आईजीपी दानबहादुर कार्कीको सम्मानमा ‘Meet & Greet’ कार्यक्रम सम्पन्न
बैंकक, थाइल्याण्ड। संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुग्नुभएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा एनआरएनए थाइल्याण्ड र पियानो (PNO) को संयुक्त आयोजनामा भव्य ‘Meet & Greet’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत महामहिम धनबहादुर ओली रहनुभएको थियो। कार्यक्रममा नेपालका वरिष्ठ गायक आनन्द कार्कीको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ–नेपाली सङ्घ, मगर–गुरुङ सङ्घ, तामाङ सङ्घ, नेवारी सङ्घ, किराँत सङ्घ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य पियानो (PNO) का संयोजक कुमार कार्कीले व्यक्त गर्नुभएको थियो। त्यसपछि एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष तथा एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भबिन्द्र बस्नेतले पियानो (PNO) र एनआरएनए थाइल्याण्डको स्थापना, उद्देश्य, पृष्ठभूमि तथा नेपाली समुदायमा पुर्याउँदै आएको योगदानबारे प्रकाश पार्नुभयो।
आफ्नो सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको व्यावसायिक अनुभव, संगठित अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य तथा सीमा पार हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले गरिरहेका प्रयासबारे जानकारी गराउँदै नेपाल–थाइल्याण्डबीच सुरक्षा सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष सञ्जय ढकाल तथा थाइ–नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद लामिछानेले सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्नुभएको थियो। यसै क्रममा एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकालले थाइल्याण्डलाई ट्रान्जिट बनाएर हुने मानव बेचबिखन तथा अन्य प्रकारका तस्करी नियन्त्रणका लागि नेपाल र थाइल्याण्डका सम्बन्धित निकायबीच अझ प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
प्रमुख अतिथि राजदूत धनबहादुर ओलीले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदाय, नेपाल सरकारका निकाय तथा नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमको समापन गर्दै एनआरएनए थाइल्याण्डका अध्यक्ष महेन्द्र श्रेष्ठले प्रमुख अतिथि, विशिष्ट अतिथि, प्रहरी महानिरीक्षक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रमको सञ्चालन दीपक पराजुलीले गर्नुभएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
