Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | रासस

काठमाडौँ, १३ साउनः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ । 

    उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो । 

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मुख्य वक्तव्य दिँदै बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत तीन दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो । 

    उहाँले बिम्स्टेकको शान्तिपूर्ण, समृद्ध र उत्थानशील बङ्गालको खाडी क्षेत्र निर्माण गर्ने लक्ष्य पूरा गर्न जनस्तरबीचको सम्पर्क, आबद्धता, व्यापार तथा आर्थिक सहयोग अभिवृद्धिको महत्वमा जोड दिनुभयो । साथै, बिम्स्टेकमार्फत क्षेत्रीय सहयोग प्रवद्र्धन तथा साझा अवसर र चुनौतीको सम्बोधनमा नेपालको बढ्दो योगदानको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण शाक्यले बिम्स्टेकको विकासक्रम, उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गर्नुभयो । 

    उहाँले सदस्य राष्ट्रबीच जनस्तरको सम्पर्क, आबद्धता र आपसी समझदारीलाई अझ सुदृढ बनाउन यस्ता संवाद आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजनाका लागि प्रतिष्ठानको प्रशंसा गर्नुभयो । साथै, बिम्स्टेकलाई जनमुखी क्षेत्रीय समुदायका रूपमा विकास गर्ने प्रक्रियामा नेपालको प्रतिबद्धता पुनः दोहोर्याउनुभयो । 

    प्रतिष्ठानका कार्यकारी निर्देशक रोजिना ताम्राकारले बिम्स्टेकले जनस्तरबीचको सम्पर्क र सहकार्यलाई सुदृढ गर्दै क्षेत्रीय सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यस क्षेत्रका जनताको साझा समृद्धि र कल्याणका लागि क्षेत्रीय साझेदारीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    कार्यक्रममा नेपालका लागि थाइल्यान्डका राजदूत डोनाविट पुल्सावत तथा नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेल्पिटियाले पनि सहभागिता जनाउनुभएको थियो । 

    साथै, काठमाडौँस्थित बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिनिधि, सम्बन्धित मन्त्रालयका अधिकारी, शिक्षाविद्, नीतिविज्ञ, थिङ्क ट्याङ्क तथा विकास साझेदार संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता र विश्वविद्यालयका विद्यार्थीको सहभागिता थियो । 

    कार्यक्रममा क्षेत्रीय साझेदारीलाई थप सुदृढ बनाउने तथा अझ बढी आबद्ध, समावेशी र जनमुखी बिम्स्टेक निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan