इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान
काठमाडौं, १३ मंसिर : इन्टरपोलको ९४ औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह नेतृत्वको टोली शनिबार चीन प्रस्थान गर्नुभएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ गते देखि १७ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शाह सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहसँग महासभामा सहभागी हुन नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, अन्वेषण योजना तथा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्र वन्धु शर्मा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको Commission for the control of INTERPOL’s Files को विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत हुनेछ ।
प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, यूएई र ओमनका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।
