सत्तामा बस्नेहरू गैरजिम्मेवार र अराजक भए : चित्रबहादुर केसी
काठमाडौं, ३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारका मन्त्री र शासकहरू गैरजिम्मेवार र अराजक भएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रमसँग कुरा गर्दै नेता केसीले सरकारका गतिविधिहरू जनविरोधी र बाह्य शक्तिको इसारामा सञ्चालित भएको दाबी गर्नुभयो ।
भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारहरूको ’खुट्टा भाँच्ने’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै अध्यक्ष केसीले यो जिम्मेवार प्रशासकले बोल्ने भाषा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो— “काम नगर्ने ठेकेदारलाई कानुनी कारबाही गर्ने हो, तर सत्तामा बस्नेले खुट्टा भाँच्छु भन्नु अराजकता र फासिस्ट तरिका हो।“
काठमाडौँमा सुकुम्बासी र फुटपाथ व्यवसायीमाथि भएका पछिल्ला कारबाहीप्रति आक्रोश व्यक्त गर्दै केसीले वर्तमान सरकार सर्वसाधारण जनतालाई सेवा र सुविधा दिन भन्दा पनि सताउन सक्रिय रहेको आरोप लगाउनुभयो ।
गरिब महिलाको टेम्पो लडाइदिने र सर्वसाधारणको काफल सडकमा छरिदिने जस्ता कार्य जनमैत्री हुन नसक्ने उहाँको भनाइ थियो ।
वैदेशिक हस्तक्षेप र देशको भूराजनीतिक अवस्थाबारे बोल्दै नेता केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता अहिले गम्भीर संकटमा परेको उल्लेख गर्नुभयो।
एमसीसी र मुस्ताङको युरेनियम उत्खननको प्रसंग उठाउँदै उहाँले विदेशी शक्तिहरू नेपालको प्राकृतिक स्रोतसाधन कब्जा गर्न सक्रिय रहेको र वर्तमान शासकहरू उनीहरूको गोटी बनेको गम्भीर आरोप लगाउनुभयो ।
देश बचाउन र आफ्ना स्रोतसाधनको सही सदुपयोग गर्न देशमा सच्चा राष्ट्रवादी नेताको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
