भोलि सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपाका सांसद जगदीश खरेलका अनुसार शीर्ष राजनीतिक नेतृत्वबीच हुने सर्वदलीय बैठक भोलि बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठकबारे जानकारी दिँदै रवि लामिछानेले शीर्ष राजनीतिक नेतृत्वबीच छलफलका लागि बैठक आह्वान गरेको उल्लेख गरेका छन् ।
पछिल्लो समय मुलुकमा देखिएका विपद्का घटनाबाट उत्पन्न चुनौती तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।
