पत्रकार दक्षताका लागि सर्वेक्षण
विराटनगर, १३ साउन : कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सर्वेक्षण सुरु गरेको छ ।
कुन स्तरको पत्रकारलाइ कुन प्रकारको तालिम प्रदान गरी दक्षता बढाउन सकिन्छ भनी सर्वेक्षण प्रारम्भ गरिएको प्रतिष्ठानका रजिष्ट्रार लीलाराज भट्टराईले बताउनुभयो ।
प्रतिष्ठानले सबै पत्रकार तथा सञ्चारकर्मीलाई अनलाइनमार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा तालिम/प्रशिक्षणसहित कार्यालय सञ्चालनका लागि रु तीन करोड बजेट विनियोजन गरेकोछ ।
सञ्चारसम्बन्धी सबै क्रियाकलाप प्रतिष्ठानमार्फत गराउने योजनाअनुसार प्रदेशले बजेट विनियोजन गरेको रजिष्ट्रार भट्टराइले बताउनुभयो ।
प्रतिष्ठानले आगामी छ महिनाभित्र प्रेस प्रतिनिधि परिचयपत्र वितरण कार्य प्रारम्भ, आमसञ्चार माध्यमको नवीकरण, रोयल्टी भुक्तानीलगायतका सेवा क्रमशः अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिष्ठानले रेडियो तथा टेलिभिजन नवीकरणका लागि सूचना जारी गरेपछि हालसम्म ४० वटा सञ्चार संस्थाको नवीकरण भई रु १९ लाख ४३ हजार ७२५ राजस्व सङ्कलन भएको जानकारी दिइएको छ ।
