Friday 31st of July | २०८३ श्रावण १५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यान्सर अस्पतालमा पेटस्क्यान जडानका लागि बाटो खुल्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

चितवन, १४ साउनः प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान गर्ने उपकरण सञ्चालन गर्न चासो दिनुभएको थियो । तत्कालीन समयदेखि निरन्तर रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि सरकारले बजेट विनियोजन गर्दै आए पनि हालसम्म कामले पूर्णता पाउन सकेको थिएन । 

    सबै प्रक्रिया पूरा गरेर खरिदमा जान मिल्ने गरी काम अघि बढाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न गर्न अस्पताललाई करिब तीन वर्ष लागेको अस्पताल प्रशासनले जनाएको छ । यही अवधिमा अस्पतालले निर्माण भएका संरचनाको भरतपुर महानगरपालिकामा अभिलेखीकरण गरेको छ । यसका लागि अस्पतालले रु एक करोड ७८ लाख राजस्व बुझाएको कार्यकारी निर्देशक डा उमेश नेपालले जानकारी दिनुभयो । सबै प्रक्रिया पूरा गरेर अस्पतालले बोलपत्रका लागि तयारी अवस्थामा पुर्‍याएको छ । यसअघि बोलपत्र आह्वान भएर कम्पनी छनोट भएपछि मुद्दाका कारण काम रोकिएको उहाँले बताउनुभयो । 

    स्वास्थ्य मन्त्रालयले चालु आवका लागि रु २५ करोड रकम विनियोजन गरेको कार्यकारी निर्देशक डा नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सञ्चालक समितिले पूर्णता पाएपछि समिति बनाएर अन्य प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । 

    समिति बनेपछि उपकरणको विशिष्टता (स्पेक) तयार गरिनेछ । सोही आधारमा बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । एउटै बोलपत्रमार्फत नक्साङ्कनदेखि बङ्कर निर्माण, उपकरण खरिद, जडान, तालिमसमेत सञ्चालन गरिने कार्यकारी निर्देशक डा नेपालले जानकारी दिनुभयो । सबै काम एउटै ठेक्कामार्फत गरिने यस प्रक्रियालाई ‘टङ्की’ परियोजना भनिने उहाँले बताउनुभयो ।

    मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुलुकका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने ‘आइसोटोप’ भारतबाट ल्याउने गरिएको जनाउँदै डा नेपालले आइसोटोप उत्पादन गर्ने उपकरण ‘साइक्लोट्रोन’ समेत यही जडान गर्ने अस्पतालको तयारी रहेको उल्लेख गर्नुभयो । 

    कार्यकारी निर्देशक नेपालका अनुसार आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री पनि गर्न सकिन्छ । “कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा मुलुकका पेट स्क्यान सञ्चालन हुन सकेका थिएनन् । राजधानीका दुई र झापाको एक ठाउँमा पेट स्क्यान हुन्छ । उनीहरूले साइक्लोट्रोन भारतबाट जहाजमा ल्याउने गरेका छन् । साइक्लोट्रोन यथासक्य छिटो प्रयोग गर्न नसकेमा प्रभावकारिता कम हुने गर्दछ”, उहाँले भन्नुभयो ।

    विज्ञहरूले सात–आठ घण्टाभन्दा बढी ढिलो भएपछि प्रभावकारी नहुने जनाउँदै आएका छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामीको शरीरमा क्यान्सर रहे/नरहेकोसमेत पत्ता लगाउन उपयोगी हुने डा नेपालको भनाइ छ ।

    हाल पेट स्क्यानका लागि अधिकांश बिरामीलाई छिमेकी देश भारतसहित अन्य मुलुक जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै बिरामीले सरकारीस्तरमा स्वदेशमा यो सेवा पाउने उहाँको भनाइ छ । डा नेपालले पेटस्क्यान गर्ने उपकरण सञ्चालनमा आएसँगै क्यान्सर समयमा पहिचान गरी उपचार गर्न सहज हुने बताउनुभयो । 

    अहिले नेपालमा निजी क्षेत्रले पेटस्क्यान परीक्षण रु ५० देखि ५५ हजारसम्म लिँदै आएका छन् । यहाँ उक्त उपकरण बनेपछि सस्तोमा बिरामीले सेवा पाउने छन् । पेट स्क्यान जडानका लागि रु एक अर्ब हाराहारी खर्च हुने अनुमान छ । अस्पतालले बहुवर्षीय आयोजना बनाएर काम गर्ने तयारी गरेको छ ।

    क्यान्सर अस्पतालका ३५० शैय्या निःशुल्क 

    चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका ५०० शय्यामध्ये ३५० मा बिरामीले निःशुल्क सेवा लिँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा नेपालका अनुसार सामान्य शय्या खानासहित निःशुल्क गरिएको छ । उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा समान्य शय्या (जनरल बेड)मा तीन पटकको खानासहित निःशुल्क सेवा दिँदै आएका छौँ ।”

    तीन वर्षअघिदेखि अस्पतालले शय्या निःशुल्क गरेको जनाउँदै उहाँले ‘क्याविन’, ‘पेइङ् वार्ड’, ‘पोष्टप, एचडियु’, ‘आइसियु’ र ‘डे केयर’मा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको बताउनुभयो । अस्पतालमा भारतीय सीमाक्षेत्र र नेपालभरिबाट बिरामी आउने गर्दछन् । न्यून जनशक्ति र कम स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको प्रशासनले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan