सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ
ख्वप (भक्तपुर), १९ कात्तिक: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा आज विशेष नवजात शिशुु स्याहार कक्ष (एसएनसियू) सेवाको उद्घाटन गर्दै उहाँले सेवाग्राहीको चेतनास्तर फरकफरक हुने भएकाले चिकित्सक तथा कर्मचारीले सबैसँग समान र सहज व्यवहार गर्नुपर्ने बताउनुभयो ।
कुनै पनि संस्था सञ्चालनमा चिकित्सक तथा कर्मचारीको व्यवहार र भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो । अध्यक्ष बिजुक्छेँले गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने अस्पतालमा सेवाग्राहीको भीड हुनु स्वाभाविक भएको बताउनुभयो । अस्पतालमा उपलब्ध सेवा सबैले समान रूपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सके अस्पतालको सकारात्मक प्रचार हुने उहाँको भनाइ छ । ख्वप अस्पतालले भक्तपुरका नागरिकलाई मात्र नभई देशभरिका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँनयाँ सेवा सञ्चालन गरी जनतालाई स्वास्थ्य सेवा दिने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल भक्तपुरको महत्वपूर्ण संस्था भएको बताउँदै यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीको मनमा जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो । आफ्नै ठाउँको विकास आफैँले गर्नुपर्छ भन्ने भावनाको उदाहरण ख्वप अस्पताल पनि भएको उहाँको भनाइ छ ।
तीन जनाबाट सुरु भएको जनस्वास्थ्य केन्द्र २०७८ सालदेखि ख्वप अस्पतालका रूपमा विकास हुँदै १०० शय्याको अस्पताल बन्न सफल भएको उल्लेख गर्दै उहाँले अस्पतालको विकासका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो । लामो समयदेखिको प्रयासपछि एसएनसियू सेवा सञ्चालन गर्न सफल भएको बताउँदै उहाँले आगामी दिनमा एमआरआई सेवा सञ्चालन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।
मेडिकल कलेज सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि तयारी गर्दै जानुपर्ने उहाँले बताउनुभयो । ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा महेशप्रताप मल्लले एसएनसियू सेवा सञ्चालनले नवजात शिशुको उपचारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । अस्पतालले एकपछि अर्को सेवा थप्दै जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।


