Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मोबाइल’ले घटाएको पठन सीप सुधार गर्न कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार | रासस

म्याग्दी, २४ भदौः मोबाइल फोनको बढ्दो प्रयोगका कारण बालबालिकामा पठन सीप कमजोर भएपछि म्याग्दीमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । 

    शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले स्थानीय तह तथा शिक्षासँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच पठन सीप प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

    बालबालिकाको दैनिक जीवनमा मोबाइल फोन, सामाजिक सञ्जाल तथा अन्य ‘डिजिटल’ सामग्रीको प्रयोग बढ्दै जाँदा पुस्तक पढ्ने समय घट्दै गएको छ । त्यसको असर विद्यार्थीको पठन क्षमता, उच्चारण, सिर्जनशीलता तथा सिकाइ उपलब्धिमा देखिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोतिलाल चापागार्इंले बताउनुभयो ।

    “मोबाइलका कारण बालबालिकाले पाठ्यपुस्तक पढ्न छाडेकाले विद्यालय शिक्षाको जगमै समस्या देखिएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन्,” उहाँले भन्नुभयो, “आधारभूत तहमा पठन सीप र सिर्जनशीलता विकास नगर्ने हो भने माथिल्लो तहमा जति मेहनत गरे पनि अपेक्षित परिणाम नआउने भएकाले कार्यक्रम सुरु गरेका हौँ ।”

    उहाँका अनुसार प्रविधिको प्रयोग आफैँमा नकारात्मक नभए पनि बालबालिकाले मोबाइल तथा ‘डिजिटल’ सामग्रीमा बिताउने समय र त्यसको प्रकृतिका कारण नियमित पठन अभ्यास प्रभावित भइरहेको छ । त्यसैले विद्यालय तहबाटै पुस्तक पढ्ने बानीको विकास गराउनु आवश्यक देखिएको हो । 

    कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच कक्षागत रूपमा विद्यालय, पालिका र जिल्ला तहमा पठन सीप प्रतियोगिता सञ्चालन गरिनेछ । विद्यालय तहको प्रतियोगिताबाट छनोट भएका विद्यार्थी पालिका र पालिका तहबाट छनोट भएकालाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइनेछ ।

    प्रतियोगितामार्फत उत्कृष्ट पठन सीप भएका विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै अन्य विद्यार्थीमा पनि पुस्तक पढ्ने रुचि र अभ्यास गराउने उद्देश्य राखिएको छ । कार्यक्रमअन्तर्गत मङ्गलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पालिकास्तरीय पठन सीप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षागत रूपमा २० देखि २५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए । 

    विद्यालय तहबाट छनोट भएर आएका विद्यार्थीले आयोजकले तोकेको पुस्तकका पाठ वाचन गरेका थिए । विद्यार्थीको पठन क्षमताको मूल्याङ्कन गर्दा शुद्धता, स्पष्टता, उच्चारण तथा प्रस्तुति शैलीलाई आधार बनाइएको थियो । कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय भएका १५ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा गुड नेवर्स इन्टरनेसनलको सहयोगमा स्थानीय गैरसरकारी संस्था सङ्गम  म्याग्दीमार्फत सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले सहयोग गरेको थियो । 

    मालिकापछि धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा पनि पठन सीप प्रतियोगिता सञ्चालन गरिने इकाइ प्रमुख चापागार्इंले बताउनुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराई उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने उहाँको भनाइ छ ।

    मालिका गाउँपालिका–४ स्थित ओखरबोट माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक नतिजामा सुधार ल्याउन पठन सीपको विकास अपरिहार्य रहेको बताउनुभयो ।

    “विद्यार्थीले पढेको कुरा बुझ्न, सम्झन र त्यसलाई सिर्जनशील रूपमा प्रयोग गर्न पठन सीप महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “आधारभूत तहदेखि नै पढ्ने बानी र शुद्ध उच्चारणमा ध्यान दिन सके त्यसको सकारात्मक प्रभाव माथिल्लो कक्षाको सिकाइमा पनि पर्छ ।”

    जनप्रिय माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र केसीले कक्षाकोठामा मात्र नभई घरमा समेत विद्यार्थीलाई नियमित रूपमा पुस्तक तथा पाठ पढ्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । आधारभूत तहमा विद्यार्थीले स्पष्ट र शुद्धसँग पढ्न तथा शब्दको सही उच्चारण गर्न सक्ने बनाउन शिक्षक, अभिभावक र विद्यालयले संयुक्त प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।

    प्रविधिको पहुँच विस्तारसँगै मोबाइल तथा इन्टरनेट बालबालिकाको सिकाइको माध्यम बनेका छन् । मनोरञ्जनमुखी सामग्रीमा बढी समय बिताउने प्रवृत्तिले पुस्तक पढ्ने अभ्यास घटाउँदै लगेको शिक्षासँग सम्बन्धित सरोकारवालाको अनुभव छ । 

    यस्तो अवस्थामा प्रविधिको सन्तुलित प्रयोगसँगै पुस्तक पढ्ने संस्कार विकास गर्न विद्यालय तहबाटै पठन सीपलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको पुरुषोत्तम आधारभूत विद्यालयका शिक्षक सरस्वती अर्याल शर्माले बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय इकाइले सुरु गरेको पठन सीप प्रतियोगिताले विद्यार्थीमा पुस्तक पढ्ने रुचि बढाउनाका साथै मोबाइल तथा ‘डिजिटल’ सामग्रीको बढ्दो प्रयोगका बीच नियमित पठन अभ्यासलाई पुनः विद्यालय शिक्षाको आधारसँग जोड्ने अपेक्षा गरिएको शिक्षक शर्माले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan