कहिले देखिएला बालेनको चमत्कार ?
काठमाडौं । सत्ता र सुविधामा मख्ख परेको राजनीति व्यापार बन्यो र व्यापारी पार्टीर नेताहरूबाट उपेक्षित जनता दलहरूबाट टाढिँदै गए, आक्रोशित बन्दै गए र अन्तमा जेनजी पुस्ताको नेतृत्वमा व्यापारिक राजनीतिको लूटतन्त्र बालुवाको महल ढले सरी ढल्यो ।
राजा ढालें भनेर नाक फुलाएर लोकतन्त्रलाई लूटतन्त्र बनाउनेहरू बादशाह त बने, जेनजीको धक्कामुक्का खाएपछि तासको बादशाहमा सीमित हुन पुगे ।
आज सार्वजनिक जीवनमा ३७ वर्ष शासन गर्ने बहुदलवादी, संघीय लोकतान्त्रिक गणतन्त्रवादीहरू कोठामा, कोटरीमा सीमित हुन पुगेका छन् । जसरी युगोश्लाभियाको मृत्युकोकारण राजनीति भ्रष्टाचारमुखी भएपछि राजनीति र शासनमा नयाँ बर्गको उदय भएको थियो ।
नेपालमा भएको त्यही हो । नयाँ पुस्ताको प्रभुत्व जमेको छ । प्रश्न छ, लेदो जमेजस्तो जम्नु भएन, छहरा झरेझैं, खोला बगेझैं कल कल बग्नुपर्यो । रास्वपालाई जनताले अपार र ऐतिहासिक बहुमत दिएका छन् ।
बालेन सरकारले गणतन्त्रका नाममा कानूनले पनि छुन नसक्ने, आर्थिक र राजनीतिक क्षेत्रमा तर खान लत बसालेका, राज्यको सम्पत्ति, मानव र सुन तस्करीदेखि ठगी मात्र गर्न जान्ने पुरानो पुस्ताको राजनीतिक ठगी, फ्रडलाई बालेन सरकारले बढार्नुपर्नेछ ।
त्यो कार्य सिंहदरबारमा जमेर मात्र पुग्दैन, संसद्, सडक, जनतासँग प्रत्यक्ष संवाद गरेर अघि बढ्दा मात्र सम्भव छ । हो, सभापति रवि लामिछानेले पटक–पटक भनेका छन्–कमी–कमजोर भएका छन्, सच्याउँदै जाने हो । मुख्य सवाल नियतको हो, बालेनको नियतमा कुनै खोट छैन ।
बालेनले भ्रष्टाचार नगरेकै कारण जनताले अझै पनि सवर गरिरहेका छन् र बालेनले केही गर्छ भन्ने विश्वास पालेर प्रतिक्षारत छन् । नेपालको इतिहास गौरवमय छ । बहुदल र लोकतन्त्रका नाममा लुटतन्त्रमा रमाउनेले कंगाल बनाएका हुन् ।
इतिहास सपार्नु छ, जनअपेक्षा पूरा गर्नुछ, सुशासन कायम गर्नुछ । रोजगारीको सिर्जना र योग्यताको सम्मान स्थापित गर्नुछ । नेपोटिजमको अन्त गर्नैपर्नेछ । हिजो आमनागरिक निराश भए, धैर्यको बाँध फुट्यो । त्यो गल्ती कुनै हालतमा बालेन सरकारले गर्नु हुन्न ।
जनता के चाहन्छन्, के भनिरहेका छन्, बालेन सरकारले सुन्नैपर्छ, बुझ्नै पर्छ, सम्बोधन गर्नैपर्छ । हजोजस्तो राज्यका पदहरू बिक्री गर्ने, बिचौलियाको स्वार्थमा राज्य सञ्चालन गर्ने, राष्ट्रिय महत्वका सम्बदेनशील संयन्त्रहरूमा समेत आफन्त वा लिलाम बढाबढबाट भर्ति गर्ने प्रवृत्ति कतै देखियो भने रोक्नैपर्छ । राजनीतिक पुस्ता फेरियो, राजनीति समाज बदल्ने औजार बन्नुपर्छ ।
राजनीति समाजसेवा हो भन्ने मान्यता स्थापित गर्नुपर्छ । रास्वपालाई अपार जनसमर्थन र अन्तर्राष्ट्रिय शक्तिको सहानुभूति प्राप्त भयो । प्रम बालेन नेपालीको विश्वास बनेका छन्, विश्वमा चर्चाको शिखर बनेका छन् ।
पानीको फोका बने भने इतिहासपुरुष बन्ने मौका खेर जानेछ । विश्वले फ्रड भनेको नेपाली नेताहरूलाई फरक धारणा निर्माण गर्न बाध्य पारेर नेपालको सम्मान स्थापित गर्नुछ ।
बालेन र रास्वपालाई धुलिसात पार्न प्रतिपक्षीहरू कम्मर कसेर लागेका छन् । स्थिरता, शान्ति, सुशासन र प्रगतिको प्रत्याभूति दिन तत्पर बालेन सरकारलाई राष्ट्रघाती भनेर भाष्य सिर्जना गरिदैछ ।
यी सबै भाष्यलाई चिर्दै बालेन सतिसाल बनेर उभिनुपर्नेछ । यसमा रास्वपा एक ढिक्का भएर बालेन सरकारलाई सफल पार्न लाग्नुपर्नेछ । बालेन सरकार न उत्तर, न दक्षिण, न पश्चिम कतै देखिँदैन ।
बालेन सरकार नेपाल र नेपाली जनतातिर देखिन्छ । पाँच महिना भयो, नेपाली शासन, प्रशासन, राजनीति बुझेको हुनुपर्छ । अब कछुवा गतिले हुन्न, मृग गति लिनुपर्छ, गयेर परिवर्तन गरेर गति बढाउनुपर्छ ।
नेपालको राष्ट्रियता मजबुत पार्ने, राजनीतिमा स्वच्छता कायम गर्ने र कूटनीतिमा आवश्यक सुधारका र सोच सरकारले ल्याउनैपर्नेछ । दक्षिण एसियाका ज्ञाताहरूका अनुसार यो क्षेत्रका राजनीतिक सीमाहरू उपनिवेशवादी विरासत मान्छन् ।
यद्यपि नेपाल अमेरिकाभन्दा पनि जेठो राष्ट्र हो र कहिले पनि कुनै मुलुकको उपनिवेश भएको थिएन । तर, उपनिवेशको दबदबाको इतिहास भएको दक्षिण एसियाका प्रभाव त नेपालमा परेको छ । यसको दुर्नियति नेपालले भारत स्वतन्त्र भएदेखि नै भोग्दै आएको दुःख हो ।
बालेन सरकारले नेपालको स्वराजमा लिएको अडान चट्टानी देखिन्छ । भारत स्वतन्त्र भएपछि भारतका मेलिट्री साइन्सका विज्ञहरूले नेपाललाई भारतमा १९५० मै नमिलाएर ठूलो भूल गरेको लेखेका छन् । छिटोभन्दा छिटो त्यो भूल सच्याउनु पर्ने पनि बताएका छन् ।
सम्भवतः त्यही नीतिअनुसार भारतले नेपालमाथि व्यवहार गर्दै आएको छ । यो भारतीय सोचलाई बदल्ने जिम्मेवारी बालेनको काँधमा छ । प्रम बालेनले विदेश भ्रमणमा जाँदा समस्या लगायतका यावत विषयका एजेण्डा तय गरेर मात्र संवादका लागि प्रस्तुत हुने बताएर नेपाललाई आफ्नै खुट्टामा उभ्याउन खोजेको देखिन्छ । जुन प्रशंसनीय छ ।
नेपालको मुख्य समस्या भनेकै राजनीतिक शक्तिहरू बीच संवाद, सहमति र सहकार्य नहुन हो । राजाभन्दा लोकप्रिय को छ ? यसकारण राजतन्त्र र हिन्दूवाद पनि राजनीतिक शक्ति नै हुन् ।
तिनलाई पनि समेटेर अघि बढ्ने हो भने रास्वपाले नेपाली मन जित्ने र राष्ट्रवाद, समाजवाद र प्रजातन्त्रमा हिमालको डाँफेले हानेझैं बेग हान्न सक्नेमा दुई मत छैन । बाँकी रास्वपा र प्रम बालेनले सोचुन् ।
