Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हाे : सभामुख यादव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)

जनकपुरधाम, १२ साउन : मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताउनुभएको छ ।

    मधेस प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिद्वारा आज आयोजित ‘सङ्घीयता सवलीकरण’सम्बन्धी अन्तरक्रियामा सभामुख यादवले सङ्घीयता र गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउन नसके भावी पुस्ताले वर्तमान नेतृत्वलाई माफी नगर्ने चेतावनी दिनुभयो ।

    संविधानमा संवैधानिक अदालतको व्यवस्था हुनुपर्ने भए पनि त्यसको सट्टा संवैधानिक इजलाश स्थापना गरिएको उल्लेख गर्दै उहाँले प्रदेश अधिकारसँग सम्बन्धित धेरै मुद्दा अहिले संवैधानिक इजलाशमा विचाराधीन रहेको जानकारी दिनुभयो ।

    प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयता आए पनि प्रदेशलाई पर्याप्त अधिकार अझै अपुग भएको बताउनुभयो । प्रदेशसभा सदस्य सुरिता साहले प्रदेशले बनाएका ऐन–कानुन कार्यान्वयनमा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 
    संविधानसभा सदस्य डा विजयप्रसाद सिंहले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश सरकारले आफैं निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो । प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले पात्र र प्रणालीलाई एउटै रूपमा मूल्याङ्कन गर्नु गलत हुने बताउनुभयो । “सङ्घीयता प्रणाली हो, मुख्यमन्त्री र मन्त्री पात्र हुन् । पात्र गलत हुन सक्छन्, प्रणाली होइन”, उहाँले भन्नुभयो । 

    जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साहले व्यवस्थाभन्दा पात्रहरूको कमजोरीका कारण सङ्घीयतामाथि प्रहार भइरहेको बताउनुभयो । डा शरद यादवले प्रदेश सरकारले कृषि, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    कार्यक्रममा सहभागी वक्ताहरूले सङ्घीयताको सवलीकरणका लागि अधिकारको प्रभावकारी कार्यान्वयन, आर्थिक स्वायत्तता, प्रशासनिक सुधार तथा जनतामा सकारात्मक विश्वास निर्माण अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan