प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो, भारतीय विदेश मन्त्रालयले गर्यो पुष्टि
काठमाडौं। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिइएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकिएको जानकारी दिएका हुन्।
प्रवक्ता जयसवालले नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमण दुवै देशबीचको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।
भ्रमणका क्रममा दुई देशबीच राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, पूर्वाधार तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।
