१२ वर्षीया सुबुको सुरिलो जादु: ‘द भोइस किड्स’ मा भाइरल संस्कृतिमाझ प्रतिभाको नयाँ झिल्को!
काठमाडौं। जतिबेला देशका पाका नेताहरू सत्ताको कुर्सी जोगाउन र फुटाउन मस्त छन्, र सामाजिक सञ्जाल ‘लाइक-कमेन्ट’ को सस्तो स्टन्टमा अलमलिएको छ-ठ्याक्कै त्यही समयमा १२ वर्षीया एक बालिका भने आफ्नो सुरिलो स्वरको जादुले सिंगो देशको ध्यान खिच्न सफल भएकी छन्।
खोटाङ पुर्खेउली घर भई हाल काठमाडौं गोकर्णेश्वर-५ बस्दै आएकी प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु) ले ‘द भ्वाइस किड्स नेपाल सिजन-५’ मा एकपछि अर्को सफलता हासिल गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छन्। ठूला भनिने मान्छेहरूले भाषणमा ‘भविष्यका कर्णधार’ भन्दै पन्छाउने उमेरमै सुबुले राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभाको बलियो झण्डा गाडिदिएकी छन्।
‘सया’ र ‘अभिनाव’ लाई पछि पार्दै वाङ्देनको मन जितिन्
‘द भ्वाइस किड्स’ को ब्याटल राउन्डमा कोच वाङ्देन शेर्पाको टोलीबाट मैदानमा उत्रिएकी शुवास्नाले प्रतिस्पर्धीहरू सया केसी र अभिना लिम्बुसँगै ‘नाम के हो भन न’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएकी थिइन्।
प्रतिस्पर्धीहरू कमजोर थिएनन्, तर जब सुबुले सुर पक्रिन, तब कोचहरूको ध्यान अन्त मोडिनै सकेन। हुन त राजनीतिक दलका नेताहरूलाई कसको क्षमता कति छ भनेर छुट्याउन वर्षौँ लाग्छ, तर कोच वाङ्देन शेर्पाले भने शुवास्नाको सुरिलो स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र गायकीको पकडलाई ढिलो नगरी उत्कृष्ट ठहर गरे। नतिजा— सुबु सोझै लाइभ राउन्ड मा प्रवेश गरिन्!
सस्तो ‘भाइरल’ को भिडमा साँच्चिकैको प्रतिभा
आजभोलि सामाजिक सञ्जालमा जो सुकै पनि रातारात ‘भाइरल’ हुने होडबाजी चलेको छ। तर, सुबुको हकमा भने टिकटक वा फेसबुकको कुनै बनावटी स्टन्ट होइन, उनको शुद्ध गायकी र मिहिनेत भाइरल भइरहेको छ।
यसअघि ब्लाइन्ड अडिसनमै आफ्नो मधुर स्वरको जादुले कोच वाङ्देनको कुर्सी घुमाउन सफल भएकी सुबुले सुरिलो गायन, भावपूर्ण अभिव्यक्ति र उच्च आत्मविश्वासले लाखौँ संगीतप्रेमीको मन जितिसकेकी छन्।
एउटा घोचपेचपूर्ण सत्य: "जहाँ देशका ठूला-ठूला नेताहरू संसद्मा भाषण गर्दा सुर र ताल गुमाउँछन्, त्यहाँ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ७ मा पढ्ने यी सानी सुबुले संगीतको हरेक ताल र लयलाई पर्फेक्ट रूपमा समातिरहेकी छन्।"
अब पालो दर्शकको: शुक्रबारदेखि भोटिङको परीक्षा!
अहिलेसम्म सुबुले आफ्नो प्रतिभा, लगन र निरन्तर अभ्यासका बलमा कोच र निर्णायकहरूको मन जितिन्। अब भने उनी दर्शकको हातमा रहेको ‘भोटिङ’ को परीक्षामा होमिँदै छिन्। आउँदो शुक्रबारदेखि भोटिङ खुला हुँदैछ।
सधैँ गुट र फुटको राजनीतिमा भोट खेर फाल्ने बानी परेका सर्वसाधारणका लागि यो पटक साँचो अर्थमा एक उदीयमान प्रतिभालाई जिताउने अवसर आएको छ।
खोटाङको चिसो हावापानीको सुवास बोकेर काठमाडौंको सांगीतिक आकाशमा छाउन खोजेकी सुबु निकट भविष्यमै नेपाली संगीतको चम्किलो तारा बन्ने संकेत देखाएकी छन्।
लाइभ राउन्डको तयारीमा जुटेकी सुबुलाई बधाई दिनेहरूको ओइरो छ, तर अब प्रश्न एउटै छ- हामी सस्तो स्टन्टलाई भाइरल बनाइरहने कि सुबु जस्ता वास्तविक प्रतिभालाई भोट दिएर उचाइमा पुर्याउने? फैसला शुक्रबारदेखि दर्शकको हातमा !
शुवास्ना खड्का केसी (सुबु) को फेसबुक पेज का लागि यहाँ क्लिक गर्नुहोस् ।
