Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होचा तथा गहिरा कजवेका कारण सवारीसाधन सञ्चालनमा समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)

धनकुटा, ३१ भदौः धनकुटा–हिले सडकखण्डमा  होचा तथा गहिरा कजवेका कारण सवारीसाधन सञ्चालनमा समस्या हुँदै गएको छ । 

होचा तथा बढी भार बोकेका सवारीसाधन कजवे पार गर्दा तल्लो भाग ठोक्किने र आवतजावतमा कठिनाइ हुने गरेको हो । 
सडक आसपासको पानी तथा नालीबाट आउने भेल कटाउन पुल वा कल्भर्टको विकल्पका रुपमा विभिन्न स्थानमा कजवे निर्माण गरिएका थिए । तर, कजवे गहिरो हुँदा समस्या देखिएपछि सडक डिभिजन कार्यालय धनकुटाले सुधारको काम अघि बढाएको हो ।

यस वर्ष धनकुटा र हिलेबीचका सात वटा कजवे सुधार सुरु गरिएको छ । भेडेटारदेखि हिलेसम्मको करिब ४७ किलोमिटर सडक मर्मत तथा कजवे सुधार सुरुको चरणमा पुगेको छ । निर्माणका लागि रु चार करोड २९ लाख ५९ हजारमा सम्झौता भएको छ । 
     
यसअघि गहिरा रहेका कजवे अब दुई दशमलव शून्य पाँच प्रतिशत मात्र क्रस स्लोप हुने गरी सुधार गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर अजयकुमार शाहले जानकारी दिनुभयो । 

यस वर्ष हिलेसम्मका कजवे सुधार गर्ने र आगामी वर्षमा हिलेभन्दा माथिका कजवे पनि क्रमशः सुधार गर्दै जाने योजना छ । हिले–धनकुटा १३ किलोमिटर सडकखण्डमा मात्रै १० वटा कजवे रहेका छन् । धनकुटादेखि सङ्खुवासभाको टुटेसम्मको करिब ६० किलोमिटर सडकमा दुई दर्जनको हाराहारीमा कजवे छन् ।

कजवेका कारण स्थानीय सवारीसाधनसँगै लामो दूरीका, होचा तथा बढी भार बोकेका सवारीसाधनलाई बढी समस्या हुने गरेको सवारी चालक देवीप्रसाद दाहाल बताउनुहुन्छ । कजवे सुधार भएपछि कोशी राजमार्गमा सवारीसाधनको आवतजावत सहज हुने र यात्रु तथा चालकले भोग्दै आएको समस्या केही हदसम्म समाधान हुने चालक दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan