धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न
झापा, १३ मङ्सिर : नेपाल सरकारको सहलगानीमा झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ ।
विसं २०८२ असार २ गते शिलान्यास भएको उक्त आयोजना विसं २०८४ पुस मसान्तसम्म सम्पन्न गर्ने सम्झौता थियो । ३० महिनाको निर्माण अवधि तोकिएको आयोजना १७ महिनामै सम्पन्न भएपछि आज विधिवत् उद्घाटन गरिएको हो ।
धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीका अनुसार आयोजनाको कूल लागत रु १० करोड ४० लाख ९९ हजार ६४८ रहेको छ । आयोजनाको निर्माणको ठेक्का काठमाडौँस्थित ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालिले पाएको थियो । कम्पनीले चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की र अन्य संरचना निर्माण गरेको हो ।
निर्माण कम्पनीका सञ्चालक पारस लामिछानेले ३० महिनाको म्याद पाएको आयोजना १९ महिनामै सम्पन्न गरिएको जानकारी दिनुभयो । आयोजना निर्माणमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ता समितिको ३० प्रतिशत लागत सहभागिता रहेको छ । आयोजना सञ्चालनमा आएपछि मेचीनगर नगरपालिकाका वडा नं ९, १०, ११, १४ र १५ का तीन हजार ४२४ घर परिवारका १५ हजार ५१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
आयोजनाका लागि स्व टङ्कप्रसाद भट्टराई र स्व रुपादेवी भट्टराईले जग्गादान गर्नुभएको थियो । आयोजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, दुई वटा डिप बोरिङ, दुई वटा पानी प्रशोधन प्लान्ट र १०७ किलोमिटर पाइपलाइन निर्माण गरिएको छ । त्यसैगरी, एक–एक वटा अपरेटर हाउस र जेनेरेटर घर तथा ४५ वटा भल्भ च्याम्बर निर्माण गरिएका छन् ।
