Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ९ शनिबार | (रासस)

गण्डकी, ९ साउनः जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित भाडाको घरमा सञ्चालित कार्यालयबाट एसिया तथा युरोपका विभिन्न देश घुमाउन लैजाने भन्दै अनलाइनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी विदेश भ्रमण, उपहारलगायत आकर्षक योजना देखाई कुपन भराएर रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

हालसम्म ३० जनाबाट करिब नौ लाख ६६ हजार रूपैयाँ ठगेको र १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर उक्त कार्यमा संलग्न गराएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, आठ थान विभिन्न रजिस्ट्रर तथा अभिलेख पुस्तिका, छ थान रसिद, चार थान स्ट्याम्प तथा विभिन्न व्यक्तिका नाममा काटिएका रसिदका अर्धकट्टी बरामद गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan