Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस)

काठमाडौँ, ३० भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ ।

    सभापति थापाले आज विज्ञप्ती जारी गर्दै नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न पार्टीले अधिकतम प्रयास गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै पार्टीभित्रका आन्तरिक मतभेद र असमझदारीलाई संवाद, विधि तथा पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको उहाँले बताउनुभयो ।

    सभापति थापाले वर्तमान कार्यसमितिले पटकपटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरी सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राखी २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको बताउनुभयो ।
      
    सभापति थापाले विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय यही भदौ २८ गतेको कार्यसम्पादन समितिको बैठकले गरिसकेको भन्दै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य  १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुनसक्ने स्पष्ट पार्नुभयो । उहाँले महाधिवेशन मार्फत सामूहिक प्रयासबाट पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    सभापति थापाले वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन अभियानमा उच्च मनोबलका साथ सहभागी हुन सम्पूर्ण कांग्रेसजनलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुन लागेको छ । सभापति थापाले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न अपिल गर्नुभएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan