Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शहीदलाई सम्झिने हो भने अब देशको संस्कार बदलौं

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार | बिष्णु घिमिरे
newsabhiyan

काठमाडौं । देश बदल्ने सपना देखेर सडकमा उत्रिएका कलिला युवाहरूको बलिदानलाई आज हामी सम्झिरहेका छौँ ।

समय बित्दै जान्छ । दिन महिना हुन्छ, महिना वर्ष हुन्छ र वर्ष दशकमा बदलिन्छ । तर, इतिहासका केही घटनाको महत्व समयसँगै घट्दैन, बरु त्यसले समाजलाई पटक–पटक एउटा प्रश्न सोधिरहन्छ—जसका लागि मानिसहरूले ज्यान दिए, त्यो देश साँच्चिकै बदलियो त ?

सुशासन, स्थिरता, भ्रष्टाचारविरुद्धको अभियान, जवाफदेहिता र राम्रो भविष्यको माग गर्दै भएको जेन–जी आन्दोलनले नेपाली राजनीतिलाई ठूलो धक्का दियो । त्यस क्रममा ज्यान गुमाउनेहरू केवल एउटा पुस्ताका सदस्य थिएनन्, उनीहरू परिवर्तनको आकांक्षाका प्रतीक बने ।

उनीहरूको बलिदानलाई केवल एउटा दिवस, श्रद्धाञ्जलीसभा वा सामाजिक सञ्जालको केही शब्दमा सीमित गर्नु उनीहरूप्रतिको वास्तविक सम्मान हुन सक्दैन । शहीदलाई सम्मान गर्ने सबैभन्दा ठूलो तरिका हरेक दिन असल नागरिक बन्नु हो ।

सरकारले काम गर्नुपर्छ । तर, नागरिकले पनि आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । सरकारले सुशासन दिनुपर्छ, नागरिकले कानून पालना गर्नुपर्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, नागरिकले घुस दिन र लिन अस्वीकार गर्नुपर्छ ।

सरकारले कालोबजारी रोक्नुपर्छ, नागरिकले विपद्का बेला कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नु हुँदैन । अझ विडम्बना त के छ भने देश विपद्मा पर्दा समेत हामीमध्ये कतिपयको चरित्र बदलिँदैन ।

अरूको घरखेत बगेको छैन, आफू सुरक्षित छन्, तर राहतको लाइनमा सबैभन्दा अगाडि पुग्ने प्रवृत्ति देखिन्छ । संकटमा परेकाको हिस्सा खोसेर आफूले लाभ लिन खोज्ने मानसिकता केवल कानुनी अपराध होइन, सामाजिक चरित्रको पनि परीक्षा हो ।

त्यस्तै, फरक विचार राख्ने व्यक्तिलाई गाली गर्नु, सामाजिक सञ्जालमा अपमान गर्नु र राजनीतिक असहमतिलाई व्यक्तिगत दुश्मनीमा बदल्नुले हामी लोकतन्त्रको मर्म कति बुझेका छौँ भन्ने प्रश्न उठाउँछ ।

लोकतन्त्रले हामीलाई एउटा सरल तर गहिरो शिक्षा दिन्छ—विचारमा असहमति हुन सक्छ, दुश्मनी हुनुपर्दैन । प्रतिस्पर्धा हुन सक्छ, प्रतिशोध हुनु हुँदैन । हामी विचार, दृष्टिकोण, सोच र व्यवहारमा एकअर्काका विरोधी हुन सक्छौँ । तर त्यसको अर्थ हामी एकअर्काका शत्रु हौँ भन्ने होइन ।

निर्वाचनमा एउटा दललाई मत दिने व्यक्ति अर्को दललाई मत दिने नागरिकको दुश्मन होइन । सत्ता पक्ष र प्रतिपक्ष फरक राजनीतिक भूमिकामा हुन्छन्, तर दुवैको साझा घर देश हो । त्यसैले अबको राजनीतिले केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तन गर्नुपर्छ ।

'हामीले काम गर्ने समय नै पाएनौँ' भनेर जिम्मेवारीबाट उम्किनु हुँदैन । त्यस्तै, भएका कामलाई हुँदै नभएको भन्नु पनि राजनीतिक इमानदारी होइन । सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न प्रतिपक्ष कमजोर हुँदैन । सरकारका कमजोरी औँल्याउनुलाई सरकारविरोधी षड्यन्त्र भन्न पनि मिल्दैन ।

राजनीतिमा सत्य स्वीकार गर्ने संस्कार स्थापित हुनुपर्छ । अहिले देशलाई सबैभन्दा बढी आवश्यक कुरा यही हो—कामको मूल्यांकन तथ्यका आधारमा होस्, व्यक्तिको आधारमा होइन ।

सरकार असफल भए आलोचना गरौँ । सफल भए स्वीकार गरौँ । गल्ती भए सच्याउन दबाब दिऔँ । उपलब्धि भए प्रोत्साहन गरौँ । तर हरेक विषयलाई राजनीतिक चस्माबाट मात्र हेर्ने प्रवृत्ति त्यागौँ ।

किनकि सरकार मात्र सुध्रिएर देश सुध्रिँदैन । नागरिकको चरित्र नसुध्रिएसम्म कुनै पनि 'तन्त्र'ले नेपाललाई समृद्ध, सभ्य र न्यायपूर्ण बनाउन सक्दैन ।

राजतन्त्र होस् वा गणतन्त्र, पुरानो दल होस् वा नयाँ शक्ति, सरकार परिवर्तन होस् वा व्यवस्था परिवर्तन—यदि नागरिकको व्यवहार उस्तै रह्यो, भ्रष्टाचारप्रतिको सहनशीलता उस्तै रह्यो, कालोबजारीमा मौन समर्थन उस्तै रह्यो, फरक मतप्रतिको घृणा उस्तै रह्यो र आफ्नो स्वार्थलाई देशभन्दा माथि राख्ने प्रवृत्ति उस्तै रह्यो भने परिणाम पनि उस्तै रहन्छ ।

त्यसैले जेन–जी आन्दोलनमा ज्यान गुमाउने ती युवालाई सम्झिँदै अब एउटा नयाँ नजिर स्थापित गरौँ । देश रोएको बेला दलभन्दा माथि उठौँ । विपद्मा स्वार्थभन्दा माथि उठौँ । असहमतिमा गालीभन्दा माथि उठौँ ।

राजनीतिमा प्रतिशोधभन्दा माथि उठौँ । र, नागरिक जीवनमा आफ्नो स्वार्थभन्दा माथि देशलाई राखौँ । समय नहुँदै काम गरेनौँ भन्नु हुँदैन । भएका कामलाई भएन भन्नु पनि हुँदैन । सत्ता बदल्नु मात्रै परिवर्तन होइन, आफ्नो सोच, संस्कार र व्यवहार बदल्नु नै वास्तविक परिवर्तन हो ।

जसले देशका लागि ज्यान दिए, उनीहरूको जीवनलाई मृत्युपर्यन्त सम्मान गर्ने हो भने वर्षमा एक दिन फूल चढाएर होइन, वर्षका ३६५ दिन असल नागरिक भएर बाँचौँ । यही नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

यही नै लोकतन्त्रको वास्तविक संस्कार हुनेछ । र, यही संस्कारले मात्र नयाँ नेपालको आधार तयार गर्नेछ । ती महान् आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली । चिरशान्तिको कामना । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan