अर्थका सहसचिवको जिम्मेवारी हेरफेर, बजेटदेखि राजस्व र भन्सारसम्म नयाँ नेतृत्व
काठमाडौं, ६ असोज । अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयअन्तर्गत बजेट व्यवस्थापन, राजस्व व्यवस्थापन, भन्सार प्रशासन तथा ठूला करदाता कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको हो।
मन्त्रालयका सहसचिव तथा बजेट महाशाखा प्रमुख सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त पद केही समयदेखि रिक्त थियो।
दाहालको स्थानमा बन्धु प्रसाद बास्तोलालाई बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। बास्तोला हालै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका हुन्। उनी गृह प्रशासनतर्फको अनुभव भएका सहसचिव भए पनि राजस्व प्रशासनमा भने नयाँ हुन्।
यसैगरी, कोशी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका नारायण प्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। भन्सार प्रशासनको महत्वपूर्ण जिम्मेवारीमा उनको आगमनसँगै विभागीय कामकारबाहीमा नयाँ नेतृत्व आएको छ।
त्यस्तै, सहसचिव प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ। यसअघि उक्त कार्यालयको प्रमुख कर प्रशासक रहेका केदार शर्माले राजीनामा दिएपछि पद रिक्त रहेको थियो।
मन्त्रालयमा भएको अर्को जिम्मेवारी हेरफेरअन्तर्गत लोकसेवा आयोग, कोशीबाट हालै सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।
अर्थ मन्त्रालयमा भएको यो जिम्मेवारी हेरफेरसँगै बजेट निर्माण तथा कार्यान्वयन, राजस्व परिचालन, भन्सार प्रशासन र ठूला करदाताबाट कर संकलनसँग सम्बन्धित महत्वपूर्ण निकायमा नेतृत्व परिवर्तन भएको छ।
नयाँ जिम्मेवारी पाएका सहसचिवहरूले बदलिँदो आर्थिक अवस्था, राजस्व संकलनको लक्ष्य तथा बजेट कार्यान्वयनलाई कसरी अघि बढाउँछन् भन्ने विषयलाई अर्थ प्रशासनभित्र चासोका साथ हेरिएको छ।
