Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिआइजीदेखि इन्सपेक्टरसम्म प्रहरीमा सरुवाको तयारी, उपत्यका अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीबीच प्रतिस्पर्धा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |
newsabhiyan

काठमाडौं, ३० भदौ । गृह मन्त्रालयको सहमतिमा प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनभित्र व्यापक सरुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अवधि पुगेका कार्यालय प्रमुख तथा कमान्ड तहका प्रहरी अधिकृतहरूलाई लक्षित गर्दै डिआइजीदेखि इन्सपेक्टरसम्मको सरुवा गर्ने गृहकार्य भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका तथा कार्यावधि पूरा गरेका अधिकृतहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरुवा सूची तयार गरिरहेको बुझिएको छ । गृह मन्त्रालयसँग आवश्यक समन्वयपछि सरुवा प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

तीन प्रदेशका डिआइजी फेरिने तयारी
स्रोतका अनुसार कर्णाली प्रदेशका डिआइजी जयराज सापकोटा, बागमती प्रदेशका डिआइजी दीपक रेग्मी र लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र खत्रीको सरुवा गर्ने तयारी भइरहेको छ ।

सापकोटा र खत्री प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग निकट नरहेको दाबीसमेत स्रोतले गरेको छ । यद्यपि प्रहरी प्रधान कार्यालयले भने सरुवालाई नियमित प्रशासनिक प्रक्रिया र कार्यावधिसँग जोडेर हेर्ने गरेको छ ।

लुम्बिनीका डिआइजी खत्रीको सरुवा भएमा उनको स्थानमा हाल प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका अविनारायण काफ्लेलाई पठाउने तयारी रहेको स्रोतको दाबी छ । त्यसैगरी बागमती र कर्णालीमा पनि काफ्लेकै ब्याचका अधिकृतहरूलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको बताइएको छ ।

अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीबीच दौड
यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वसमेत परिवर्तन हुने सम्भावना देखिएको छ । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले एक वर्षको कार्यावधि पूरा गरिसकेका छन् ।

गत वर्ष जेनजी आन्दोलनलगत्तै उनको उक्त कार्यालयमा सरुवा भएको थियो । पछिल्लो समय अनुसन्धान तथा मुद्दा चलाउने अधिकारसमेत विस्तार भएको महत्वपूर्ण कार्यालयका रूपमा हेरिँदै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीहरूबीच प्रतिस्पर्धा सुरु भएको स्रोतको भनाइ छ ।

अपराध अनुसन्धान, संगठित अपराध नियन्त्रण तथा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा प्रत्यक्ष भूमिका रहने भएकाले उक्त कार्यालयलाई प्रहरी संगठनभित्र आकर्षक र प्रभावशाली जिम्मेवारीका रूपमा लिइन्छ । त्यसैले नयाँ नेतृत्वका लागि विभिन्न एसएसपीहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेको बताइएको छ ।

यी जिल्लाका एसपी पनि फेरिँदै
सरुवा तयारीमा केही महत्वपूर्ण जिल्ला प्रहरी प्रमुखसमेत परेका छन् । स्रोतका अनुसार मोरङका कवित कटवाल, भक्तपुरका सूर्यबहादुर खड्का, कास्कीका नवीन कार्की, पूर्वी नवलपरासीका युवराज खड्का, दाङका दीपक श्रेष्ठ, पाल्पाका दिपेन्द्र पञ्जियार, बाँकेका अंगुर जिसी र कैलालीका नरेन्द्र चन्दलगायत एसपीहरूको सरुवा हुने सम्भावना छ ।

जिल्ला प्रहरी प्रमुखको सरुवा गर्दा अपराध नियन्त्रणको अवस्था, कार्यसम्पादन, स्थानीय सुरक्षा चुनौती, कार्यावधि तथा संगठनको आवश्यकता जस्ता विषयलाई आधार बनाउने गरिएको प्रहरी स्रोतको भनाइ छ ।

डिएसपी र इन्सपेक्टरको पनि ठूलो फेरबदल
डिआइजी, एसपी र एसएसपीसँगै एक वर्ष अवधि पूरा गरेका पहाडी जिल्लाका डिएसपी, इलाका प्रहरी कार्यालय तथा प्रहरी वृत्तका इन्चार्जहरूलाई समेत फेरबदल गर्ने तयारी भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयले असोज पहिलो सातातिर ठूलो संख्यामा इन्सपेक्टरहरूको सरुवा गर्ने सम्भावना रहेको स्रोत बताउँछ । यससँगै जिल्ला, इलाका तथा वृत्त तहमा नयाँ नेतृत्व जाने भएकाले तल्लो तहसम्मै प्रहरी कमान्ड संरचनामा फेरबदल हुने देखिएको छ ।

नियमित सरुवा कि शक्ति सन्तुलनको अभ्यास ?
प्रहरी संगठनमा सरुवा सामान्य प्रशासनिक प्रक्रिया भए पनि उच्च तहका अधिकृतहरूको सरुवा सधैं चासोको विषय बन्ने गरेको छ ।

विशेषगरी प्रदेश प्रहरीको नेतृत्व, उपत्यकाका अनुसन्धान कार्यालय तथा ठूला जिल्लाका प्रहरी प्रमुखको फेरबदललाई प्रहरीभित्र कार्यसम्पादनसँगै नेतृत्वको विश्वास र संगठनभित्रको शक्ति सन्तुलनसँग जोडेर हेर्ने गरिन्छ ।

यसपटक पनि अवधि पुगेका अधिकृतहरूको नियमित सरुवाको नाममा प्रक्रिया अघि बढाइए पनि कुन अधिकृतलाई कहाँ पठाइन्छ भन्ने विषयले प्रहरी संगठनभित्रको आगामी कमान्ड संरचना र नेतृत्वको प्राथमिकता स्पष्ट पार्नेछ।

तर प्रहरी प्रधान कार्यालयले भने सरुवालाई व्यक्तिगत निकटता वा गुटगत आधारमा नभई कार्यसम्पादन, आवश्यकता र कार्यावधिका आधारमा पारदर्शी ढंगले अघि बढाउनुपर्ने चुनौती छ । ठूलो संख्यामा अधिकृत फेरिँदा प्रहरीको मनोबल, अनुसन्धानको निरन्तरता र जिल्लाको सुरक्षा व्यवस्थामा असर नपर्ने गरी निर्णय गर्नुपर्ने देखिन्छ ।

सरुवा सूची अन्तिम रूप लिने क्रममा रहेकाले केही नाम र जिम्मेवारीमा फेरबदल हुन सक्ने स्रोतको भनाइ छ । गृह मन्त्रालयसँगको समन्वयपछि मात्रै अन्तिम सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan