प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य
विराटनगर, १३ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा सञ्चार तथा पत्रकारितासम्बन्धी विभिन्न समस्याबारे बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका पक्षमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन । हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ । पत्रकार महासङ्घले उठाएका मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्याउनेछु ।” उहाँले पत्रकारिता समाजको अभिन्न अङ्ग भएकाले यसलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो ।
पत्रकारिता क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले पत्रकार महासङ्घले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायसम्म ती विषय पुर्याउने आश्वासन दिनुभयो ।
प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकारको सुनिश्चितता, सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षालगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासङ्घले हाल विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
