Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/सिन्ह्वा)

विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ ।
    डब्लूटीओको मङ्गलबार सार्वजनिक ‘विश्व व्यापार प्रतिवेदन २०२६ ः विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको छ ।
    “बहुपक्षीय व्यापार प्रणालीले विगत ८० वर्षमा ठूलो लाभ प्रदान गरेको छ र अझ एकीकृत तथा लचिलो विश्व अर्थतन्त्र निर्माण गर्न सहयोग गरेको छ,” डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले भन्नुभयो । 
    उहाँका अनुसार विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट–फेभर्ड–नेसन’ (सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र) व्यवस्थाअन्तर्गत हुने गरेको छ ।
    “विश्वव्यापी व्यापारको परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ, तर यस प्रणाली स्थापनाको मूल मर्म—एकपक्षीय रूपमा काम गर्नुभन्दा सहकार्य गर्दा सबै अर्थतन्त्रलाई फाइदा हुन्छ भन्ने मान्यता—आज पनि उत्तिकै सान्दर्भिक छ,” उहाँले भन्नुभयो ।
    डब्लूटीओ सदस्य राष्ट्रहरूले सुधारका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको र वर्तमान अवस्था यथावत् राख्नु विकल्प नभएको बुझेको पनि उहाँले बताउनुभयो । 
    प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको छ । बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् २०५० सम्म विश्वको जीडीपी  दुई दशमलव नौ प्रतिशत र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।
    त्यसैगरी, बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू–राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव छ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
    बहुपक्षीय सहकार्यलाई स्वतन्त्र व्यापार सम्झौताको सञ्जालले प्रतिस्थापन गरेको अवस्थामा भने विश्वको जीडीपी छ दशमलव नौ प्रतिशत र निर्यात २६ दशमलव नौ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ ।
    डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्न सक्छ ।
    प्रतिवेदनका अनुसार आठ दशकभन्दा लामो अवधिमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउन, विश्व व्यापारलाई झन्डै ५० गुणाले विस्तार गर्न तथा थप एकीकृत र नियममा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan