Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उल्लासविहीन तीज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस)

काठमाडौँ, ३० भदौः सामूहिक नाचगान, भेटघाट र उल्लासका साथ मनाउने हरितालिका तीज पर्व यो वर्ष फरक देखियो । यसपटकको तीजमा विगतमा जस्तो तामझाम र चहलपहल देखिएन । रसुवाको भोटेकोशीमा गएको बाढीको त्रासदी र त्यसबाट प्रभावित परिवारको पीडाले तीजको उल्लासमा असर परेको हो । 

तीजका दिन चोक, टोलदेखि पार्टी प्यालेससम्म नाचगान र रमझमले भरिने काठमाडौँका विभिन्न स्थान सोमबार भने तुलनात्मक रूपमा सुनसान देखिए । विपद्मा आफन्त तथा छिमेकी गुमाएको पीडाबीच तीज  उल्लासमय बनाउन धेरैलाई सहज भएन । शङ्खमुलकी गीता अधिकारीले विगतमा जस्तो खुलेर तीज मनाउन  नसकेको बताउनुभयो । भोटेकोशी बाढीमा परी छिमेकीको आमाबुबा बेपत्ता भएका हुँदा तामझामका साथ तीज मनाउन नसकिएको उहाँले सुनाउनुभयो । 

“पहिलापहिला तीजका दिन चोकमा म्युजिक बजाएर दिनभरी नाचिन्थ्यो”, अधिकारीले भन्नुभयो, “अहिले त्यस्तो समय छैन । छिमेकी दुःखमा परेका छन्, कसरी गीत बजाएर नाच्न सकिन्छ र ?”

विशेषगरी बाढी तथा पहिरोबाट परिवारका सदस्य गुमाएका र बेपत्ता भएका परिवारमा तीजको उल्लासभन्दा आफन्तको सम्झना र खोजी प्रमुख बनेको छ । घर तथा खेतीयोग्य जमिन गुमाएका परिवारलाई आगामी दिनको जीविकोपार्जनको चिन्ताले सताएको छ ।

तीजका अवसरमा माइती जाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र दर खाने परम्परा रहे पनि विपद्का कारण धेरै महिलाको यस वर्षको तीज घरमै सीमित भयो । बाढीले सडक तथा यातायातका संरचनामा क्षति पु¥याएका कारण कतिपय ठाउँमा आवतजावतसमेत सहज हुन सकेन ।

‘सबाना फिट्नेस’का सञ्चालक सबाना खातुनले हरेक वर्ष मनाउँदै आएको दर कार्यक्रम यस वर्ष नगरेको बताउनुभयो । उहाँले उक्त कार्यक्रममा लाग्ने खर्च प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताउनुभयो । समाजमा सबै खुसी भएमात्रै पर्वको रौनक हुने हुँदा यतिबेला बाढी प्रभावित परिवारलाई सानो सहयोगले ठूलो राहत हुने खातुनको भनाइ छ । 

“हरेक वर्ष तीजमा दिदीबहिनी जम्मा भएर दर खान्थ्यौँ, नाचगान गथ्र्यौं । यसपालि कसैलाई भेट्ने परिस्थिति नै छैन”, उहाँले भन्नुभयो, “हामीले गरेको सानो सहयोग कसैको दुःखमा मल्हम हुन सक्छ । त्यसैले नाचगान छोडेर सहयोगमा जुटेका छौँ ।”

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका उपाध्यक्ष एव गायक रमेशराज भट्टराईले तीज पर्व मात्रै होइन, यस  वर्ष अरु चाडपर्वसमेत प्रभावित हुने बताउनुभयो । खासगरी तीज कलाकारले कमाउने पर्व पनि मानिन्छ । तर, बाढीको प्रभावले गर्दा कलासङ्गीतको क्षे प्रभावित बनेको उहाँले बताउनुभयो । गायक भट्टराइले तीजकै लागि विदेशमा आयोजना गरिएका थुप्रै सांस्कृतिक कार्यक्रम रद्द गरेर नेपालमै राहत वितरण कार्यमा सक्रिय भएको बताउनुभयो । 

“प्रतिष्ठानका धेरै साथीहरुले परिवार गुमाएका छन्, बाढीबाट प्रभावित भएका छन्”, उहाँले भन्नुभयो, “अहिले उहाँहरुलाई राहतको जरुरत परेका बेला विदेशमा गाउन नाच्न जान सकिएन ।” प्रतिष्ठानले राहत वितरण कार्य आजैदेखि सुरु गर्न लागेको गायक भट्टराइले बताउनुभयो ।

प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि प्रतिष्ठान केन्द्रीय समितिकोतर्फबाट एक लाख एक हजार १११ रूपैयाँ आर्थिक सहयोग गरेको छ । साथै, प्रभावित क्षेत्रमा राहत कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिष्ठान आफ्ना मातहतका प्रदेश, जिल्ला तथा स्थानीय कमिटीलाई राहत रकम तथा सहयोग सामग्री जुटाउने अभियानसमेत सक्रिय भएको छ ।

यसपाली सामाजिक सङ्घसंस्थाले समेत तीजका कार्यक्रमलाई स्थगित गरेर घरभित्रै पर्व मनाउने निधो गरे । हरेक वर्ष धुमधामले खुला रुपमा तीज मनाउँदै आएको सामाजिक संस्था पाल्पा विकास मञ्चले पनि यसपाली सबै कार्यक्रा स्थगन गर्यो । काठमाडौँमा आएर व्यस्त जीवन बिताइरहेका जिल्लावासी एकसाथ जोड्ने मञ्चले यसपाली धेरै आफन्तजन बेघर भएकाले दुःखमा उत्सव होइन, संवेदना साट्नुपर्ने भन्दै तीज कार्यक्रम नगरेको मञ्चका अध्यक्ष कुमारी गीता भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा विपद् निम्तियो, यस्तो अवस्थामा भेला गर्न र रमाउन मनले मानेन ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan