर्तव्य र कृतज्ञता सिकाउनैपर्छ।

विद्यमान नेपाली समाजको संक्षिप्त विवेचना र भावी कार्यदिशा
प्राचीन ग्रीसका परिवर्तन र गतिशीलताका दार्शनिक हेराक्लिटस (Heraclitus) ले कुनै बेला भन्नुभएको थियो—संसारमा कुनै चीज स्थायी छ भने त्यो स्थायी चीज केवल “परिवर्तन” मात्र हो।

त्यसैले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कुनै पनि देश, समाज, परिवार र व्यक्ति स्वयं राजनीतिक, सांस्कृतिक, शैक्षिक, प्रविधि, वैचारिक तथा सामाजिक क्षेत्रमा केही न केही परिवर्तन भइरहन्छ। तर विडम्बनाको कुरा, हाम्रो देश नेपालमा सामाजिक क्षेत्रमा यसरी परिवर्तन भयो कि अहिले त्यो चिन्ताको विषय बनेको छ।

यातायात र प्रविधिको विकास नहुँदा कुनै बेला नेपालमा सूचना प्रवाह गर्नुपर्दा महिनौं लाग्थ्यो। हुलाक र आकाशवाणीबाट मात्र सूचना आदानप्रदान गरिन्थ्यो। आधुनिक प्रविधिको विकास भएसँगै वर्षौं र महिनौं लाग्ने सूचना अहिले क्षणभरमै श्रव्यदृश्य सामग्री र प्रत्यक्ष प्रसारणका रूपमा संसारभर पुग्न सक्ने गरी परिवर्तन भएको छ। नागरिकको गतिशीलता पनि यसरी नै परिवर्तनशील छ, जुन समाज परिवर्तनको सन्दर्भमा चुनौती बन्दै गएको छ।

सामाजिक स्खलनका केही प्रमुख घटनाहरूः

कुनै बेला हाम्रो नेपाली समाज एक ढिक्कामा बाँधिएको थियो र अनुकरणीय सामाजिक एकता थियो। विभिन्न विद्वान् तथा संस्थाहरूले यसलाई विश्वास, सामाजिक समावेशीकरण, सहभागिता, साझा पहिचान, सामाजिक सम्बन्ध, समानता, ऐक्यबद्धता र राज्य–नागरिक सम्बन्धजस्ता आयामहरूबाट व्याख्या गरेका छन्। 

UNDP ले सामाजिक एकतालाई समाजभित्रका व्यक्ति तथा समूहबीचको सम्बन्ध र नागरिक तथा राज्यका संस्थाबीचको सम्बन्ध दुवैसँग जोडेको छ। तर अहिले हाम्रो समाजमा यी सिद्धान्तहरू व्यावहारिक रूपमा अङ्गीकार गरिएको पाइँदैन। एकअर्कालाई उछिन्ने र पछार्ने क्रममा सामाजिक मूल्य–मान्यताहरू धराशायी हुँदै गएको पाइन्छ। एक वर्षको अन्तरालमा मात्रै यस किसिमका बग्रेल्ती उदाहरणहरूले हामीलाई गिज्याइरहेका छन्।

घटना नं. १ — गत साल २०८२ भाद्र २३–२४ मा नेपालको सकारात्मक राजनीतिक परिवर्तनका लागि खाऊँ–लाऊँ भन्ने उमेरका जेनजी युवाहरूले प्राण आहुति दिए। उहाँहरूको सम्झना र सम्मानमा सरकारी ढुकुटी खर्च गरेर बनाइएको शालिक अनावरण/उद्घाटन कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू जानु हुँदा जेनजी शहीद र शालिकको अनुहार मिलेन भनेर कार्यक्रम रद्द गरिएको सूचना सम्प्रेषण भयो। यो घटनालाई जिम्मेवार निकायहरूको केटाकेटीपनका रूपमा मात्रै होइन, अत्यन्त गैरजिम्मेवार र घातक प्रवृत्तिका रूपमा परिभाषित गर्न सकिन्छ। स्रोत र साधनको दुरुपयोग मात्रै होइन, यो शहीदहरूप्रतिको घोर अपमान हो। यो सामाजिक स्खलनको एक चरम उदाहरण हो।

घटना नं. २ — २०८३ भाद्र २४ गते राति, निजी अस्पताल होइन, राजविराजस्थित सरकारी अस्पतालमा नै पैसा जम्मा गर्न नसकेको कारण देखाएर प्रसव पीडामा छटपटाइरहेकी एक गरिब महिलालाई भर्ना नगरी अस्पताल प्रशासनले अस्पताल नजिकै खुला सडकमा मध्यरातमा बच्चा जन्माउन बाध्य बनाउँछ। धन्य, भगवान्को कृपाले बच्चा र आमालाई केही भएन। 

यस्तो अमानवीय व्यवहार संसारमा अरू हुन सक्छ? अझै यसको भोलिपल्ट प्रतिनिधिसभाका जननिर्वाचित, डाक्टर उपाधि गुथ्नुभएका “माननीय” सांसदले “यो घटना सरकारलाई असफल बनाउन महिला प्रयोग हुनसक्ने” आशयको अभिव्यक्ति खुलमखुला दिनुहुँदा नेपाली समाजमा रहेको अमानवीय मनोविज्ञानलाई स्पष्ट रूपमा उजागर गर्दछ। अलिकति मात्र विवेक भएको कुनै पनि व्यक्तिले यति साह्रो तल्लो स्तरको बोली बोल्न सक्छ भन्ने यस पङ्क्तिकारले कल्पना पनि गरेको थिएन।

घटना नं. ३ — भाद्र १० गतेको अकल्पनीय र विध्वंसकारी भोटेकोशीको बाढीले कयौं बस्तीहरू मात्र उजाड बनाएन, कयौं परिवारको वंश विनाश गर्‍यो, जिन्दगीभरको कमाइ एकै निमेषमा स्वाहा भयो, कति मानिसहरू सुरुङभित्र थुनिन पुगे, कति मानिसहरू हराए, देशलाई पचासौं वर्ष पछाडि धकेल्यो। यस्तो त्रासदीपूर्ण अवस्थामा बाढीपीडित जनसमुदायको पीडामा मल्हम लगाउनु त कता हो कता, आफ्नो श्रीमान् वा परिवारका सदस्यहरूको उद्धार गर्न/खोजी गरिदिन अनुरोध गर्दा समाजमा भन्न/देखाउन पनि नसकिने अपाच्य भाषाहरू प्रयोग गरेर सामाजिक सञ्जालमा गालीगलौज गर्ने झुण्डहरूले यो समाज कुन दिशातर्फ गइरहेको छ भन्ने कुराको यथार्थ चित्रण गर्दछ।

घटना नं. ४ — तीन वर्षे बालिका गरिमाको बलात्कारपश्चात् हत्या हुन्छ र सामाजिक सञ्जालमा प्राप्त जानकारीअनुसार यो कार्यमा संलग्न रहेको स्वीकारोक्ति दिने व्यक्तिलाई केही रकम धरौटी बुझाएर तारिखमा रिहा गरिन्छ। भलै यो सम्मानित अदालत र कानुनी प्रक्रियासँग सम्बद्ध विषय हो, यद्यपि यदि यो सूचना सत्य हो भने, अबोध नाबालिकाको जीवन र इज्जतसँग खेलवाड गर्ने यो जस्तो अमानवीय घटना अरू कुनै हुन सक्छ र?

केही अन्य घटनाहरू

जानकारीमा नआएका अनगिन्ती घटनाहरू छन् हाम्रो समाजमा। ज्येष्ठ नागरिकहरूको पटक्कै सम्मान छैन। सार्वजनिक यातायातमा यात्रा गर्दा समेत बुढाबुढीहरूमाथि अभद्र व्यवहार गरेको, पिटेको फुटेजहरू देख्न पाएका छौं।

आजकालका युवा पुस्ताका छोराछोरीहरूलाई सरकारी सेवामा कार्यरत आफ्ना बाबुआमा कुन कार्यालयमा काम गर्नुहुन्छ, उहाँहरूको पद/नियुक्ति के हो, केही थाहा हुँदैन। सामाजिक कार्यहरूमा अधिकांश युवाहरूको सहभागिता असाध्यै न्यून छ। माइतीघरमा देखिने भीड राष्ट्र निर्माणको कार्यमा बिरलै उपस्थित हुने गरेको छ।

सडक दुर्घटनामा कुनै व्यक्ति रगताम्य भएर मृत्युसँग संघर्ष गरिरहँदा फोटो र भिडियो खिच्ने व्यक्तिहरूको कमी हुँदैन, तर उद्धार गर्ने कोही देखिँदैनन्। जेब्रा क्रसिङमा बाटो काट्ने पैदलयात्रीहरूका लागि कुनै चारपाङ्ग्रे/दुईपाङ्ग्रे सवारीसाधनहरू रोकिँदैनन्। 

त्यसैगरी पैदलयात्रीहरू पनि जेब्रा क्रसिङमा रातो बत्ती बल्दा पनि जबरजस्ती बाटो काट्नमै उद्यत देखिन्छन्, नजिकैको आकाशे पुल प्रयोग गर्न अल्छी मान्छन्।
पसलमा जथाभावी मूल्य तोकिएका छन्, खाद्य पदार्थमा मिसावट र तरकारीमा विषादीको प्रयोगको त कुरा गर्नै परेन। अत्यावश्यक औषधिहरूमा जथाभावी मूल्य तोकिएका छन्/बिक्री–वितरण भइरहेका छन्, कालोबजारीको के कुरा गर्नु र!
नेपाली प्रहरीबाट प्रकाशित बैंकिङ चोरी/ठगी तथा साइबर बुलिङका तथ्याङ्कले आङ नै जिरिङ्ग हुन्छ। कसैले कसैको अस्तित्व स्वीकार गरेको अवस्था छैन। 

अस्पतालमा डाक्टर र नर्सहरू कुटिन्छन्, त्यसैगरी स्कुलमा पढाउने शिक्षक–शिक्षिकाहरू पनि कुटिन्छन्। बिना प्रमाण पत्रपत्रिका र सामाजिक सञ्जालमा आफूलाई मन नपरेका मानिसहरूको सत्तोसराप र चरित्रहत्या गर्ने घटनाहरू त मामुली बनिसकेका छन्। एआईबाट निर्मित र कपोलकल्पित असत्य सूचना र अफवाहहरूले सामाजिक सञ्जालका भित्ता रङ्गिएका छन्। मूलधारका सञ्चारमाध्यमहरूभन्दा भाइरल बनेर डलर झार्न मरिमेट्ने युट्युब सञ्चारगृहहरूको बिगबिगी छ।

कानुनी बाटो अपनाउनुको सट्टा आपत्–विपद्मा राष्ट्र र जनताका लागि निःस्वार्थ सेवा गर्ने सुरक्षा निकायहरू र यी संस्थाका नेतृत्वमाथि नेताहरू, विद्वान् एवं जिम्मेवार व्यक्तिहरूले खुलेआम विषवमन/मानमर्दन गर्नु मामुली घटना बनिसकेको छ। यस्ता विषयहरूमा सरोकारवाला निकायहरूबाट कुनै खण्डन हुँदैन, गरिँदैन।

दुःखका साथ भन्नुपर्छ, सम्मानित संसद् एकअर्कालाई गाली गर्ने र दोषारोपण गर्ने, साथै वाक्युद्ध मात्र होइन, मल्लयुद्ध गर्ने स्थलजस्तो बन्न पुगेको आभास हुन्छ। जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने निहुँमा सैनिकसँग मिल्ने पोशाक र दर्ज्यानी चिह्नसहितका “ग्रीन आर्मी” बनाउन जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूले आँखा चिम्लेर स्वीकृति दिन्छन्।

काँधभरि फुली धारण गरेका व्यक्ति र राष्ट्रिय सुरक्षाका विज्ञहरूले राष्ट्रिय सुरक्षामा चुनौती हुने यस्ता कार्यहरूको स्वीकृति कसरी दिन सक्छन्, कल्पना पनि गर्न सकिँदैन।

कुनै बेला सडकमा/ठेलागाडामा व्यापार गर्ने गरिब–निमुखाहरूको अनुनय–विनयलाई लत्याउँदै सामान छरपस्ट फाल्दै गर्दा वा जफत गर्दै गर्दा, कति दुःख झेलेर जङ्गलबाट टिपेर ल्याएको काफल बेच्ने किसानको डोकाको काफल सडकभरि पोखाउँदै गर्दा यही समाजले ताली बजाएर ती कार्यहरूलाई अनुमोदन गरेकै हो।

सुकुम्बासीहरूलाई हठात् खुला आकाशमुनि बस्न बाध्य पार्दा पनि यो समाज रमिते बनेर हेरेकै हो। यति मात्र होइन, सामाजिक एकतालाई कुठाराघात पार्ने/पारेका यस्ता सामाजिक घटनाहरू समाजमा बग्रेल्ती छन्।

अन्तर्यः

हाम्रो सामाजिक परिवेश र समाज अवश्य पनि सही दिशातर्फ उन्मुख छैन। हाम्रो समाजले हरेक विषय र मुद्दाहरूलाई राजनीति, सम्पत्ति, व्यापार र प्रतिष्ठासँग जोडेको छ। समाजले दिल खोलेर सही कार्यलाई सही र गलत कार्यलाई गलत भन्न सकिरहेको छैन। आफ्नो स्वार्थसिद्धिका लागि हाम्रो समाज मौन बसेको छ र यही मौनताले नै सम्पूर्ण कुराहरूको अनुमोदन गर्दै आएको छ।

हाम्रा सन्तानलाई हामी अभिभावकहरूले पारिवारिक दायित्व, सामाजिक दायित्व र राष्ट्रका लागि नागरिक दायित्व सिकाउनबाट चुक्यौं र अझै पनि चुकिरहेका छौं। यही कार्यको परिणाम हामीले अहिले भोग्नु परिरहेको छ। आफूलाई नपरेसम्म अरूको दुःख हामीलाई दुख्दैन। यस किसिमको संवेदनाविहीनतालाई आँखा चिम्लिदियौं भने भविष्यमा यसले अझै विकराल रूप लिनेछ।

अबको कार्यदिशाः

हामी नागरिकले चाहेको राज्य—रामराज्यजस्तै हो, जहाँ सबैको अस्तित्व स्वीकार्य होस्, न्याय र समानता होस्, शान्ति–सुरक्षा होस्, नागरिकप्रेमी र नैतिक शासक होस्, समृद्धि र सुख होस्, धर्म र कर्तव्यको पालना होस्, सद्भाव र भ्रातृत्व होस्, समग्रमा जनताको आवाजको कदर (लोकतन्त्रको जग) होस्।
नेपाली समाजमा व्याप्त हुँदै गएको यो डरलाग्दो अवस्था अत्यन्त संवेदनशील विषय हो। हामी हरेक तह–तप्काका व्यक्तिहरूले यसलाई बेलैमा ध्यान दिएनौं भने नेपालको समग्र भविष्य अन्धकारमय छ। सरकारी र गैरसरकारी तवरबाट यो अवस्था किन आइरहेको छ भन्नेबारे अनुसन्धानकर्ताहरूबाट शोधकार्य/अनुसन्धान हुन अत्यन्त जरुरी छ। यो समस्या बहुआयामिक समस्या हो।

र अन्त्यमा,

बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल परेको र पर्दै गएको तीतो सत्य हो। हरेक नागरिकले नागरिक दायित्व निभाउनुको विकल्प छैन। विशेष गरी युवा पुस्ताले देशको माटो, संस्कृति, भूगोल र इतिहासको राम्ररी अध्ययन गरी अग्रजहरूको ज्ञान र अनुभवलाई अङ्गीकार गर्दै आफ्नो नेतृत्व क्षमताको अभिवृद्धि गर्नु आजको आवश्यकता हो।

विपद्को समयमा उद्धार कार्यमा आफ्नो ज्यान हत्केलामा राखेर कर्तव्यपालना गर्ने सुरक्षा फौजहरूका विरुद्धमा कुर्लने र आपत्–विपद् परेको बेलामा टर्च बालेर खोज्दा पनि नभेटिने डिग्रीधारी विद्वान् र राजनेताहरू सबैजना सकारात्मक रूपमा समाजलाई सही दिशामा डोर्‍याउने गरी लाग्न जरुरी छ।

नेपालको राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा देशको समुन्नतिको मूल आधार हो। बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय नेपालीहरूलाई एकताबद्ध गरेर लैजानु नै आजको प्राथमिकता हो। बालबालिकाहरूको अनुशासन, संस्कार र उत्तरदायित्व सिक्ने सबैभन्दा उत्तम पाठशाला भनेको परिवार नै हो। 

समग्रमा शान्ति–संस्कृति र कृतज्ञता–संस्कृतिको अवलम्बन गरेर मात्र हाम्रो समाज सही दिशातर्फ उन्मुख हुन सक्छ।समस्या केवल सरकार वा कुनै एउटा पुस्ताको होइन; यो हाम्रो सामूहिक मौनताको परिणाम हो। परिवार संस्कारको पहिलो पाठशाला हो। 

नागरिक दायित्व, अनुशासन, सहिष्णुता,नैतिकरुपमा नागरिक शिक्षा र कृतज्ञता सिकाउन अब ढिला गर्नु हुँदैन।समाज बचाउने पहिलो जिम्मेवारी राज्यको मात्र होइन—हरेक नागरिकको हो।

(लेखक श्रेष्ठ नेपाली सेनाका पूर्व उपरथी साथै समाजशास्त्र, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनिति, ईञ्जिनियरिङ्ग का बिद्यार्थी तथा द्वन्द्व, शान्ति र विकाश बिषयका शोधकर्ता पनि हुनुहुन्छ) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan