आरम्भ कप टेबल टेनिसमा रियान्स र सुरभीलाई स्वर्ण
बृहस्पति विद्या सदनका रियान्स श्रेष्ठ र स्वस्तिश्री गुरुकुलकी सुरभी गुरुङले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । यु–१० सिंगल्सको ब्वाइजमा रियान्स र गल्र्समा सुरभी पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा रियान्सले आरुणीका दीपक खत्रीलाई ११–७, ११–५, ११–१३ र १२–१० को सेटमा पराजित गरे । मोडर्नका सारंश पुडासैनी र प्रतीक राउत तेश्रो भए ।
आरम्भ संस्कार विद्यालयको आयोजना भइरहेको प्रतियोगितामा गल्र्सको उपाधि भिडन्तमा सुरभीले आरम्भकी अपेक्षा श्रेष्ठलाई १०–१२, ११–७, ११–५ र ११–१ को सेटमा हराइन् । अर्निकोकी यारा महर्जन र रातो बंगलाकी आयेरा जोन्छे तेश्रो बने ।
यु–१२ गल्र्स सिंगल्समा ग्लोरियाकी आराध्य विष्टले स्वर्ण चुमिन् । आराध्यले फाइनलमा प्रभातकी आरोही सुवाललाई ११–५, ११–५ र ११–९ को सोझो सेटमा पाखा लगाइन् । पुष्पसदनकी कृष्टल भुसाल र सेन्ट मेरिजकी आहना शाक्य संयुक्त रुपमा तेश्रो भए ।
गल्र्स टिम इभेन्टमा आरम्भ पहिलो भयो । आरम्भले प्रभातलाई ३–१ ले पन्छायो । आरम्भबाट प्राज्ना महर्जन र यमिला श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । प्रभात दोश्रो तथा स्वस्तिश्री गुरुकुल र पुष्पसदन तेश्रो स्थानमा रहे ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा समावेश छन् । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न ४६ विद्यालयका २ सय ६ ब्वाइज र १ सय ५१ गल्र्स गरी जम्मा ३ सय ५७ खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
