तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण, ६ राउण्ड हवाई फायर
७ जना सुरक्षाकर्मीमाथि १०० देखि १५० जनाको समूहको ढुंगामुढा, चार प्रहरी घाइते
पश्चिम नवलपरासी । सीमा क्षेत्रमा भइरहेको अवैध तस्करी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीमाथि ठूलो संख्यामा आएका तस्कर समूहले आक्रमण गरेका छन्। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरमा शनिबार साँझ नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्कर समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको हो।
शनिबार साँझ करिब ७ः३० बजे भएको घटनामा सात जना सशस्त्र प्रहरी कर्मचारीको टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले एक्कासि आक्रमण गरेको बताइएको छ। सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको उक्त टोलीले भारततर्फ लैजान लागिएको खरबुजाको बीउ नियन्त्रणमा लिन खोज्दा तस्कर समूह आक्रामक बनेको थियो।
संख्यात्मक रूपमा निकै कम रहेको सुरक्षा टोलीमाथि ठूलो समूहले ढुंगामुढा प्रहार गर्दै घेराबन्दीसमेत गरेपछि घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। आक्रमणबाट ड्युटीमा खटिएका चार जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
सुरक्षाकर्मीले तस्करीका लागि लैजान लागिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा सुरु भएको विवाद केही बेरमै हिंसात्मक झडपमा परिणत भएको थियो। तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै प्रहरीले नियन्त्रणमा लिइसकेको सामानसमेत जबर्जस्ती खोसेर लगेपछि अवस्था थप तनावग्रस्त बनेको थियो।
आफूमाथि भएको आक्रमण र भीडको उग्र व्यवहार नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
प्रहरीले प्रारम्भिक अवस्थामा करिब २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर, ठूलो संख्यामा आएका तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि अहिले दुई बोरा मात्र सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै थप सुरक्षा मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो। ठूलो संख्यामा आएको समूहले थोरै संख्यामा खटिएको सुरक्षा टोलीमाथि आक्रमण गरी नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लैजानुले सीमा क्षेत्रमा तस्करी नियन्त्रणको चुनौती थप जटिल बनेको देखिएको छ।
सीमामा तस्करी नियन्त्रण कि तस्करको दबदबा ?
पछिल्लो समय पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार तथा तस्करी नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुने घटनाले सुरक्षा चुनौती बढाएको छ। राज्यको सीमा सुरक्षा जिम्मेवारी बोकेको संगठनका कर्मचारीमाथि ठूलो संख्यामा संगठित भएर आक्रमण गर्ने र नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लैजाने प्रवृत्तिले सीमा क्षेत्रमा तस्कर समूहको मनोबल बढेको आशंका गरिएको छ।
सात जना सुरक्षाकर्मीले १०० देखि १५० जनाको भीडको सामना गर्नुपर्ने अवस्था आउनु आफैँमा गम्भीर सुरक्षा चुनौती हो। तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीमाथि नै आक्रमण हुने र उनीहरूले नियन्त्रणमा लिएको सामानसमेत सुरक्षित राख्न नसक्ने अवस्था सिर्जना हुनु सामान्य घटना होइन।
सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको सुरक्षा, पर्याप्त जनशक्ति परिचालन, प्रभावकारी निगरानी र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही आवश्यक देखिएको छ।
राजस्व छल्ने उद्देश्यले हुने तस्करी मात्र होइन, त्यसलाई संरक्षण र सहजता प्रदान गर्न सुरक्षाकर्मीमाथि नै भीड परिचालन गरी आक्रमण गर्ने प्रवृत्तिलाई पनि राज्यले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ। सीमा सुरक्षा र कानुनी शासनलाई चुनौती दिने यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायले थप रणनीतिक सक्रियता देखाउनुपर्ने आवश्यकता घटनाले औँल्याएको छ।
