कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो यस्तो अङ्क
काठमाडौँ, ३० भदौः काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ ।
उक्त मूल्याङ्कन आर्थिक वर्ष २०८२÷८३ को हो । स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार विभिन्न सूचक तय गरिएको छ ।
मूल्याङ्कनमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापन गरी पाँच क्षेत्र समेटिएका छन् ।
महानगरपालिकाका अनुसार कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना अनुगमन तथा निरीक्षणलाई एकीकृत गरिएको छ । यसका आधारमा तयार गरिएको एकीकृत प्रतिवेदन भदौ १५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरिनेछ ।
प्रमुख प्रशासकीय अधिकृतले मूल्याङ्कन समन्वय समितिमा छलफल गराई प्रमुखसमक्ष पेस गर्ने र सम्बन्धित शाखाबाट प्राप्त प्रारम्भिक नतिजालाई विषयगत समितिमा छलफलका लागि पठाउने व्यवस्था गरिएको छ ।
महानगरपालिकाले सूचकगत अङ्क र सोको पुष्टि हुने प्रमाण तथा कागजातको अध्ययन र विश्लेषण गरी मूल्याङ्कनको अन्तिम नतिजा असोज मसान्तभित्र सार्वजनिक गर्ने जनाएको छ ।
