‘बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप’ संसद्को अभिलेखबाट हटाउन सभामुखको रुलिङ
काठमाडौं । सभामुख डीपी अर्यालले सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाको शून्य समयमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले यही भदौ २६ गतेको बैठकको शून्य समयमा सांसद सुनारले दिएको ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्ने अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
सांसद सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितको भ्रष्टाचारसम्बन्धी विषय उठाउने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर संसद्मै प्रश्न उठेपछि सभामुखले सो भनाइ संसद्को रेकर्डबाट हटाउने रुलिङ गरेका हुन् ।
सभामुखको निर्देशनसँगै सांसदले शून्य समयमा व्यक्त गर्ने धारणा र आरोपहरू संसदीय मर्यादा तथा प्रमाणमा आधारित हुनुपर्ने विषय फेरि चर्चामा आएको छ । विशेषगरी संवेदनशील सुरक्षा निकायका उच्च अधिकारीमाथि भ्रष्टाचारजस्तो गम्भीर आरोप लगाउँदा तथ्य, प्रमाण र संसदीय भाषाको प्रयोग आवश्यक हुने देखिएको छ ।
संसद्मा सांसदले जनसरोकारका विषय निर्भीक रूपमा उठाउने अधिकार राखे पनि अभिव्यक्तिको शैली र शब्द चयन भने संसदीय मर्यादाभित्र हुनुपर्ने मान्यता छ । यही विषयलाई आधार बनाएर सभामुखले सुनारको उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
