विपद व्यवस्थापनमा दक्ष युवा तयार गर्दै कांग्रेस : श्रावण १५–१७ सम्म काठमाडौंमा तीन दिने विशेष प्रशिक्षण
काठमाडौं, १२ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद व्यवस्थापन सम्बन्धी तीनदिने विशेष आन्तरिक प्रशिक्षण आयोजना गर्ने भएको छ।
प्रतिष्ठानको श्रावण १० र ११ गते बसेको छैटौं बैठकले विपद व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।
सोही निर्णयअनुसार श्रावण १५, १६ र १७ गते काठमाडौंमा हुने प्रशिक्षणमा इच्छुकमध्ये छनोट गरिएका ४० जना युवालाई पहिलो चरणमा सहभागी गराइने जनाइएको छ।
प्रशिक्षणमा प्राकृतिक विपद व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र व्यावहारिक अभ्याससमेत गराइनेछ।
यसका लागि स्वदेश तथा विदेशमा लामो समयदेखि विपद व्यवस्थापन क्षेत्रमा कार्यरत विषयविज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्।
प्रतिष्ठानका अनुसार प्रशिक्षणबाट विपदपूर्व तयारी, सचेतना, उद्धार, राहत तथा प्रतिकार्यमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने दक्ष युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
साथै आगामी दिनमा ‘हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवक’ तयार गर्ने अवधारणाअनुसार कार्यक्रमलाई विस्तार गर्ने योजना पनि बनाइएको छ।
यो जानकारी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमार्फत दिएका हुन्।
.jpg)
