इयु प्रमुखद्वारा क्यानडालाई ‘सहयोगी सदस्य’ बनाउन प्रस्ताव
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले क्यानडालाई युरोपेली सङ्घ (इयु)को पहिलो ‘सहयोगी सदस्य’ बनाउने सम्भावना अघि सार्दै प्रविधि, रक्षा र ऊर्जालगायत क्षेत्रमा ओटावासँग थप घनिष्ठ सहकार्यको प्रस्ताव गर्नुभएको छ ।
भोन डेर लेयनले बुधबार स्ट्रासबर्गमा युरोपेली संसदलाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय नियममा आधारित व्यवस्थामा देखिएको भङ्गकाबीच लोकतान्त्रिक मुलुकले ब्रसेल्स र ओटावाबीचको सम्बन्ध थप सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
“म क्यानडालाई इयुको पहिलो सहयोगी सदस्य बन्ने ढोका खोल्न तपाईंसँग काम गर्न चाहन्छु,” उहाँले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै भन्नुभयो । कार्नी उहाँको वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा संसदमा उपस्थित हुनुहुन्थ्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकासँगको सम्बन्धमा तनाव बढिरहेका बेला कार्नीले इयुसँगको सम्बन्धलाई थप नजिक बनाउँदै आउनुभएको छ । कार्नी इयुको वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनमा सहभागी हुने पहिलो विदेशी सरकार प्रमुखसमेत बन्नुभएको छ ।
अर्को महिना मोन्ट्रियलमा हुने इयु–क्यानडा शिखर सम्मेलनअघि कार्नीको युरोप भ्रमणलाई दुई पक्षबीचको सम्बन्ध थप विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
भोन डेर लेयनले व्यापारमा केन्द्रित सहकार्यलाई फराकिलो बनाएर भविष्यका लागि गठबन्धन निर्माण गर्ने र क्यानडासँगको सम्बन्धलाई सम्भव भएसम्म उच्चतमस्तरमा पु¥याउने समय आएको बताउनुभयो ।
“हामी स्मार्ट उत्पादनमा काम गर्नेछौँ । हामी प्राविधिक गठबन्धन निर्माण गर्नेछौँ । हामी रक्षा औद्योगिक आधारलाई एकीकृत गर्नेछौँ,” उहाँले भन्नुभयो । लेयनले आर्कटिक क्षेत्रलाई पनि इयु र क्यानडाबीचको प्रमुख संयुक्त परियोजना बनाउनुपर्ने बताउनुभयो ।
उहाँले ऊर्जा, महत्वपूर्ण खनिज, ब्याट्री, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा तथा आर्थिक सुरक्षालाई पनि सहकार्यका प्राथमिक क्षेत्रका रूपमा उल्लेख गर्नुभयो ।“यो साझेदारी अरू कसैको विरुद्धमा होइन, हाम्रो साझा सुदृढीकरणका लागि हो,” उहाँले भन्नुभयो ।
इयुका सन्धिमा ‘सहयोगी सदस्य’को दर्जाको औपचारिक व्यवस्था छैन । यद्यपि, जर्मन चान्सलर फ्रेडरिक मर्जले यसै वर्ष युक्रेनका लागि पहिलोपटक यस्तो अवधारणा अघि सार्नुभएको थियो ।
पूर्ण सदस्यताका लागि प्रयासरत युक्रेनमा भने उक्त योजनाप्रति चिसो प्रतिक्रिया देखिएको थियो । प्रस्तावित व्यवस्थाअन्तर्गत युक्रेनलाई इयुका शिखर सम्मेलनमा सहभागी हुन र युरोपेली आयोगमा प्रतिनिधि राख्न अनुमति दिने तथा पूर्ण मतदान अधिकारबिनै इयुको बजेटको केही हिस्साबाट लाभ लिन सक्ने व्यवस्था रहने परिकल्पना गरिएको थियो ।
अमेरिकी भन्सार महसुल तथा चीनबाट बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेका इयु र क्यानडाबीच यसअघि नै व्यापार तथा अन्य क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
सन् २०१६ मा हस्ताक्षर भएको व्यापक आर्थिक तथा व्यापार सम्झौताले दुई पक्षबीचका अधिकांश वस्तुमा भन्सार महसुल हटाएको छ । उक्त सम्झौतापछि वस्तु तथा सेवाको व्यापारमा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको बताइएको छ ।
यसै वर्ष क्यानडा इयुको रक्षा क्षेत्रमा ऋण उपलब्ध गराउने प्रमुख कार्यक्रममा सहभागी हुने पहिलो गैर–इयु मुलुक बनेको छ ।
“हाम्रो विश्वास छ, शक्ति सबैभन्दा शक्तिशाली, धनी वा सबैभन्दा ठूलो स्वरमा बोल्नेको हातमा मात्र हुँदैन, यो हामी सबैको हो,” भोन डेर लेयनले भन्नुभयो ।“लोकतान्त्रमा कुन मुलुसँग सहकार्य गर्ने भन्ने छनोट गर्ने स्वतन्त्रता हुन्छ । त्यसैले हामी स्वेच्छाले एकजुट हुँदैछौँ,” उहाँले थप्नुभयो ।
