‘हनिट्रयाप’ प्रकरणमा गुप्तचरका एसपीलाई ब्ल्याकमेल गरेको आरोप : महिला पुर्पक्षका लागि जेल चलान
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) प्रकाश आचार्यलाई ‘हनिट्रयाप’मा फसाएर रकम असुलेको आरोप लागेकी कुसुम गुभाजु गुरुङ पुर्पक्षका लागि कारागार चलान भएकी छन्।
जिल्ला अदालत काठमाडौंले बुधबार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। उनीविरुद्ध आपराधिक लाभ तथा साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो।
गुप्तचरका एसपी आचार्यको जाहेरीका आधारमा गुरुङलाई गत महिना पक्राउ गरिएको थियो। अनुसन्धान पूरा भएपछि प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको हो।
अनुसन्धानका क्रममा आचार्य र गुरुङबीच करिब तीन वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको र त्यसपछि उनीहरूबीच निकट सम्बन्ध बनेको खुलेको छ। पछिल्लो समय एसपी आचार्य सम्बन्धबाट टाढिन खोजेपछि गुरुङले आफूलाई निरन्तर ‘टर्चर’ दिने गरेको आचार्यको दाबी छ।
उनीहरूबीच विवाद बढ्दै गएपछि एकपटक प्रहरी कार्यालयसम्म पुगेको र दुवै पक्षबीच मिलापत्रसमेत भएको अनुसन्धानबाट खुलेको छ।
आचार्यले सम्बन्धबाट टाढिन खोजेपछि गुरुङले आफूलाई बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै रकम माग्न थालेको आरोप लगाएका छन्। उनका अनुसार गुरुङलाई पटक–पटक गरी २७ लाख रुपैयाँ दिइसकेका थिए। तर, त्यसपछि पनि गुरुङले थप ५० लाख रुपैयाँ माग्दै दबाब र यातना दिन थालेपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको आचार्यको दाबी छ।
यता, पक्राउ परेकी गुरुङले भने आफूले आचार्यबाट २७ लाख रुपैयाँ लिएको स्वीकार गरे पनि रकम जबर्जस्ती वा ब्ल्याकमेल गरेर नभई आपसी सहमतिमै लिएको दाबी गरेकी छन्।
अदालतले प्रारम्भिक प्रमाण र दुवै पक्षको दाबीका आधारमा गुरुङलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। अब मुद्दाको थप सुनुवाइ र प्रमाण परीक्षण अदालतको प्रक्रियाअनुसार अघि बढ्नेछ।
